पोखरा महानगर भित्रका अन्डरग्राउन्ड खाली गराइँदै

रिखिराम जिसी २०७९ असोज १३ गते १२:२६

रिखिराम जिसी
पोखरा
पोखरा महानगरले महानगर क्षेत्रका अन्डर ग्राउन्डमा रहेका व्यापार, व्यवसाय, स्टोर हटाउने भएको छ । महानगरले आफ्नै स्वामित्वमा रहेको सिर्जनाचोकको भवनबाट अन्डर ग्राउन्ड खाली गराउने अभियान सुरु गरेको हो । ‘महानगरको स्वामित्वमा रहेको भवनको अन्डर ग्राउन्ड यसअघि पार्किङका लागि प्रयोग भएको थिएन । सिलाई कटाइ गर्ने टेलर्स र स्टोर थियो,’ मेयर आचार्यले भने, ‘महानगरले खाली गरेर पार्किङकै रुपमा प्रयोग गर्ने बनाएका छौं ।’ अन्डरग्राउन्ड पार्किङको नक्सा पास गरेकाले पार्किङकै रुपमा प्रयोग गर्र्नुपर्ने मेयर आचार्यले उल्लेख गरे ।

अन्डर ग्राउन्डको नक्सा पास गरे पनि पोखरा महानगरका करिब साढे २ सय भवनको अन्डरग्राउन्ड अरु नै प्रयोजनमा छ

‘अन्डरग्राउन्ड पार्किङकै रुपमा प्रयोग गर्न पत्राचार पनि गरेका थियौं । धेरै जनाले खाली गर्नुभएको छ । केहीले १/२ दिनमा खाली गर्ने भन्नुभएको छ । खाली गरेरमात्रै हुँदैन, त्यसलाई पार्किङकै रुपमा प्रयोग गर्नुपर्छ,’ मेयर आचार्यले भने ।
दिनानुदिन पार्किङको समस्या बढ्दै गएकाले अन्डरग्राउन्ड पार्किङ आवश्यक रहेको मेयर आचार्यले सु्नाए । महानगरका मुख्य चोकमा सडक बत्ती जडान गरिने मेयर आचार्यले जानकारी दिए । ‘केही समयमै महानगरका मुख्य चोकमा सडक बत्ती जडान गर्दै छौं, जसको टेन्डर प्रक्रिया चलिरहेको छ,’ उनले भने ।

Advertisement

सवारी साधनको पार्किङ गर्ने अनुमति लिई ती ठाउँमा व्यापार तथा व्यवसाय सञ्चालन भएका ठाउँ खाली गर्न महानगरले भदौ १३ गते ३५ दिने सूचना प्रकाशित गरेको थियो । पोखरामा जनघनत्व र सवारी चापका कारण पार्किङका लागि स्थान अभाव भएपछि अन्डरग्राउन्डलाई पार्किङ बनाउनका लागि सो तला खाली गर्न सूचना जारी भएको हो । घरधनीहरुलाई महानगरले अन्डरग्राउन्ड खाली गरी पार्किङकै रुपमा प्रयोग गर्न पत्राचार गरेको इन्जिनियर सुरेन्द्र पौडेलले बताए । ‘सबैलाई पार्किङकै रुपमा प्रयोग गर्न पत्राचार गरेका थियौँ, ७० भन्दा धेरै स्थानमा आफैं पुगेका थियौँ । धेरै जसो व्यापारिक प्रयोजनका लागि प्रयोग भएको पाइएको छ,’ इन्जिनियर पौडेलले भने ।

केही व्यवसायीले अन्डरग्राउन्ड खाली गर्न १/२ दिन समय मागेकाले पूर्णिमासम्म खाली गर्न समय दिइएको इन्जिनियर पौडेलले सुनाए । ‘केहीका ठूलो सामान छन्, दसैं पनि आएको छ । खाली गर्न १/२ दिन माग्नुु भएको छ,’ उनले भने, ‘पूर्णिमापछि तदारुकताका साथ कार्यान्वयनमा लाग्नेछौं ।’

Advertisement

कानुन अवज्ञा गरी अन्डरग्राउन्ड खाली नगरे महानगरले कारवाही गर्ने पौडेलले बताए । ‘हामीले सूचना दिइसकेका छौँ, पत्राचार गरिसकेका छौँ, समय पनि दिइसकेका छौँ,’ उनले भने, ‘अब पनि नहटाउनेलाई कानुनी दायरा ल्याएर कारबाही गछौँ ।’
अन्डरग्राउन्ड पार्किङ बनाएमा भने सो तलाको ५० प्रतिशत राजस्वसमेत घरधनीले छुट पाउँछन् । महानगरको प्रावधानमै रहेर घरधनीले घर निर्माण गर्ने गरेका छन् । राजस्व छुट पनि लिन्छन् ।

तर घर निर्माण भइसकेपछि भने अन्डरग्राउन्डलाई पार्किङका रुपमा प्रयोग भने अधिकांशले गर्दैनन् । बरु त्यो तलालाई उनीहरुले व्यवसायिक प्रयोजन र गोदामका रुपमा प्रयोग गर्ने गरेका छन् । घर तथा भवनको नक्सा पास गर्दा अन्डरग्राउन्ड पार्किङको नक्सा पास गरे पनि साढे २ सय भवनको अन्डरग्राउन्ड अरु नै काममा प्रयोग नभएको महानगरको तथ्यांक छ ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया