मुख्यमन्त्री–पाकिस्तानी राजदूत भेट

समाधान संवाददाता २०७९ भदौ १९ गते १०:३६

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसँग नेपालका लागि इस्लामिक गणतन्त्र पाकिस्तानका राजदूत शैयद हैदर शाहले शुक्रबार भेट गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको भेटमा मुख्यमन्त्री पोखरेलले नेपाल र पाकिस्तानबीचको सम्बन्ध पुरानो रहेको भन्दै शिक्षा, स्वास्थ्य तथा पर्यटनका क्षेत्रमा सहकार्य अझै बढाएर लैजान सकिने बताए ।


पाकिस्तानमा हालै गएको बाढीबाट भएको जनधनको क्षति तथा त्यसबाट आम नागरिकमा पर्न गएको कठिनाइप्रति मुख्यमन्त्रीले दुख व्यक्त गरेका छन् । नेपाल र पाकिस्तान बीचको गौरवपूर्ण सम्बन्धले ६ दशक पार गरिसकेको छ । दुई मुलुकबीचको असल मित्रवत् सम्बन्धका अलावा हाम्रा सम्बन्ध जनस्तरसम्म फैलिएको मुख्यमन्त्रीले बताए ।


नेपालले १९६२ मा आवासीय दूूतावास इस्लामावादमा स्थापना गर्नुका अतिरिक्त १९७५ मा कराचीमा कन्सुलेट स्थापना गरेको हो । २ देश बीचका पारस्पारिक, क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चमा हुँदै आएका समन्वय र सहकार्य सम्झन लायक रहेको उनको भनाइ छ ।

Advertisement


नेपाल र पाकिस्तान बीच आर्थिक तथा व्यापारिक सम्बन्ध पनि मजवुत रहेको मुख्यमन्त्री पोखरेलले बताए । सन् १९८३ मा अर्थमन्त्रीले नेतृत्व गर्ने गरी ज्वाइन्ट इकोनोमिक कमिसन गठन भई आर्थिक उन्नयनका क्षेत्रमा काम हुँदै आएको उनले उल्लेख गरे ।


उक्त भेटमा पाकिस्तानी राजदूत शाहले २ वर्षको नेपाल बसाइमा पोखराको भ्रमण पहिलो रहेको भन्दै यहाँको सुन्दरताबाट आफू प्रभावित भएको बताए । धेरै नेपाली विद्यार्थी पाकिस्तानमा अध्ययनरत रहेको स्मरण गर्दै उनले शिक्षा, स्वास्थ्य र पर्यटन लगायत क्षेत्रमा २ देशबीच सहकार्य अझै बढाउँदै लैजानुपर्नेमा जोड दिए ।

Advertisement


जलवायु परिवर्तनले नेपाल र पाकिस्तानजस्ता देशमा निकै असर परेको भन्दै यसको समस्या समाधानका लागि समेत सहकार्य जरुरी रहेको भनाइ राखे । हालै आएको बाढीले पाकिस्तानका धेरै पर्यटकीय क्षेत्रमा क्षति पुर्‍याएको उनको भनाइ थियो । पर्यटकीय संरचना निर्माण गर्दासमेत सुरक्षामा विशेष ख्याल गर्नुपर्ने राजदूत शैयदले बताए ।


पर्यटन प्रवद्र्धनतर्फ नेपाल र पाकिस्तानका बीच सन् २००९ मा पर्यटन सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यसले पर्यटन प्रवद्र्धनमा मद्धत गरेको मुख्यमन्त्रीले बताए । दुबै देशले वित्तीय क्षेत्र, कृषि तथा पशुपालन, ऊर्जा, स्वास्थ्य, शिक्षा, संस्कृति, पर्यटन, सञ्चार, सूचना प्रविधि र नागरिक उड्यनका क्षेत्रमा सहकार्य गर्दै आएका छन् । पाकिस्तानले नेपालमा टेक्सटायल, होटल, बंैकिङ र उद्योग क्षेत्रमा लगानी गर्दै आएको छ ।


नेपालले पाकिस्तानतर्फ छाला, गम, टार्पेन्ताइन तेल, आँखाको लेन्स, टेक्सटायल, औषधी तथा सर्जिकल उपकरण निर्यात गर्ने गर्दछ । नेपालले पाकिस्तानबाट फलफूल, बदाम, अदुवा, स्याफ्रन, बेसार लगायतका वस्तु आयात गर्ने गर्दछ ।

तपाईको प्रतिक्रिया