‘मुस्ताङ ईको म्युजियम’ ७ वर्षपछि संञ्चालन

सुन्दरकुमार थकाली २०७९ भदौ १५ गते १७:५२

जोमसोम ।
२०७२ सालको भुकम्पले जीर्ण बनेको मुस्ताङ ईको म्युजियम ७ वर्षपछि पुनसञ्चालनमा ल्याइएको छ । समग्र मुस्ताङ चिनाउने मुस्ताङ ईको म्युजियम बुधबार पुथाङ आमा बहुउद्देश्य सहकारी सस्थालाई हस्तान्तरण गरिएपछि म्युजियम संञ्चालनमा आएको हो ।

मुस्ताङको घरपझोङ गाउँपालिकाले भदौ १ गतेदेखि लागु हुने गरी ५ वर्षका लागि लिज सम्झौता मार्फत मुस्ताङ ईको म्युजियम पुथाङ आमा बहुउद्देश्य सहकारी संस्थालाई हस्तान्तरण गरेको हो । पालिकाले वार्षिक ५० हजार भाडा लिने गरी ईको म्युजियम लिजमा दिएको जनाएको छ ।

घरपझोङ गाउँपालिकाले ईको म्युजियम संञ्चालन तथा व्यवस्थापन कार्यविधि निर्माण गरी दुबै पक्षबीच टेन्डर मार्फत ईको म्युजियम हस्तान्तरण गरेको हो । पालिकाले ईको म्युजियम लिज मार्फत संञ्चालनको जिम्मा पाएको पुथाङ बहुउद्देश्य सहकारी संस्था र घरपझोङ गाउँपालिकाबीच कार्यविधिमा उल्लेख गरिएका १९ बुँदे शर्त कार्यान्वयन गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

Advertisement

घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले पुथाङ बहुउद्देश्य सहकारी संस्थाकी अध्यक्ष कल्पना गौचनलाई सम्झौतापत्र हस्तान्तरण गरी ईको म्युजियम जिम्मा दिइएको छ । घरपझोङ गाउँपालिकाले मुस्ताङ ईको म्युजियम संञ्चालन तथा व्यवस्थापन कार्यविधि निर्माण गरी कार्यपालिका बैठकमा अनुमोदन गरेर टेन्डर मार्फत लिजमा दिने निर्णय गरेको थियो ।

पालिकाले लिज सम्झौता गर्दा दोश्रो पक्षले म्युजियमको रेखदेख, व्यवस्थापन र नियमित संञ्चालन गर्नुपर्ने, खुला हुने समय र शुल्क निर्धारण गर्ने, सरसफाई, पर्यटक स्वागत, अचल सम्पतीको सुरक्षा, आवश्यक कर्मचारीको व्यवस्था संस्थाले गर्नुपर्ने, मर्मत सम्भारमा ध्यान दिनुपर्ने, खाली जग्गा पालिकाले आवश्यक परेमा उपयोग गर्नसक्ने, २/२ वर्षमा १० प्रतिशतले भाडा वृद्धि गर्ने ,पालिकाले म्युजियमको अनुगमन तथा निरीक्षण गर्ने, म्युजियम व्यवस्थापन पक्षले पालिकाको अधिनमा रही कार्यसम्पादन गर्नुपर्ने लगायतका १९ बुँदै शर्त प्रस्तुत गरेको छ ।

Advertisement

म्युजियम संस्थालाई हस्तान्तरण गर्दै पालिका अध्यक्ष मोहनसिंह लालचनले मुस्ताङको समग्र पहिचान उजागर गर्ने ईको म्युजियम ५ वर्षका लागि गापाले ठेक्का सम्झौता मार्फत संञ्चालनको जिम्मा लगाएको बताए । घरपझोङको पर्यटन विकासमा योगदान पुर्‍याउने उद्देश्यले पालिकाले म्युजियम पूननिर्माण, मर्मतसम्भार र स्तरोन्नति गरेको उल्लेख्य गर्दै अध्यक्ष लालचनले मुस्ताङको कलासंस्कृति र मौलिकतालाई ईको म्युजियमले पर्यटन प्रर्वद्धनका लागि यसको संरक्षण र विकास गर्न पालिकाले अग्रसता लिएको बताए ।

‘ईको म्युजियम समग्र मुस्ताङको धरोहर हो, चिनारी हो, भुकम्पले लामो समयदेखि जीर्ण र संञ्चालन विहिन अवस्थामा थियो,अध्यक्ष लालचनले भने,एक्यापको स्वामित्वमा रहेको ईको म्युजियम गापालाई हस्तान्तरण भईसकेपछि यसको अपनत्व हामीले लिएका हौं, यसले पर्यटन र आर्थिक विकासमा टेवा पुर्‍याउने छ ।’

म्युजियम जापानीज सहयोग संस्था जाईका र राष्ट्रिय प्रकृति संरक्षणकोष, अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना ) एक्याप)को साझेदारीमा निर्माण भएको थियो । जोमसोम एअरपोर्ट नजिकै दक्षिण/पञ्चिमको झन्डै १६ रोपनी भिरालो क्षेत्रफलमा मुस्ताङ ईको म्यूजिमको पूर्वाधार निर्माण गरिएको थियो । ईको म्युजियम संञ्चालन तथा व्यवस्थापनका लागि उपल्लो मुस्ताङदेखि तल्लो मुस्ताङका विभिन्न प्रतिष्ठित व्यक्तिलाई समेट्दै ईको म्युजियम व्यवस्थापन समिति गठन भएको थियो ।

दुई तले ईको म्युजियम जाईकाले निर्माण गरेपछि एक्पापलाई स्वामित्व हस्तान्तरण गरिएको थियो । एक्यापले पनि पुथाङ आमा बहुउद्देश्य सहकारी संस्थालाई रेखदेख तथा संञ्चालनको जिम्मा दिएको थियो । ईको म्युजियममा मुस्ताङको धार्मिक ,सांस्कृतिक,सामाजिक,भौगोलिक र जैविक विविधता झल्किने सामाग्री राखिएको थियो । मुस्ताङको पर्यटन तथा विभिन्न खोजअनुसन्धानका लागि सहयोग पुर्‍याउने उद्देश्यले स्थापना गरिएको ईको म्युजियम २०७२ सालको महाभुकम्पले क्षति पुर्‍याएको थियो । भूकम्पले ईको म्युजियम क्षतिग्रष्त भएपछि पूर्णरुप बन्द थियो । भुकम्पले क्षति तुल्याएको ईको म्युजियम त्यसपछि जीर्ण हुँदै गएको थियो भने कतिपय बहुमुल्य सामाग्री हराएका थिए । ईको म्युजियम पूननिर्माण तथा संञ्चालनमा एक्यापले अग्रसता दिन नसक्दा ७ वर्ष पूर्ण रुपमा बन्द भएको थियो ।

संघीयता अघि स्थापना भएको मुस्ताङ ईको म्युजियम भुकम्पले क्षति भएपछि संरक्षण विहन बन्यो । एक्यापले ३ वर्षअघि यसको स्वामित्व घरपझोङ गाउँपालिकालाई हस्तान्तरण गरेको हो । गाउँपालिकाले आफ्नो स्वामित्वमा आईसकेपछि ईको म्युजियम पूननिर्माणको काम अघि बढाएको गापाका ईन्जिनीय सकलदेव शर्माले बताए । गाउँपालिकाले २५ लाख लागतमा भुकम्पले जीर्ण ईको म्युजियमको पूननिर्माण गरेको उनले जनाए ।

ईको म्युजियम संञ्चालनको जिम्मा पाएको पुथाङ आमा बहुउद्देश्य सहकारी संस्थाकी अध्यक्ष कल्पना गौचनले म्युजियमलाई व्यवस्थित गर्दै संञ्चालनमा ध्यान दिने बताईन् । उनले ईको म्युजियमको ब्रोसर निर्माण गछौं र त्यसपछि होटलमा बस्ने पर्यटकलाई ईको म्युजियमको जानकारी गराईने उल्लेख गरिन् । ‘हामीले नाफा भन्दा पनि यसको संरक्षण र व्यवस्थापनमा जोड दिनेछौ, यसको संञ्चालनले पर्यटन विकासमा योगदान दिन्छ, उनले भनीन्,‘ ईको म्युजियममा आउने पर्यटकले मुस्ताङ जिल्ला भित्रको धार्मिक, साँस्कृतिक, भौगोलिक, भेषभुषा, खनिज तथा वनस्पती, यहाँको कृषि र पर्यटन र जिवनशैली लगायतको अध्ययन अवलोकन गर्न सक्ने बताइन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया