सडकमा पार्किङ शुल्क नलिने योजनामा महानगर

रिखिराम जिसी २०७९ भदौ १८ गते १६:४४

रिखिराम जिसीपोखरा


पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यसहितको टोलीले पदभार ग्रहण गर्नुअघि पोखराको जिरोकिमि चोकदेखि हल्लनचोक सडक बिचका डिभाइडरमा फूल रोपे । त्यो बेला स्थायी प्रकृतिका करिब ३७५ फूलका बिरुवा रोपिएको थियो । सोही अवसर मेयर आचार्यले पोखरालाई फूलैफूलको सहर बनाउने उद्घोष गरेका थिए । तर रोपेको २ दिन नबित्दै केही फूलका बोट गायब भए । पुनः मेयर आचार्यले आफ्नै लगानीमा उत्तिकै संख्यामा पुग्ने गरी फूलका बिरुवा रोपे ।


महानगरमा मेयरसहितका जनप्रतिनिधि निर्वाचित भएको १०० दिन पूरा भएको छ । शनिबार मेयर आचार्यले १०० दिन पूरा भएको उपलक्ष्यमा पनि वृक्षरोपणै गरे । पोखरा सभागृहमा जापानी प्रजातिको बिरुवा रोपेपछि उनले आफ्ना उपलब्धि सार्वजनिक गरे ।

Advertisement


उनको वृक्षरोपण त्यति मात्रमा सीमित रहेन । १०० दिनमा मेयरले महानगरभित्र २४ हजार फलफूलका बिरुवा रोपे साथै सबै महानगरबासीलाई घरघरमा फलफूल रोप्न आह्वान गरे । आफ्ना सय दिने उपलब्धि सार्वजनिक गर्दा मेयर आचार्यले फूलैफूलको सहर पोखरा बनाउने सन्दर्भमा जोडे नै सडक व्यवस्थित गर्ने योजना पनि सुनाए । सडकमा स्मार्ट लाइट राख्ने, पोखराका नगर बसमा मेट्रोकार्ड लागु गर्ने र अहिले हुँदै आइरहेको सशुल्क पार्किङलाई निशुल्क बनाउने उद्घोष पनि गरे ।


अहिले पोखराका सडकमा गाडी तथा मोटरसाइकल सशुल्क पार्किङको व्यवस्था छ । पार्किङ शुल्क उठाउन महानगरपालिकाले निजी कम्पनीलाई ठेक्का दिएको छ । मेयर आचार्यका उपलब्धिको ५७ नम्बर बुँदामा भनिएको छ, ‘मौजुदा पार्किङको समय सकिएपछि सडकमा पार्किङ शुल्क उठाइने छैन भने पार्किङलाई सशुल्क पार्किङ क्षेत्र निर्माण गरिँदै छ भने करको दायरालाई फराकिलो बनाउन नीति लिइएको छ । यसै अनुसार रातो किताबमा व्यवस्थापन गरिएको छ ।’

Advertisement


गत मंसिर १४ गते सडक पार्किङका लागि पोखरा महानगरले ३ करोड १६ लाख ७० हजार रुपैयाँमा ठेकेदार कम्पनी फेवा सावित्री जेभीलाई ठेक्का दिएको छ । कम्पनीले पोखराका मुख्य सडकसहित १५ वटा सडकबाट पार्किङ शुल्क उठाउँछ ।
मोटरसाइकल र स्कुटरलाई दिनभरको १० रुपैयाँ, सार्वजनिक बसलगायत ठूला सवारी साधनलाई प्रतिघन्टा ३० रुपैयाँ, मझौला सवारीलाई २० रुपैयाँ पार्किङ शुल्क लिँदै आइरहेको छ ।


कोरियाली सरकार (कोइका) को सहयोगमा पोखराको समग्र यातायात क्षेत्रलाई व्यवस्थित गर्न यातायात गुरुयोजना तय गर्ने सम्झौता गरिएको छ । साझा बस सञ्चालन समितिसँग पोखरामा ५ वटा पब्लिक साझा इलेक्ट्रिक बस सञ्चालन गर्न र सबै पर्यटकिय गन्तव्यमा पुयाउने कामका लागि समझदारी तय भएको हो ।


उन्यालो पोखरा अभियान अन्तर्गत पोखराका विभिन्न २३ वटा चोकहरुमा हाईमास्ट पोल र १५०४ वभटा सडक बत्ति जडान अभियान सुरु भएकोे छ । जिरो कि.मि मा यस कार्यक्रमको शिल्यान्यास गरी अभियान सुरुआत गरियो । मातृ मृत्यु तथा नवजात शिशु मृत्युबाट बचाउन गर्भवती तथा सुत्केरी महिलाहरुका लागि ५० बेडको विश्रामस्थल सञ्चालन प्रक्रियाको सुभारम्भ गरिएको छ ।


स्कुल नर्सिङ कार्यक्रम पोखरा महानगरपालिका सञ्चालित सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको नियमित स्वास्थ्य परिक्षण गर्ने गरी स्कुल नर्सिङ कार्यक्रम तथा आधारभूत स्वास्थ्य परिक्षण कार्यक्रम शुभारम्भ गरिएको छ ।
हालसम्म १७१ जना विपन्न नागरिकलाई जनहि १ लाखको दरले उपचार सहयोग सिफारिस तथा क्षयकुष्ठ, हात्तपाइले, डेगू लगायत रोगका बिरामीको खोजि तथा उपचार गरिएको छ ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया