सहारा खेलकुद पत्रकारिता पुरस्कार शाहीलाई

समाधान संवाददाता २०७९ भदौ २८ गते ११:०२

पोखरा ।
यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार नारायण शाहीलाई प्रदान गरिने भएको छ । मोफसलकै प्रतिष्ठित क्लब सहारा क्लब पोखराले वर्षेनी प्रदान गर्दै आएको पुरस्कारका लागि प्रतिभा छनोट समितिले शाहीकोे नाम सिफारिस गरेकोमा क्लबको कार्यकारिणी समितिको बैठकले अनुमोदन गरेको हो । पुरस्कार २० हजार ५ सय ५५ रुपैयाँ, दोसल्ला र सम्मानपत्र रहेको छ ।


काठमाडौंबाट २०५३ सालदेखि पत्रकारिता सुरु गरेका उनी करिब १५ वर्षदेखि पोखरालाई कार्यक्षेत्र बनाउँदै आएका छन् । जनसम्मत डटकमका सम्पादक उनी एभरेष्ट मिडिया हाउसमा समेत कार्यरत छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी कार्यसमिति सदस्य शाहीको स्थायी घर तनहुँको भानु नगरपालिका हो ।


अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरिएको थियो । सदस्यमा रामप्रसाद तिमिल्सिना, खेमबहादुर गुरुङ, दीपेन्द्र श्रेष्ठ, तोरणबहादुर बानियाँ, दीननाथ बराल, केशवबहादुर थापा, पदेन सदस्यमा क्लब अध्यक्ष हरिराम गुरुङ (सुरज) र महासचिव रामजीप्रसाद अधिकारी थिए ।

Advertisement


यसैबीच, क्लबले सहारा उत्कृष्ट सदस्य पुरस्कार २०७८ बाट सिद्धार्थ थापालाई पुरस्कृत गर्ने क्लब महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । क्लबको वार्षिकोत्सव अवसरमा यही भदौ ३० गते पोखरा १७ दोबिल्लास्थित सहारा एकेडेमीमा पुरस्कार वितरण गरिनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया