छोरी जन्माएर परिवार नियोजन गरेका पोखरा १२ का बासिन्दालाई ५० हजार पुरस्कार
सासू–ससुराको राम्रो हेरचाह गर्ने बुहारीलाई पनि सम्मान


प्रमिला कुँवर
पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १२ ले छोरी मात्रै जन्माएर परिवार नियोजन गर्ने दम्पतीलाई सम्मान गर्ने भएको छ । यस आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटिए अनुसार छोरी जन्माएर परिवार नियोजन गर्ने दम्पतीलाई वडाले ५० हजार रुपैयाँको पुरस्कार व्यवस्था गरेको हो । कार्यक्रमको पहिलो वर्षमा कम्तीमा ५ दम्पतीलाई सम्मान गर्ने लक्ष्य वडाको छ । यसका लागि वडाले साढे २ लाख रुपैयाँको बजेट विनियोजन गरिसकेको छ ।
छोरीको भ्रुणहत्या रोकिने अपेक्षा सहित पुरस्कारको व्यवस्था गरिएको पोखरा १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले बताए । ‘अंश र वंश धान्न छोरा नै चाहिन्छ भन्ने पुरातन सोचबाट समाज अझै मुक्त हुन सकेको छैन, बुढेसकालको सहारा भनेर छोरालाई नै चित्रित गरिन्छ,’ वडाध्यक्ष बास्तोलाले भने, ‘यसले छोरीहरुको भ्रुणहत्या अझै रोकिएको छैन ।
छोरीको भ्रुणहत्या कम गर्न यो योजना लियौं ।’ छोरा र छोरीबीचको भेदभावलाई न्यूनीकरण गर्ने प्रयास वडाको रहेको उनले बताए । ‘अवसर पाए छोरीहरु पनि छोरा जत्तिकै सक्षम हुन सक्छन्, राज्यले छोरीहरुका लागि शिक्षा–स्वास्थ्यमा सहुलियतको व्यवस्था गरिदिनुपर्छ,’ उनले भने ।
वडाले सासू–ससुरा पाल्ने असल बुहारी सम्मान कार्यक्रम पनि ल्याएको छ । सासू–ससुराको अवस्था र उनीहरुलाई गरिने व्यवहार मूल्यांकन गरी बुहारीलाई प्रोत्साहन स्वरुप सम्मान गर्न लागिएको वडाध्यक्ष बास्तोलाले जानकारी दिए ।
कार्यक्रमका लागि ५० हजार रकम छुुट्ट्याइएको छ । ज्येष्ठ नागरिकका लागि सरकारले नीति बनाएपनि कार्यान्वयन हुन नसकेको सन्दर्भमा यो कार्यक्रम ल्याइएको बास्तोलाले सुनाए । ‘कोही पनि ज्येष्ठ नागरिक माया र सम्मानबाट बञ्चित हुन नपरोस्, स्याहार, उपचार नपाएर अकालमै मृत्यु नहोस् भन्ने उद्देश्यले यो कार्यक्रम ल्याएका हौं,’ बास्तोलाले थपे । ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमै गएर निशुल्क स्वास्थ्य जाँच गरिने कार्ययोजनामा उल्लेख गरिएको छ । प्रत्येक ३/३ महिनामा स्वास्थ्य जाँच गरिने उल्लेख छ ।
विपन्न वर्गका बिरामीका लागि निशुल्क एम्बुलेन्स सेवा समेत सञ्चाल गरिने भएको छ । यस्तै अपांगता भएका व्यक्ति तथा उनीहरुका अभिभावकलाई अपांगता अधिकार सम्बन्धी क्षमता विकास तालिम प्रदान गरिने वडाको योजना छ ।
वडाका काम अनलाइन प्रविधिमार्फत सुचारु गर्ने काम पनि अन्तिम चरणमा पुगेको र वडाको एप पनि सञ्चालनमा आउन लागेको वडाध्यक्ष बास्तोलाको भनाइ छ ।
सार्वजनिक स्थलमा फ्रि–वाईफाई जडानको कामसँगै वडा कार्यालयमा सिसि क्यामेरा जडानको काम सुरु भइसकेको उनले बताए । वडामा संस्कृतिको जर्गेना र प्रवद्र्धनका लागि साँस्कृतिक समूह, आमा समूहहरुसँग सहकार्य गरिने उनले बताए । सँस्कृति संरक्षणका लागि वडाको शीतलादेवी मन्दिरमा असारयता हरेक पूर्णिमाका दिन आरती राखिएको छ ।
विद्यालय तथा बालबालिका लागि बनाएका कार्यक्रम अन्र्तगत माध्यमिक विद्यालयमा लागू औषध नियन्त्रणसँगै सामाजिक सञ्जालबारे सचेतना अभियान रहेका छन् । वडा स्तरीय बाल मञ्चका सदस्यका लागि क्षमता विकास तालिम, गरिब तथा जेहेन्दार विपन्न बालबालिकालाई शैक्षिक छात्रवृति उपलब्ध गराउने योजना वडाको छ । वडाको कार्ययोजना भित्र उज्यालो वडा अभियान कार्यक्रम समेत राखिएको छ ।

प्रमिला कुँवर
पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् ।
तपाईको प्रतिक्रिया