३ वर्षपछि सदगुरु मुस्ताङमा

सुन्दरकुमार थकाली २०७९ भदौ २० गते ११:४०

जोमसोम ।
दक्षिण भारतका चर्चित सद्गुरु जगदीश वासुदेव ५१ जना शिष्यसहित आइतबार मुस्ताङको जोमसोम आइपुगेका छन् । उनले भारतको कोइम्वुटुर सहरमा ईशा योगा सेन्टर सञ्चालन गरेका छन् । उनी दिउँसो ३ बजे काठमाडौंबाट एयर डोयग्नोस्टिक हेलीमार्फत जोमसोम आएका हुन् । यसअघि २०७६ साउनमा कैलास मानसरोवर जाने क्रममा उनी मुस्ताङ आएका थिए । पहिलो पटक आउँदा उनले मुस्ताङको थासाङ गाउँपालिकाका विभिन्न स्था भ्रमण गरेका थिए । त्यस समय उनी गुरुसोङ्वो गुफाबाट केही समय ध्यानसमेत बसेका थिए ।


सत् गुरुको मुस्ताङ भ्रमणको कार्यतालिका भने गोप्य राखिएको छ । मुस्ताङ भ्रमणको कार्यतालिका सार्वजनिक हुन नसके पनि उनले जोमसोमका स्थानीयबासीसँग फोटो भने खिचाएका छन् । सत्गुरुलाई स्थानीयले होटल मोक्षमा स्वागत गरेका थिए ।
यस पटकको भ्रमणमा विभिन्न १० देशका ५१ जना उनको टोलीमा सामेल छन् । सत्गुरुको भ्रमण टोलीमा भारतीय २७ जना, अमेरिकी १२ जना, बेलारुसका १ जना, क्यानडाका २ जना, चिनियाँ २ जना, लेबनानका १, मलेसियाका १, नेदरल्यान्डका २ जना, रोमानियाली १ जना, रसियाली १ र नेपाली १ जना छन् ।

सत्गुरुसहित काठमाडौंबाट करिव १२ जनाको टोली २ पटक उडान भरेर सिधै मोक्ष रिसोर्ट अवतरण गरेको थियो । सत्गुरुको टोलीका लागि मोक्ष रिसोर्टमा ३ रात बस्ने गरी बुकिङ भइसकेको छ । टोली मुस्ताङमा करिब एक साता बस्ने योजना रहेको द ट्रेकर्स सोसाइटीका व्यवस्थापक निरञ्जन बस्नेतले जानकारी दिए । ‘उहाँको भ्रमण कहाँ कहाँ छ, हामीलाई जानकारी दिने अख्तियारी छैन,’ व्यवस्थापक बस्नेतले भने, ‘सबै जानकारी प्रशासन र सम्बन्धित निकायलाई थाहा होला ।’

Advertisement

भ्रमणबारे स्थानीय प्रशासनले केही जानकारी नभएको जनाएको छ । मुस्ताङका सिडिओ नेत्रप्रसाद शर्माले सत्गुरुको टोली मुस्ताङ आएको अप्रत्यक्ष जानकारी प्राप्त भएको तर यसबारेमा टोली र जिल्ला बाहिरबाट कुनै जानकारी नआएको जनाए ।

तस्बिरः निरज थकाली

Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया