कालीगण्डकीबाट वालुवा, गिट्टी झिक्ने तयारी

सुन्दरकुमार थकाली २०७९ भदौ ३१ गते ११:०८

जोमसोम ।
मुस्ताङमा कालीगण्डकी किनारका बासिन्दा बर्सेनी नदी कटानको मारमा पर्दै गएका छ । यो समस्या समाधान गर्न नदीजन्य पदार्थ निकाल्ने तयारी भएको छ । जिसस मुस्ताङको जिल्ला सभाले कालीगण्डकी नदीमा बर्सेनी ढुंगा, गिट्टी, बालुवा र ग्रेगान जम्मा हुँदा तटीय क्षेत्रका बस्ती जोखिममा परेको निस्कर्ष निकालेको छ ।

नदी नियन्त्रणका लागि नदीजन्य पदार्थको समुचित संकलन तथा व्यवस्थापन गर्न पहल गर्ने सभाले निर्णय गरेको छ । मंगलबार भएको जिल्ला समन्वय समिति मुस्ताङको छैटौं जिल्ला सभामा ५ स्थानीय तह र जिल्लाका सरोकारवाला निकायको उपस्थिति थियो ।

कार्यक्रममा संघीय सांसद प्रेमप्रसाद तुलाचनले तीन तहका सरकारले गर्ने कार्यसम्पादनमा जिल्ला समन्वय समितिले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए । तुलाचनले आफू दुर्गम जिल्लाको जनप्रतिनिधि भए पनि विकासको मोडालिटी आफूबाट सिक्न अन्य संघीय सांसदलाई अनुरोध गरे । संघीयताको पहिलो कार्यकाल सकिँदै गर्दा संघ तथा प्रदेश सरकारबाट अर्बौंका विकास काम भएको बताए ।

Advertisement

सांसद तुलाचनले भने, ‘पालिकाहरुले अब जनताको जीवनस्तर सुधार्ने काम गर्नुहोला, कृषि र पर्यटनको समस्या केलाउनु होला ।’ सांसद तुलाचनले ठूला योजना संघ र प्रदेशबाट ल्याउन पहल गर्ने बताए । मुस्ताङलाई सडकमार्गबाट उत्तर/दक्षिण राजमार्ग र मुस्ताङ–डोल्पा जोड्ने काम छिटो सक्नुपर्ने विचार राखे ।

सभामा गण्डकी प्रदेशका सांसद महेन्द्रबहादुर थकाली, संविधानसभा सदस्य चन्द्रबहादुर गुरुङ, श्रीमाया थकाली, जिसस प्रमुख माया गुरुङ, पूर्व जिसस प्रमुख छिरिङ ल्हामो गुरुङ, घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन र प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा लगायतले बोलेका थिए ।

Advertisement

सभाले जिल्लाका विविध विषयमा साझा अवधारणापत्र तयार पारेको जिसस अधिकारी शिवकुमार पौडेलले बताए । जिसस प्रमुख माया गुरुङको अध्यक्षतामा कार्यक्रम भएको हो । सभाले कृषि, पशुपालन र पर्यटन विकास तथा प्रर्वद्धनका लागि आवश्यक योजना तर्जुमा गर्ने, मुस्ताङको कुल क्षेत्रफलको १०.४९ प्रतिशतमात्र नापी भएको र बाँकी भोगचलन गर्दै आइरहेका नापी नभएका जग्गाको नापी गर्न संघ सरकारसँग अनुरोध गर्ने र जलवायु परिवर्तनका कारण कृषि, पशुपालन, पर्यावरणमा नकारात्मक प्रभाव परेको र त्यसको विकल्पका लागि वैज्ञानिक मार्ग अवलम्वन गर्ने र परम्परागत पुरानो घरको सांस्कृतिक सौन्दर्यता जोगाउन विकल्पहरु खोज्ने लगायतका साझा अवधारणा अनुमोदन गरेको समन्वय अधिकारी पौडेलले बताए ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया