उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन

समाधान संवाददाता २०७९ भदौ १७ गते ११:२६

पोखरा ।
एमाले कास्कीले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेद्वार सिफारिस गर्न मातहतका कमिटीहरुलाई निर्देशन दिएको छ । जिल्ला कमिटी कास्कीको बिहीबार बसेको बैठकले उम्मेद्वार सिफारिस गर्न प्रतिनिधि सभा तथा प्रदेश सभा समन्वय कमिटीलाई डेडलाइन दिएको सचिव बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए ।


प्रत्यक्षतर्फ कास्कीका प्रतिनिधि सभाका ३ र गण्डकी प्रदेश सभा सदस्यका ६ निर्वाचन क्षेत्र छन् । एमाले कास्कीले पार्टीको केन्द्रीय कमिटी र गण्डकी प्रदेश कमिटीको परिपत्र अनुसार उम्मेद्वार छनोट गर्ने छ । सचिव अधिकारीका अनुसार उम्मेद्वार छान्नका लागि सबै प्रदेश सभा समन्वय कमिटीको बैठक एकै दिन एकै समय बस्नेछ । कमिटीका बैठक भदौ १८ गते ११ बजे एक साथ बस्ने छन् । सबै प्रतिनिधि सभाको उम्मेद्वार छनोट गर्न १९ गते ११ बजे एकै दिन एकै समय बैठक बस्ने तय भएको छ ।


‘सबै निर्वाचन क्षेत्रबाट उम्मेद्वार बन्न चाहनेले कमिटीको बैठकमा निवेदन दिनुपर्ने छ । सम्भावित उम्मेद्वारका लागि आवदेन दिन १ घण्टाको समय तोकिनेछ,’ उनले भने, ‘कमिटी भन्दा बाहिरका नेताले बैठक बस्नुअगावै खुला वातावरणमा आकाक्षींले नाम दर्ता गर्ने व्यवस्था मिलाइनेछ ।’ उनले पार्टी विधानको ५९ धारा अनुसार कमिटीका पदाधिकारी बसेर अनिवार्य रुपमा १ महिलासहित ३ जनाको नाम सिफारिस गर्ने छन् । सर्वसम्मत रुपमा उम्मेद्वार छनोटका लागि अधिकतम प्रयास गरिने उनले उल्लेख गरे ।

Advertisement


कतिपय क्षेत्रमा सर्वसम्मत नभएको अवस्थामा मथिल्लो कमिटीमा सबैको नाम सिफारिस गर्ने छन् । जिल्ला कमिटी कास्कीले भदौ २० गते बैठक बसेर माथिल्लो कमिटीलाई सिफारिस गर्ने छ । एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङको अध्यक्षतामा बसेको सचिवालयको बैठकमा पार्टीका पोलिटब्युरो सदस्य जगत विश्वकर्मा र केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापाले निर्देशन मन्तव्य राखेका थिए । जिल्ला कमिटी कास्कीका सचिव बैनबहादुर अधिकारी क्षेत्री, उपसचिवद्वय नवराज ओझा र दर्शन लामाले अन्तर पार्टी निर्देशन ५ को बारेमा प्रकाश पारेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया