‘न्यायोचित रुपमा सिट बाँडफाँट हुनुपर्छ’

समाधान संवाददाता २०७९ भदौ १९ गते १०:४१

पोखरा ।
सत्तारुढ नेकपा (एकीकृत समाजवादी) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सत्ता गठबन्धनले न्यायोचित तथा सहमतिका आधारमा सिट बाँडफाँड गर्नुपर्ने बताएका छन् । उनले आगामी प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा सबैको सम्मान हुने गरी सिट बाँडफाँड हुनुपर्ने उल्लेख गरे ।


नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी)को प्रथम भेला शुक्रबार उद्घाटन गर्दै अध्यक्ष नेपालले सिट बाँडफाँडको टुंगो लाग्न लागेको बताए । ‘सिट बाँडफाँट न्यायोचित र सहमतिका आधारमा हुनुपर्छ,’ अध्यक्ष नेपालले भने, ‘सिट बाँडफाँट गठबन्धन दल सबैको सम्मान हुने गरी गर्नु पर्ने हाम्रो प्रस्ताव छ ।’ उनले सत्ता गठबन्धन चुनावसम्मको लागि नभएर लामो समयसम्म टिकाउनुपर्ने प्रस्ताव गरे ।


अध्यक्ष नेपालले राष्ट्रिय सभादेखि स्थानीय तहको निर्वाचनमा पार्टीले सम्मानजनक स्थान हासिल गरेको दाबी गरे । नेपालका ६ महानगरमध्ये पोखरा महानगरको मेयर जितेको उल्लेख गर्दै उनले पोखरेली जनताले दिएको साथप्रति आभार प्रकट गरे । आफ्नो पार्टी कम्युनिस्ट पार्टी भएको चर्चा गर्दै उनले महान उद्देश्यका साथ जनतालाई सेवा गर्न राजनीतिमा होमिएको बताए ।

Advertisement

नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा लगायतका कम्युनिस्ट पार्टीसँग पार्टी एकताको कुराकानी र वार्ता संवाद चलिरहेको जानकारी दिँदै उनले कम्युनिस्ट पार्टीलाई एकीकृत र व्यवस्थित गरी कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्‍याउने तर्क गरे ।


कार्यक्रममा पार्टीका स्थायी समितिका सदस्यहरु तुलबहादुर गुरुङ, शारदाप्रसाद सुवेदी, रामजी शर्मा, पोलिटब्युरो सदस्य श्रीनाथ बराल, केन्द्रीय सदस्य तथा पोखरा महानगरका मेयर धनराज आचार्य, आदिवासी जनजाति महासंघ (समाजवादी)का महासचिव चन्द्र तामाङ, पार्टीका जिल्ला कमिटी कास्की उपसचिव तथा आदिवासी जनजाति महासंघ (समाजवादी) कास्कीका इन्चार्ज डिबी राई लगायतले बोलेका थिए ।

Advertisement


भेलाले अध्यक्ष महेन्द्रकुमार गुरुङको नेतृत्वमा ४५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । कमिटीका उपाध्यक्षमा खड्कबहादुर राई र ईशारा थापा, सचिव प्रदीप भुजेल, सहसचिवमा राम तामाङ र ज्ञानकुमार श्रेष्ठ र कोषाध्यक्ष यशोदा गुरुङ छन् ।

तपाईको प्रतिक्रिया