मुस्ताङमा एमालेबाट २२ सिफारिस

सुन्दरकुमार थकाली २०७९ भदौ २८ गते १५:३६

जोमसोम ।
प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि मुस्ताङबाट नेकपा (एमाले) का २२ नेताको नाम सिफारिस भएको छ । पार्टी कार्यालय जोमसोममा मंगलबार उम्मेदवार तय गर्न बसेको एमाले सचिवालय बैठकले एक प्रतिनिधिसभा र दुई प्रदेश निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष तथा समानुपातिकतर्फका सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको हो ।

एमाले प्रदेश कमिटी सदस्य तिलक विकका अनुसार प्रतिनिधिसभा प्रत्यक्षतर्फ प्रेमप्रसाद तुलाचन, चन्द्रमोहन गौचन र इन्द्रधारा विष्टको नाम सिफारिस गरिएको हो । प्रतिनिधिसभा समानुपातिकतर्फ महेन्द्रबहादुर थकाली, चन्द्रमोहन गौचन र विशाल विकको नाम सिफारिस गरिएको हो ।

प्रदेश निर्वाचन क्षेत्र ‘क’को प्रत्यक्ष र समानुपातिकतर्फ ५ जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ इन्द्रधारा बिष्ट, वाङ्दी साङ्वो गुरुङ र वाङ्दी गुरुङ उम्मेदवारको रुपमा सिफारिस गरिएको हो भने समानुपातिकतर्फ माया बिष्ट र कर्मसम्टुक गुरुङ सिफारिस भएका छन् ।

Advertisement

यस्तै, प्रदेश ‘ख’ निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फ महेन्द्रबहादुर थकाली, चन्द्रमोहन गौचन र हेमन्त शेरचन गरी ३ जना उम्मेदवारका लागि सिफारिस भएका छन् ।

समानुपातिकतर्फ प्रदेश ‘ख’ मा भने ८ जनाको नाम सिफारिस भएको छ । जसअनुसार प्रदेश समानुपातिकतर्फ आसबहादुर थकाली, सवि शेरचन, गणेशलाल थकाली, ववि शेरचन, शर्मिला गुरुङ, विनोद विसी, नवीन भट्टचन र टसी स्याङ्वो गुरुङ्सेनीको नाम सिफारिस भएको एमाले प्रदेश कमिटी सदस्य विकले बताए ।

Advertisement

एमाले मुस्ताङले पार्टी जिल्ला इञ्चार्ज चन्द्रमोहन गौचनलाई प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष र समानुपातिक उम्मेदवारको सूचीमा राखेको छ भने प्रदेश ‘ख’को प्रत्यक्षतर्फको उम्मेदवारको सूचीमा समेत राखेको छ । गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्टलाई संघीय प्रतिनिधिसभाको प्रत्यक्ष र प्रदेश ‘क’ को प्रत्यक्ष उम्मेवारको रुपमा प्रस्ताव गरेको छ । यस्तै,प्रदेशसभा सदस्य महेन्द्रबहादुर थकालीलाई प्रतिनिधिसभाको समानुपातिक र प्रदेश ‘ख’ को प्रत्यक्ष उम्मेदवारको रुपमा नाम सिफारिस गरेको हो ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया