मोटरेबल पुल बनेपछि मुस्ताङ–डोल्पा जोडिए

सुन्दरकुमार थकाली २०७९ असोज ७ गते १०:२४

जोमसोम ।
कालिगण्डकी नदीमाथि मुस्ताङ र डोल्पा जोड्ने निर्माणाधीन एक्लेभट्टी–पाक्लिङ मोटरेबल पुल ७ वर्षमा सकिएको छ । साबिक जिल्ला विकास समितिले ठेक्का लगाएको मोटरेबल ७ वर्षमा बनेको हो । राष्ट्रिय गौरवको जोमसोम–कोरला सडकसँगै जोडिएको मुस्ताङ–डोल्पा जोड्ने कालिगण्डकी नदीमा एक्लेभट्टी–पाक्लिङ पुल २०७२ असार ३१ गते एलाइट शंकरमाली जेभीले १२ करोड १३ लाख ८५ हजार लागतमा ठेक्का सम्झौता गरी निर्माणको कामअघि बढाइएको थियो ।

निर्माण सुरु गरिएको मुस्ताङ डोल्पा सडक जोड्ने महत्वकांक्षी एक्लेभट्टी–पाक्लिङ पुल बनाउन एलाइट शंकरमाली जेभीले ठेक्का सम्झौता गरे पनि विभिन्न कारणले पुल निर्माणमा ढिलाइ भएको थियो । पछिल्लो समय भने पूर्वाधार विकास कार्यालयले पुल बनाउने ठेक्का सम्झौता गरेको दोस्रो प्रतिनिधिबाट निर्माण कार्यअघि बढाएको थियो ।

मुस्ताङ–डोल्पा पुलको लम्बाइ १ सय २० मिटर लामो छ भने पुलको चौडाइ ७ दशमलव २ मिटर छ । पुलमा ३ वटा स्पान छन् । पुलको तल पट्टिको बिममा स्टिल प्लेट गर्डर र माथिल्लो भागमा स्ल्याब ढलान गरिएको छ । पुलको बिहीबार पूर्वाधार विकास कार्यालय मुस्ताङ र स्थानीयको रोहबरमा उद्घाटन गरिएको छ । निवर्तमान प्रदेश सांसद महेन्द्रबहादुर थकालीले पुल उद्घाटन गरे ।

Advertisement

थकालीले विभिन्न बाधा, अवरोध र चुनौती सामना गर्दै मुस्ताङ–डोल्पा जोड्ने पुल सम्पन्न भएको बताए । उनले पुल निर्माणले छिमेकी डोल्पासँगको सडक कनेक्टिभिटी जोडिएपछि सीमावर्ती गाउँ सान्तासहित विभिन्न गाउँमा खाद्यान्न, निर्माण सामग्री र कृषि उपज बजारीकरण गर्न सहज हुने बताए । वारागुङ मुक्तिक्षेत्रका अध्यक्ष रिङझिन नाम्गेल गुरुङले ढिलै भए पनि पुल निर्माणले स्थानीयमा आशाको सञ्चार भएको उल्लेख गरे ।

‘हामीले धेरै वर्ष पुल बन्छ कि भनी कुर्नु पर्‍यो, धेरै दुःख पाइयो,’ अध्यक्ष गुरुङले भने, ‘पछिल्लो ठेकेदारले जिम्मेवारीपूर्वक काम गरेकाले आज पुल बन्न सफल भयो, यसका लागि पूर्वाधार विकास कार्यालयको महत्वपूर्ण योगदान छ ।’ पुल निर्माणले डोल्पासँग सिधा मार्ग जोड्न योगदान पुगेको कार्यालय प्रमुख विवेक सिक्देलले बताए ।

Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया