थासाङका किसानलाई भालु धपाउने यन्त्र

सुन्दरकुमार थकाली २०७९ भदौ २३ गते ११:०४

जोमसोम ।
राष्ट्रिय प्रकृति संरक्षण कोष,अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप) अन्तर्गत मुस्ताङको थासाङ गाउँपालिकामा हिमाली कालो भालुले निकै सास्ती दिने गरेको छ । त्यहाँका किसानले खेतबारीमा लगाएको अन्नबाली र फलफुलहरु हिमाली कालो भालुले खाईदिंदा किसानको वर्षभरीको परिश्रम त्यसै खेर जाने गरेको छ ।

थासाङका किसानहरु वर्षौवर्षदेखि संरक्षित वन्यजन्तु हिमाली कालो भालुको क्षतिले पीडित बन्दै आईरहेका छन् । थासाङको ताक्लुङ, कुज्जो, टिटी, झिप्रा देउराली, धम्पु, कोवाङ, खन्ती, सौरु र सिर्खुमका किसानलाई भालु आतंकले अन्नबाली र फलुफुल जोगाउन मुश्किल पर्ने गरेको छ । बर्सेनि निकै दुख कष्ठ गरी उत्पादन गरेको स्याउ, मकै, जौ, फापर, उवा, आलु लगायतका अन्नबाली दिन दहाडै हिमाली कालुभालु खेतबारीमा पसेर सोत्तर पारिदिन्छ । थासाङका किसान भालु आतंकबाट मुक्त हुन सकेका छन् ।

किसानले लगाएको अन्नवाली भालुले सखाप पारिदिए पनि त्यसोको उचित क्षतिपूर्ती न त एक्यापले दिन सकेको छ नत स्थानीय तहले नै । एक्यापले सीमितमा क्षतिपूर्ती दिन्छ । क्षतिपूर्तीका लागि विभिन्न कानुन प्रावधान पूरा गरी मुचुल्का पेश गरेमात्र एक्यापले केही आर्थिक राहत दिन्छ तर त्यो पनि पर्याप्त छैन । यति मात्र होईन २०७८ साल असोजमा थासाङ–३ लेते धम्पुका पशुपालक किसान रेशमबहादुर पुर्जा भेडाच्यांग्रा चराउन नजिकैको लेंकमा जादा हिमाली कालु भालुले आक्रमण गर्दा घाईते भए ।

Advertisement

थासाङ–५ कुञ्जोकी विनिता मगर गत वर्षको असोज ८ गते घरबाट दही बिक्री गर्न जाँदा हिमाली कालो भालुले आक्रमण गर्दा उनी पनि घाईते बनिन् । हिमाली कालो भालुले किसानले लगाएको अन्नबाली मात्र निर्धक्क बाहिर हिडडुल गर्न समेत उक्तिकै जोखिम छ । भालु आतंकको भय र अन्नबाली संरक्षणको लागि थासाङका किसान दीर्घकालिन निकास खोजिदिन सरोकारवाला निकायलाई आग्रह समेत गर्ने गरेका छन् ।

थासाङ गाउँपालिकाका स्थानीय किसानहरुको समस्या र गुनासोलाई मध्यनजर गर्दै ओमविकास तथा देउकुमारी स्मृति प्रतिष्ठानकी अध्यक्ष शबि गौचन शेरचनको समन्वय र थासाङ गाउँपालिकाको आर्थिक सहयोगमा १५ थान भालु धपाउने यन्त्र उपकरण खरिद गरिएको थियो । गापाको आर्थिक सहयोगमा खरिद गरिएका भालु धपाउने यन्त्र उपकरण प्रतिष्ठानकी अध्यक्ष शबि गौचन शेरचन, उनीसँगै आएका यन्त्र प्राविधिक अजय शर्मा र शोभा गुरुङ लगायतको टोलीले थासाङ गाउँपालिकालाई बुधबार संयुक्त रुपमा हस्तान्तरण गरेको प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र सुवेदीले जानकारी दिए । प्राविधिकहरुले यन्त्र प्रयोग गर्ने तरिकाको बारेमा जानकारी दिएका थिए ।

Advertisement

प्रतिष्ठानको समन्वयमा मुस्ताङ ल्याईएको उक्त भालु धपाउने यन्त्र उपकरणको विकास राष्ट्रिय आविष्कार केन्द्र,ईको टेक्नोलोजी एण्ड ईन्जिनीयरिङ र गण्डकी आविष्कार केन्द्रले गरेका थिए ।जापानबाट ईलेक्ट्रोनिक ईन्जिनीयर उर्तिण गरेका ईन्जिनीयर सुवास गुरुङले यन्त्रलाई चाहिने उपकरण सामाग्रीहरु जापानबाटै खरिद गरी नेपाल पठाएका थिए । नेपालमा राष्ट्रिय आविष्कार केन्द्र र ईको टेक्नोलोजी गण्डकीले यन्त्र जडान गरेको थियो ।

जापानीज पार्टपुर्जालाई नेपालमा फिटिङ गरी तयार गरिएको भालु धपाउने यन्त्रको मुल्य एउटैको करिव ६० हजार पर्छ ।तर ,थासाङ गाउँपालिकालाई उक्त यन्त्र सहुलियत मुल्यमा उपलब्ध गराईएको प्रतिष्ठानकी अध्यक्ष शबि शेरचनले जानकारी दिईन् ।थासाङलाई प्रति यन्त्र उपकरण करिव छुट सहित ३० हजार मुल्यमा १५ थान यन्त्र उपलब्ध गराईएको अध्यक्ष शेरचनले उल्लेख गरिन् ।

थासाङ गापाका अध्यक्ष प्रदिप गौचनले प्रतिष्ठान मार्फत करिव ४ लाख ५० हजार मुल्य बराबर मुल्यको भालु धपाउने यन्त्र पालिकाले खरिद गरेको बताए । ‘वर्षौदेखि भालु आतंकले थासाङका किसान प्रदाडित छन्,उनीहरुले लगाएको अन्नवाली भालुले सोत्तर पारिदिन्छ,अध्यक्ष गौचनले भने, किसानको अन्नबाली संरक्षण गर्न र किसानलाई कृषि व्यवसायमा प्रोत्साहन गर्नु पालिकाको दायित्व हो,यसैले किसानको अन्नबाली जोगाउने दायित्व बोध गर्दै पालिकाले यन्त्र खरिद गरेको हो ।’

गापा अध्यक्ष गौचनले खरिद गरिएका यन्त्र थासाङको ५ वटै वडाहरुमा आवश्यकता र औचित्यताको आधारमा वितरण गरिने बताए ।उनले ५ वटै वडालाई यन्त्र हस्तान्तरण भईसकेको र वडाकै स्वामित्वमा राख्ने उल्लेख गरे । थासाङ–२ का वडाध्यक्ष गौतम शेरचनले प्राप्त यन्त्रले किसानले लगाएको अन्नबाली संरक्षण गर्न योगदान पुग्ने विश्वाश व्यक्त गरे ।

थासाङ गाउँपालिका २ सौरुमा ३ वर्षअघि ओम विकास तथा देउकुमारी प्रतिष्ठानकै सहयोगमा राष्ट्रिय आविष्कार केन्द्रले भालु धपाउने एक थान नमुना यन्त्र उपलब्ध गराएको थियो । प्रतिष्ठानले यन्त्रको प्रभावकारीता जाँच गर्न यन्त्र उपलब्ध गराएको थियो ।

यन्त्रले कसरी धपाउँछ भालु
राष्ट्रिय आविष्कार केन्द्र तथा ईको टेक्नोलोजी एण्ड ईन्जिनीयरिङ र गण्डकी आविष्कार केन्द्रले विकास गरेको भालु धपाउने यन्त्रको प्रयोग ३ तरिकाले गर्न सकिने यन्त्र प्राविधिक अजय शर्माले जानकारी दिए । उनका अनुसार भालु धपाउने यन्त्रलाई सेन्सरको प्रयोग,अटोमेटिक र रिमोटली ईन्टरनेट मार्फत प्रयोग गर्न सकिन्छ ।

सेन्सरको प्रयोगबाट करिव २० ठाउँमा मोसन सेन्टर कुनै एक ठाउँबाट वा कुनै ठाउँबाट संकेत गरी यन्त्र आफै स्वचालित गर्न सकिन्छ , किसानलाई आवश्यक पर्ने समयमा संञ्चालन गर्न तालिका बनाई सेटिङ गरी अटोमेटिक संञ्चालन गर्न सकिन्छ । रिमोटली ईन्टरनेटको माध्यमबाट जुनसुकै स्थानबाट यन्त्रलाई नियन्त्रणमा राख्न सकिन्छ ।

भालु धपाउने नयाँ प्रविधिको यस यन्त्रले चर्को आवाजमा ध्वनी प्रवाह गर्छ भने यसमा विभिन्न जनावरको आवाज निकाल्न सकिने छ । यन्त्र थोरै करेन्ट र भोल्टेज प्रवाह गरी प्रयोग गर्न सकिन्छ । यन्त्रमा जटित तारलाई कुनै मानिस वा व्यक्तिले छोएमा ९ केभीको बिद्युतीय झड्का दिन्छ । यन्त्रबाट निक्लिएको आवाजले वन्यजन्तुलाई असहज परिस्थिती निर्माण गर्न धपाउन मद्यत गर्छ । सौर्य उर्जा मार्फत बेट्रीलाई उर्जा संकलन गरेर यन्त्र संञ्चालनमा ल्याउन सकिन्छ । मौसम प्रतिकुल हुँदा समेत यसको बेट्रीले ५ दिनसम्म यन्त्र संञ्चालन गर्न अप्ठ्यारो पर्दैन ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया