नेचुङको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट अन्तिम चरणमा

सुन्दरकुमार थकाली २०७९ भदौ २० गते ११:१५

जोमसोम ।
चीनको तिब्बतसँग जोडिएको उत्तरी कोरलानाका स्थित लोमान्थाङ–२ छोसेरको नेचुङमा निर्माणाधीन सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) भवन निर्माण अन्तिम चरणमा पुगेको छ । नेपाल सरकारले २०७७ असारमा नेचुङमा बिओपी स्थापना गरेको थियो । त्यहाँ सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा २१ सुरक्षाकर्मी व्यवस्थापन गरिएको छ । सशस्त्रको भौतिक संरचना निर्माण नभएकाले बिओपीलाई नेचुङ भन्सारको स्वामित्वमा रहेको क्वारेन्टिन भवनमा राखिएको छ ।


नेचुङमा बिओपी स्थापना भएको ६ महिनापछि पूर्वाधार निर्माण गर्न सरकारले बजेट उपलब्ध गराएको थियो । पूर्व गृहसचिव महेश्वर न्यौपाने सशस्त्रका महानिरीक्षक शैलेन्द्र खनाल लगायतको टोलीले नेचुङ पुगेर बिओपी भवनको शिलान्यास गरेका थिए ।


भवन निर्माणका लागि ६ करोड ३५ लाख लागतमा नापी कन्सट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो । बाह्रै महिना सशस्त्र प्रहरीका सुरक्षाकर्मी बस्न सक्ने गरी ५५ कोठे बिओपी भवनको निर्माण थालिएको थियो । ठेक्का सम्झौता एक वर्ष रहेको बिओपी भवन निर्माण गत असारमा सकिनुपर्ने थियो । तर कोरोना र पछि बेनी–जोमसोम सडकमा बाढी पहिरो र नदी कटानका कारणले निर्माण सामाग्री ढुवानीमा अवरोध भएपछि भवन निर्माणको काम सुस्ताएको थियो ।

Advertisement


भवन निर्माणको प्राविधिक पक्ष जिम्मा लिएका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सञ्जय मण्डलले बिओपीको भौतिक प्रगति ९० प्रतिशत पुगेको जानकारी दिए । अब भवनको रंगरोगन र अन्तिम कामहरुमात्र बाँकी रहेको र यही आर्थिक वर्षभित्र सबै काम सकिने उनको दाबी छ ।


बिओपीले कोरलाको १६ देखि ३२ नम्बर सीमा स्तम्भको अनगुमन गरिसकेको छ । सरकारले उत्तर/दक्षिण व्यापारीक मार्ग विस्तार गर्ने दीर्घकालीन लक्ष्य अनुसार कोरला क्षेत्रमा बिओपी स्थापना गरेको थियो । भारतीय नाकाबन्दीपछि कोरला नाका सञ्चालनका लागि सरकारले सशस्त्रलाई नेचुङमा ३३ रोपनी, जनपथ प्रहरीलाई १३, अध्यागमनलाई १२, भन्सारलाई १०९ रोपनी जग्गा दिएको थियो ।

Advertisement


नेचुङमा छुट्याइको जग्गा कोरलाबाट टाढा भएपछि पछिल्लो समय उत्तरी कोरला नाकाको दश गजा क्षेत्रको दायाँ र बायाँ गरी १ हजार रोपनी जग्गा भन्सार लगायतका संरचना निर्माण गर्न जग्गा प्राप्ति गरी सरकारको नाममा लालपुर्जा समेत बनिसकेको छ । लोमान्थाङको थुर्रलुङ फाँटमा नेपाली सेनाले भौतिक संरचना निर्माण गरी क्याम्पसमेत बसाइसकेको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया