एपिएफ र एसियन सुज भलिबल च्याम्पियन

समाधान संवाददाता २०७९ भदौ २८ गते ११:१४

पोखरा ।
पोखरा महानगरपालिका ३ नदीपुरमा सम्पन्न क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा सशत्र प्रहरी बल (४ नम्बर बाहिनी) मालेपाटनको टिम च्याम्पियन भएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा नदीपुर छन्त्याल समाजको खेल मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा मामा भान्जा क्लब काठमाडौंलाई २५–२०, २५–२२, २५–१९ अंकसहित ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो ।

त्यसैगरि महिलातर्फ अर्चलबोट भलिबल क्लबलाई फाइनल खेलमा २५–१२, २०–२५, २५–१५ र २५–२० को अंकसहित ३–१ सेटमा पराजित गर्दै एसियन सुज टिमले उपाधि जित्यो । पुरुषतर्फ उपाधि जितेको एपिएफले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु १ लाख प्राप्त गर्याे । यसैगरि उपविजेता बनेको मामा भान्जा क्लबले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ६० हजार पाएको क्लबका सचिव नवीन छन्त्यालले जानकारी दिए । उनका अनुसार महिलातर्फको विजेता एसियन सुजले नगद ४० हजार शिल्ड मेडल प्रमाणपत्र प्राप्त गर्याे ।


पुरुषतर्फ विजय र महिलातर्फ सरु सर्वाेत्कृष्ट
प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १० टिमको सहभागिता थियो । प्र्रतियोगितामा पुरुषतर्फ एपिएफका विजय थापा सर्वाेत्कृष्ट खेलाडीका रुपमा घोषित भए । यसैगरी उत्कृष्ट स्पाइकरका रुपमा मामा भान्जा क्लबका सञ्जु विक्रम शाह, उत्कृष्ट डिफेण्डरका रुपमा सोही टिमकै इश्वर गुरुङ र उत्कृष्ट सर्भरका रुपमा सोही टोलीकै राजेश कुँवर घोषित भए ।

Advertisement


उत्कृष्ट सेटरका रुपमा एफिएफका मिलन राना, उत्कृष्ट ब्लकरमा सोही टिमकै सुनिल सुनार र उदीयमान खेलाडीका रुपमा एपिएफकै उमेश सेन्चुरी पुरस्कृत भए । महिलातर्फ सर्वाेत्कृष्ट खेलाडीका रुपमा एसियन सुज लामाचौरकी सरु नेपाली घोषित भइन् । उत्कृष्ट सेटरकी रुपमा सोही टिमकै निरु पुन, उत्कृष्ट डिफेण्डरकी रुपमा सोही क्लबकै लक्ष्मी राना र उदीयमान खेलाडीका रुपमा सस्मीता पुन घोषित भइन् ।


यसैगरी अर्चलबोटकी मनिषा तिलिजा उत्कृष्ट स्पाइकर र सोही टिमकै डिमा पुन उत्कृष्ट सर्भरकी रुपमा घोषित भइन् ।
प्रतियोगिताबाट संकलित रकममध्ये केही रकम ब्लड क्यान्सरबाट ग्रसित बिरामीलाई सहयोग गर्ने बताइएको छ । यसअघि सम्पन्न गरको पाँचौ संस्करणको प्रतियोगिताबाट संकलित रकममध्ये २ लाख रुपैया मृगौला पीडित सुरज गुरुङलाई सहयोग गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया