मापदण्ड विपरीत निर्माण नर्गन व्यवसायीलाई महानगरकाे निर्देशन

रिखिराम जिसी २०७९ असोज ३ गते १०:०५

रिखीराम जिसी

पोखरा
पोखरा महानगरपालिकाले भौतिक संरचना निर्माण गर्दा संरचनाको वैधता र मापदण्ड यकिन गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएको छ । महानगरपालिकाले कतिपय संरचना सार्वजनिक जग्गा मिचेर बनेकाले सो नियन्त्रणका लागि आइतबार सूचनामार्फत यो निर्देशन दिएको हो ।

‘महानगरपालिकाभित्रका विभिन्न स्थानमा निर्माण व्यवसायीले सेवा प्रदान गर्दा निर्माण हुने संरचना वैध तथा मापदण्डभित्रको हो हैन यकिन गरेरमात्र सेवा प्रदान गर्नुहुन जानकारी गराइन्छ,’ उक्त सूचनामा उल्लेख गरिएको छ । महानगरले अनधिकृत रुपमा मापदण्ड विपरीतका संरचना निर्माणमा सहभागी भए कारबाही गर्ने जनाएको छ । ‘अन्यथा अनधिकृत रुपमा मापदण्ड विपरीतका संरचना निर्माणमा सहभागी भएका र त्यस कार्यमा प्रयोग भएका सवारीसाधन लगायत सामग्री कानुन बमोजिम नियन्त्रणमा लिइने व्यहोरा जानकारी गराइन्छ,’ सूचनामा लेखिएको छ ।

Advertisement

यसअघि पोखरा महानगरपालिका मेयर धनराज आचार्यले शनिबार फेवा तालको सिरानमा डाँडा खारेर पुरिएको सिमसार क्षेत्रको अवलोकन गर्दै फेवातालको मापदण्डभित्र संरचना नबनाउन आग्रह गरेका थिए । पोखरा महानगरपालिकाको ०७८ चैत १६ मा बसेको कार्यपालिका बैठकले फेवातालसहित पोखराका सबै तालका मापदण्ड आधाभन्दा बढी घटाउने निर्णय गरेको थियो । तर, असार १३ गते सोमबार सर्वोच्च अदालतले फेवातालको मापदण्ड ६५ मिटर नै कायम राख्न अन्तरिम आदेश दिएको छ ।

सोही आधारमा फेवातालदेखि ६५ मिटरसम्म बन्दै गरेका नयाँ संरचनासमेत हटाउन मेयर आचार्यले निर्देशन दिएका थिए । ‘अटेर गरेर संरचना बनाए भत्काउँछौं । सिमसार क्षेत्र यसरी पुरिनु अत्यन्त दुखद छ । यसरी भोलिको पुस्ताले ताल नै देख्न पाउँदैन । अब यस्तो हुन दिइने छैन,’ आचार्यले अवलोकनको बेला भनेका थिए । महानगरले भदौ ३१ गते १ हप्ताको समय दिँदै मापदण्डभित्रका संरचना हटाउन सूचना जारी गरिसकेको छ । समय सीमाभित्र नहटाउनेलाई महानगरले हटाउने र क्षतिपूर्ति भराउने चेतावनी दिएको छ ।

Advertisement

जग्गा वर्गीकरणको काम भइरहेको भन्दै कृषि योग्य जमिन र सिमसार क्षेत्रको जमिनमा भौतिक संरचना नबनाउनसमेत मेयर आचार्यले निर्देशन दिएका थिए । ‘झुक्किएर पनि प्लटिङ गर्छु, व्यावसायिक प्रयोजन साथै आवास निर्माण गर्छु भन्ने नसोचे हुन्छ । यहाँ कृषि कर्म गर्न पाइन्छ । सिमसार क्षेत्रको संरचना बिगार्न पाइन्नँ,’ उनले भनेका थिए ।

रेडी मिक्स्चर नियन्त्रणमा
मापदण्ड विपरीतको घर निर्माणमा प्रयोग भएको रेडी मिक्स्चर पोखरा महनगरले नियन्त्रणमा लिएको छ । पोखरा ६ खहरे स्थित दीपेन्द्र महर्जनको घरको तेस्रो तला ढलानमा प्रयोग गरिएको ग१क ४८२२ नम्बर को रेडी मिक्स्चर महानगरपालिकाले नियन्त्रणमा लिएको हो ।

शनिबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सर्वोच्च अदालतको अन्तरिम आदेश बमोजिम फेवातालको ६५ मिटर मापदण्ड भित्र कुनै पनि नयाँ संरचना निर्माणमा रोक लगाएको विषयमा त्यस क्षेत्रका घरधनीलाई जानकारी गराएका थिए । तर, त्यसको भोलिपल्ट नै महर्जनले अदालत र महानगरको निर्देशन विपरीत नक्सा पास नै नगरी घरको तेस्रो तला ढलान गर्न लागेका हुन् ।

महर्जनको घर ढलान भइरहेको सूचना प्राप्त भएपछि महानरका प्रहरीले सो स्थानमा पुगी फेवा रेडी मिक्स्चरको मिक्स्चर र अरु सामान नियन्त्रणमा लिएको हो ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया