गण्डकीमा एमालेलाई गठबन्धन भारी

रिखिराम जिसी २०७९ भदौ २९ गते १०:१९

रिखिराम जिसी ।
पोखरा
आउँदो मंसिर ४ गते प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलहरुले तयारी सुरु गरिसकेका छन् । सत्ता साझेदार दलहरु चुनावी गठबन्धनको तयारीमा जुट्दा एमाले भने एक्लै लड्ने स्थितिमा छ । दलहरुले प्रदेश तथा प्रतिनिधि सभा उम्मेदवारका लागि नाम सिफारिस गरिरहेका छन् । केही राजनीतिक दल मतदातालाई प्रभावमा पार्न चुनाव केन्द्रित कार्यक्रममा जुटिराखेका छन् ।

गण्डकी प्रदेशमा पनि चुवानी रौनक बढ्दो छ । गण्डकीका ११ जिल्लामा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १८ सिट छन् । २०७४ को प्रतिनिधि सभा निर्वाचनमा एमाले—माओवादी वामगठबन्धन बनाई चुनावमा गएका थिए । उक्त निर्वाचनमा उक्त वाम गठबन्धनले १६ सिट जित हासिल गर्न सफल भएको थियो । कांग्रेसले एउटा सिटमा चित्त बुझाउनु परेको थियो । कांग्रेसले नवलपुर १ जित्दा कांग्रेसकै समर्थनमा तत्कालीन नयाँ शक्ति पार्टी अध्यक्ष बाबुराम भट्टराई गोरखा २ बाट विजयी भएका थिए ।

अघिल्लो निर्वाचनमा एक सिटमा चित्त बुझाएको कांग्रेसलाई पहिलाभन्दा बढी सफलता मिल्न सक्छ

Advertisement

त्यति बेलाको बलियो वाम गठबन्धन अहिले ३ धारमा विभाजित छन् । एमाले, माओवादी अहिले दुश्मनजस्तै छन् । त्यतिमात्र होइन, एमाले विभाजित भएर नेकपा एकीकृत समाजवादी बनेको छ । यही परिस्थितिमा गण्डकी प्रदेशमा नतिजा ७४ सालको भन्दा फरक आउने निश्चित छ ।

अघिल्लो निर्वाचनमा एक सिटमा चित्त बुझाएको कांग्रेसलाई पहिलाभन्दा बढी सफलता मिल्न सक्छ । जसको बलियो आधारको रुपमा गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनको मतलाई मान्न सकिन्छ । स्थानीय तहको वडागत नजिता हेर्ने हो भने प्रतिनिधि सभामा एमाले, कांग्रेस र माओवादी बाहेक अन्य दलले चुनाव जित्ने सम्भावना कम देखिन्छ ।

Advertisement

स्थानीय तहको नतिजाअनुसार एमाले ११, कांग्रेस ६ र माओवादी १ स्थानमा अगाडि छन् । एमाले कास्की २, कास्की ३, तनहुँ २, पर्वत, नवलपुर २, बागलुङ १ र २, मनाङ, मुस्ताङ, म्याग्दी र लमजुङमा अघि छ । कांग्रेस कास्की १, गोरखा १, तनहुँ १, नवलपुर १, स्याङजा १ र २ मा अगाडि छ । माओवादी गोरखा २ मा अघि छ ।

मुस्ताङ, मनाङ, स्याङ्जा १, कास्की ३ र तनहुँ २ मा एमाले कांग्रेसभन्दा हजारभन्दा कम मतले अगाडि छ । मनाङ, मुस्ताङ, पर्वत र नवलपुर २ मा कांग्रेस, माओवादीलगायतको सत्ता गठबन्धले पाएको मतभन्दा एमालेको मत धेरै छ । गोरखाका २ क्षेत्रमा एमाले तेस्रो स्थानमा छ । एउटा क्षेत्रमा कांग्रेस र दोस्रो क्षेत्रमा माओवादी अगाडि छ ।

स्थानीय तहमा वडाध्यक्षले पाएको मतलाई आधार मान्ने हो भने एक्लाएक्लै लड्दा एमाले पहिलो पार्टी बन्न सक्ने देखिन्छ । तर सत्ता गठबन्धन एकातिर अर्कातिर एमाले हुनुपर्दा एमालेले भारी पर्नेछ । गठबन्धन हुँदाको आँकलन गर्ने हो भने गण्डकी प्रदेशमा प्रतिनिधि सभातर्फ १८ सिटमा गठबन्धनको १४ सिट सुरक्षित देखिन्छ । वडागत मत आधार मान्दा कांग्रेस एक्लै ६ ठाउँमा अगाडि छ । गठबन्धन हुँदा पनि केही ठाउँ भने रोचक बन्ने देखिएको छ ।

कास्की २, कास्की ३, पर्वत, नवलपुर २, लमजुङ, मनाङ र मुस्ताङमा कडा प्रतिस्पर्धा हुने देखिन्छ । वडागत नतिजा हेर्दा यी क्षेत्रमा एमालेले प्राप्त गरेको मत र सत्ता गठबन्धनको दलहरुले प्राप्त गरेको मत बराबर जस्तो छ । जसले गर्दा अन्य दल र नयाँ थपिएका मतदातामा भर पर्नुपर्ने हुन्छ । यद्यपि गठबन्धनको भागबन्डाको टुंगो लागिसकेको छैन । जसले गर्दा कांग्रेसलाई कति र अन्यलाई कति भन्नेबारे भन्न सकिने अवस्था छैन । साथै पार्टीले उठाउने उम्मेदवार, उम्मेदवारको लोकप्रियता, उम्मेदवारप्रति जनताको विश्वास, नयाँ थपिएका मतदाताको मतले पनि मतपरिणाममा फरक ल्याउन सक्छ ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया