कास्कीमा ११० उम्मेदवार

सञ्जय रानाभाट २०७९ असोज २४ गते १०:४३

पोखरा ।
आसन्न निर्वाचनमा कास्कीबाट १ सय १० जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन कार्यालय पोखराका अनुसार प्रतिनिधिसभातर्फ ५५ जनाको उम्मेदवारी परेको छ । प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले १ सय १० उम्मेदवारमध्ये संघ र प्रदेश दुवैतिर समान ५५ जनाको उम्मेदवारी दर्ता भएको जानकारी दिए ।

कास्कीमा प्रतिनिधिसभातर्फ ३ र प्रदेशसभातर्फ ६ निर्वाचन क्षेत्र छन् । कास्कीका प्रमुख दलले आइतबार उम्मेदवारी दर्ता गरेका छन् । यहाँ सत्ता गठबन्धनसँग एमाले उम्मेदवारको प्रमुख प्रतिस्पर्धा हुृने देखिन्छ । सत्ता गठबन्धनको तर्फबाट कास्की १ मा कांग्रेसबाट किशोरदत्त बराल उम्मेदवार बनेका छन् । यो क्षेत्रमा कांग्रेसका अर्का नेता कृष्ण केसी प्रबल दाबेदार थिए ।

बरालको प्रतिस्पर्धा एमालेका मनबहादुर गुरुङसँग पक्का भएको छ । गुरुङ एमाले कास्की अध्यक्ष हुन् । कास्की २ मा सत्ता गठबन्धनको घटक नेकपा एकीकृत समाजवादीले श्रीनाथ बराललाई उठाएको छ । बरालको क्षेत्र कास्की १ भए पनि गठबन्धनबाट एकीकृत समाजवादीलाई कास्की २ भागमा परेको छ । बरालको नाम क्षेत्र १ बाटै सिफारिस भएको थियो । उनको प्रतिस्पर्धा एमालेकी विद्या भट्टराईसँग हुँदै छ । भट्टराई र बराल पूर्व सहकर्मीसमेत हुन् । भट्टराई सोही क्षेत्रकी निवर्तमान सांसद हुन् ।

Advertisement

कास्की ३ मा माओवादीको तर्फबाट गण्डकी प्रदेशका अर्थमन्त्रीसमेत रहेका रामजीप्रसाद बराल मैद ानमा आएका छन् । अर्का नेता राजकाजी गुरुङ ‘करण’ र पूर्व सांसद दुर्गा विक आकांक्षी रहे पनि बरालले टिकट पाएका हुन् । बरालको प्रतिश्पर्धा एमालेका दामोदर बैरागीसँग हुँदै छ । बैरागी एमाले कास्कीको गत महाधिवेशनमा अध्यक्षका प्रत्यासी थिए । बैरागीलाई हराउँदै मनबहादुर गुरुङ कास्की अध्यक्ष चुनिएका हुन् ।

प्रदेशसभातर्फ कास्कीमा ५५ जनाको उम्मेदवारी परेको छ । एमालेका उम्मेदवारले ¥यालीसहित आइतबार मनोनयन दर्ता गरे । प्रदेशसभा तर्फ एमालेले कास्की १ कमा खगराज अधिकारी, १ खमा वेदबहादुर गुरुङ ‘श्याम’लाई टिकट दिएको छ । कास्की २ कमा भीम कार्की र २ खमा मिना गुरुङ उम्मेदवार बन्दा कास्की ३ कमा गणेशमान गुरुङ र खमा राजीव पहारीले टिकट पाएका छन् ।

Advertisement

कांग्रेसले कास्की १ ‘ख’ मा दीपक गुरुङ ‘माइला’लाई उम्मेदवार बनाएको छ । कास्की २ ‘ख’ मा विन्दुकुमार थापा र ३ ‘ख’ मा प्रकाश बराल उम्मेदवार बनेका छन् । जिल्लामा माओवादीले पनि ३ क्षेत्र पाएको छ । कास्की १ ‘क’ मा दीपक कोइराला, कास्की २ ‘क’ मा विश्वप्रकाश लामिछाने र कास्की ३ ‘क’ मा दुर्गादत्त भण्डारीले टिकट पाएका छन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया