रेडक्रसको स्थापना दिवसमा सरसफाइ र कविता प्रतियोगिता

समाधान संवाददाता २०७९ भदौ २२ गते १०:५७

लेखनाथ ।
नेपाल रेडक्रस सोसाइटीको ६० औं स्थापना दिवसमा रेडक्रस सोसाइटी पोखरा २६ उपशाखाले सरसफाई तथा अभिमुखीकरण कार्यक्रम गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति डोलराज पाण्डेले रेडक्रस मानवीय सेवाका लागि स्थापना भएको संस्था रहेको बताए । रेडक्रस कुनै अनुचित फाइदाका लागि स्थापना नभएको भन्दै सबैले सहयोगी भावना राख्नुपर्ने उनको तर्क थियो ।


अभिमुखीकरणमा पोखरा २६ का विद्यालयका जुनियर रेडक्रस, युवा रेडक्रस तथा शिक्षक नायकहरूलाइ रेडक्रसको बारेमा रेडक्रस कास्की नवराज भण्डारीले सहजीकरण गरेका थिए । रेडक्रस सोसाइटी पोखरा २६ का सभापति शैलेन्द्र मोहन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान सभापति चन्द्रबहादुर रानाभाट, सहसचिव दुर्गा तिमिल्सिना लगाएतले बोलेका थिए । सोहि अवसरमा शाखा भवन वरपर सरसफाइ कार्यक्रम पनि गरिएको थियो ।


रेडक्रस दिवसको अवसरमै पोखरा महानगरपालिका वडा नं.२८ माझठाना स्थित रत्नशोभा माविमा कविता प्रतियोगिता सम्पन्न भएको छ । ‘मानव सेवामा रेडक्रस’ विषयक कविता प्रतियोगितामा कक्षा १२ मा अध्ययनरत छात्रा रेवती तिमिल्सिना प्रथम भएकी छिन् । यस्तै शिक्षिता तिवारी द्वितीय र विनिता लामिछाने तृतीय भएका छन् ।

Advertisement


कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोपालबहादुर बुढाथोकीले पुरस्कार वितरण गर्दै बधाई दिएका थिए । सर्कलका अध्यक्ष सविन केसीको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति एलिसा जिसीले रेडक्रसका सात सिद्धान्त वाचन गरेकी थिइन ।

Advertisement

तपाईको प्रतिक्रिया