फार्मेसीको पढाइ अब स्याङ्जामै

समाधान संवाददाता २०७९ भदौ २४ गते १३:२५

स्याङ्जा ।
स्याङ्जा वालिङ नगरपालिकाका सुदर्शन डुम्रे अहिले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका छन् । उनलाई फार्मेसी पढेर आफैंले गाउँमा फार्मेसी चलाउने इच्छा छ । स्याङ्जामा फार्मेसी पढाउने विद्यालय नभेटेपछि उनी फार्मेसी पढ्न काठमाडौं जाने तयारीमा थिए । तर अब उनी फार्मेसी अध्ययन गर्न काठमाडौं जान पर्नेछैन । बिहीबारबाट स्याङ्जामै फार्मेसीको अध्यापन सुरु गरिएको छ ।


सिटिइभिटी अन्तर्गत सञ्चालन गरिएको वालिङ स्कोलर्स फाउन्डेसनले फार्मेसीको अध्यापन गराउने भएको हो । फाउन्डेसनमा फार्मेसीसँगै सिभिल इन्जिनियरिङ तर्फको हाड्रोपावर अध्ययन गर्न पाइने छ । प्रत्येक वर्ष फार्मेसीतर्फ ४० र हाइड्रोतर्फ ४८ जनाले अध्ययन गर्न सक्ने फाउन्डेसनका प्राचार्य प्रदीप बगालेले बताए ।


गाउँमै फार्मेसी पढ्न पाएपछि डुम्रे खुसी छन् । भन्छन्, ‘काठमाडौं जाने सोचेको थिएँ, गाउँमै पढ्न पाउने भएपछि एकदमै खुसी लागेको छ ।’ अभिभावकमा पनि अब खुसीसँगै राहत थपिएको छ । किशोरावस्थामा घर छाडेर सहरमा पढ्न जाने अधिकांश विद्यार्थी कुलतमा फस्ने अभिभावकको डर पनि हटेको छ । ‘अहिलेका छोराछोरी केमा फस्छन् थाहा नै हुँदैन, गाउँमै राम्रो विषय पढाउन पाउँदा ढुक्क छौं,’ अभिभावक केदार गैह्रेले बताए ।

Advertisement


वालिङ नगरपालिका ९ अर्चलेडाँडामा फाउन्डेसन सुरु गरिएको हो । फाउन्डेसनको उद्धाटन पूर्व मन्त्री तथा नेकपा एमाले सचिव पद्मा अर्यालले बिहीबार गरेकी छन् । फाउन्डेसनको उद्घाटन गर्दै मन्त्री अर्यालले भनिन्, ‘सर्टिफिकेट देखाउनको लागि होइन रोजगारीसँग जोडिन चाहिने हो । आजको आवश्यकता प्रविधिक शिक्षा हो ।’


अर्यालले नेपालका शिक्षालय प्रमाणपत्र उत्पादन गर्ने कारखाना बनेको बताएकी छन् । उत्पादनसँग अहिलेको शिक्षा जोडिन नसकेको र दम्भ देखाउने साधनमात्र बनेको उनको भनाइ छ । कार्यक्रममा गण्डकी प्रदेश सासंद मोहनप्रसाद रेग्मीले गठबन्धन सरकार अहिले कनिका बाँडेजस्तो बजेट शिक्षा, स्वास्थ्यका क्षेत्रमा दिएको आरोप लगाए । कार्यक्रममा विद्यालयका निर्देशक कृष्ण डुम्रेले जिवन उपयोगी शिक्षा पहिलोपटक स्याङ्जामा आएको बताए ।

Advertisement

तपाईको प्रतिक्रिया