प्रदेशमा आए खगराज

समाधान संवाददाता २०७९ भदौ १८ गते २०:४८

पोखरा । एमाले संगठन विभाग प्रमुख एवं स्थायी कमिटी सदस्य खगराज अधिकारी प्रदेशसभाबाट उम्मेदवारमा आंकाक्षी देखिएका छन् । पूर्व गृहमन्त्रीसमेत रहेका अधिकारी अहिले संघीय सांसद छन् । निर्वाचन जितेमा उनी मुख्यमन्त्रीका प्रबल दाबेदार हुने छन् । हाल जापानमा रहेका अधिकारीको नाम कार्यकर्ताहरुले प्रदेश सभामा टिपाएका हुन् ।

एमाले कास्की क्षेत्र (१) बाट खगराज अधिकारी, टीकाराम पंगेनी, विष्णु पुन र तिलकुमारी थापाको नाम सिफरिस भएको छ । प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले ती नाम सिफारिस गरेको निर्वाचन क्षेत्र समन्वय कमिटी संयोजक पुष्पराज सुवेदीले जानकारी दिए ।

कास्की क्षेत्र नम्बर १ प्रदेश सभा (२)ले आसन्न प्रदेश सभा सदस्यको निर्वाचनको लागि उम्मेद्वार छनोट गरी माथिल्लो कमिटीलाई सिफारिस गरेको छ । बैठकले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि प्रत्यक्षतर्फ वेदबहादुर गुरुङ (श्याम), मनबहादुर गुरुङ, रोमबहादुर कार्की, दीपक तामाङ र ईन्दिरा आचार्यको नाम सिफारिस गरेको जिल्ला कमिटीका सदस्य तथा समन्वय कमिटी संयोजक संयोजक बैनबहादुर गुरुङले जानकारी दिए । उम्मेद्वार छनोट प्रयोजनका लागि बसेको बैठकले प्रत्यक्षतर्फ ५ र समानुपातिकतर्फ १४ जनाको नाम सिफारिस गरेको छ ।

Advertisement


कास्की क्षेत्र नम्बर २ प्रदेश सभा (२)ले प्रत्यक्षतर्फ मिनाकुमारी गुरुङ, मिना गुरुङ, सञ्जीवबहादुर कोइराला, परशुराम बराल, जीवन आचार्य, दानबहादुर बानियाँ, बलराम गायक र बलराम आचार्य गरी ८ जनाको नाम सिफारिस गरेको छ । प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटी संयोजक दानबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा कास्कीका इञ्चार्ज कृष्ण थापाले निर्देशनात्मक मन्तव्य राखेका थिए ।


कास्की क्षेत्र नम्बर २ प्रदेश सभा (१) निर्वाचन क्षेत्र समन्वय कमिटीको पूर्ण बैठकले महिलातर्फ पार्वती थापा कार्कीको नाम सर्वसम्मत सिफारिस गरेको छ । खुलातर्फ उम्मेद्वार बन्न आकांक्षा जाहेर गरेका १४ जना सबैको नाम जिल्ला कमिटी कास्कीमा पठाउने निर्णय गरेको निर्वाचन क्षेत्र समन्वय कमिटी संयोजक राधिका शाही योगीले जानकारी दिइन् । खुलातर्फ भीमबहादुर कार्की, युवराज पौडेल, भेषराज बराल, रश्मि आचार्य, तेजनारायण अधिकारी, अर्जुन गिरी, विद्याविमल बराल, देवीप्रसाद बस्याल, महेन्द्र उपाध्याय, प्रकाश पौडेल, तीर्थराज अधिकारी, सुवास ढुंगाना, रघुनाथ भण्डारी र गणेश श्रेष्ठले नाम दर्ता गरेका छन् ।

Advertisement

कास्की क्षेत्र नम्बर ३ (१) बाट एमालेमा दामोदर वैरागी, लालबहादुर परियार, दीपक पौडेल, नन्दलाल अधिकारी, माधव बास्तोला, राजेन्द्र गौतम, सूर्यप्रसाद लम्साल, केशवशरण पौडेल, दुर्गादत्त पोख्रेल, प्रेमदेवी परियार, शारदाकुमारी पराजुली, यदुनाथ अधिकारी, रमेश कार्की र शोभामोहन पौडेलले आकांक्षा व्यक्त गरेका छन् ।

कास्की क्षेत्र नम्बर ३ (२) बाट राजीव पहारी, ओम सुवेदी, शिव अधिकारी, दिलीपविक्रम शाही, सन्तोष परियार र संगीता सुवेदी आकांक्षी छन् । पार्टीको जिल्ला कमिटी कास्कीले सबै निर्वाचन क्षेत्र समन्वय कमिटीलाई सर्वसम्मत रुपमा अनिवार्य रुपमा १ महिला सहित ३ जनाको नाम सिफारिस गर्न निर्देशन गरेको थियो । प्रत्यक्षतर्फ उम्मेदवार कास्कीका सबै प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटीहरुका बैठक शनिबार एकसाथ बसेका छन् । एमालेले कास्कीले ६ प्रदेशसभा निर्वाचन क्षेत्रका लागि उम्मेद्वार सिफारिस गर्न शनिबार प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटिको बैठक आह्वान गरेको थियो ।

नेकपा (एमाले) जिल्ला कमिटी कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारीले पार्टीको नीति तथा कार्यक्रम प्रति प्रतिवद्ध भएको, लोकप्रियता र विजयको सुनिश्चितता, पार्टीप्रतिको निष्ठा र आन्दोलनमा योगदान, सन्तुलन र समावेशिता, निर्वाचन कानुन बमोजिम योग्यता भएको व्यक्तिलाई उम्मेद्वार सिफारिस गरिने बताए ।

जिल्ला कमिटी कास्कीले प्रतिनिधि सभाको सदस्यका लागि आइतबार बैठक बसेर नाम सिफारिस गर्न कास्कीका ३ वटा प्रतिनिधि सभा क्षेत्र निर्वाचन समन्वय कमिटीलाई निर्देशन गरेको छ । पार्टीले भदौ २० गते समानुपातिकतर्फको उम्मेद्वार छनोट गर्ने कार्यतालिका बनाएको छ ।

तपाईको प्रतिक्रिया