गण्डकी प्रदेश

२० पूर्वसांसद फेरि उम्मेदवार

सञ्जय रानाभाट २०७९ असोज २५ गते १०:२६

सञ्जय रानाभाट
पोखरा ।
आसन्न आम निर्वाचनमा कास्कीबाट प्रतिनिधि र प्रदेश सभामा १ सय १० जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन कार्यालय पोखराका अनुसार कास्कीबाट प्रतिनिधि र प्रदेश सभातर्फ समान ५५/५५ जनाको उम्मेदवारी दर्ता भएको हो । गण्डकी प्रदेश सभामा १० र प्रतिनिधिसभा ११ जना पूर्व सांसद फेरि चुनावी मैदानमा आएका छन् ।

गण्डकीमा प्रदेश सभाको प्रत्यक्षतर्फ ३६ निर्वाचन क्षेत्र छन् । ६० सदस्यीय गण्डकी प्रदेशसभामा २४ जना सामानुपातिकबाट निर्वाचित हुन्छन् । आसन्न निर्वाचनमा गण्डकीबाट प्रदेश र संघ गरी २१ पूर्वसांसद फेरि उम्मेदवार बनेका छन् ।

प्रतिनिधि सभातर्फ ११ र प्रदेश सभातर्फ १० उम्मेदवार दोहोरिएका छन्

Advertisement

प्रदेश सभा सदस्यका लागि कास्कीबाट मात्र ३ पूर्वसांसदले मनोनयन दर्ता गरेका छन् । सत्ता गठबन्धनबाट कांग्रेसका विन्दु थापा दोस्रोपटक उम्मेदवार बनेका हुन् । प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रीसमेत रहेका थापा यसअघि कास्की क्षेत्र नम्बर २ खबाट निर्वाचित भएका थिए । उनी फेरि सोही क्षेत्रबाट कांग्रेसका उम्मेदवार बनेका छन् । उनलाई सत्ता गठबन्धनका अरु दलहरुको साथ छ । उनको प्रतिस्पर्धी एमालेबाट मीना गुरुङ छिन् । गुरुङ यसअघि एमालेबाट समानुपातिक सांसद थिइन् ।

कास्कीबाट दोहोरिएका अर्का उम्मेदवार हुन् एमालेका राजीव पहारी । पहारी यसअघि कास्की क्षेत्र नम्बर ३ (ख) बाट प्रदेश चुनिएका थिए । उनी सोही क्षेत्रबाट यसपटक दोहोरिने आकांक्षासहित एमालेका उम्मेदवार बनेका छन् । पहारीको प्रतिस्पर्धा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार प्रकाश बरालसँग हुँदै छ । प्रदेश सभा सदस्यका लागि कास्की १ (क) मा माओवादी केन्द्रबाट दीपक कोइरालाले उम्मेदवारी दर्ता गरेका छन् ।

Advertisement

उनी ०७४ सालको निर्वाचनमा कास्की क्षेत्र नम्बर १ (क) बाट निर्वाचित सांसद हुन् । उनलाई यस पटक सत्ता गठबन्धनको साथ छ । पुरानै क्षेत्रमा उनीको मुख्य प्रतिस्पर्धा एमालेका खगराज अधिकारीसँग हुँदै छ । यसअघि कास्की १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित अधिकारीलाई एमालेले भावी मुख्यमन्त्रीका रुपमा अघि सारेको छ । उनी यसअघि संघीय सरकार गृह र स्वास्थ्य मन्त्री भइसकेका छन् । कास्की १ र प्रदेशसभा दुवैतिर उम्मेदवार सिफारिस भएका अधिकारी अन्ततः प्रदेश सभामा आएका हुन् । उनी एमाले संगठन विभाग प्रमुखसमेत छन् ।

गण्डकी प्रदेश सभामा मनाङबाट स्वतन्त्र उम्मेदवार राजीव गुरुङ उर्फ ‘दीपक मनाङे’ले दोहोरिएर उम्मेदवार दर्ता गरेका छन् । गण्डकीका युवा तथा खेलकुद मन्त्री गुरुङ मनाङ (ख) बाट यसअघि प्रदेश सभामा निर्वाचित भएका थिए । उनी यसपटक पनि स्वतन्त्र उम्मेदवारको रुपमा सोही क्षेत्रबाट उठेका छन् । उनलाई सत्ता गठबन्धनको साथ छ भने एमालेले पनि मनाङ (ख) मा उम्मेदवार उठाएको छैन । मुस्ताङ (क) बाट ०७४ सालमा निर्वाचित प्रदेश संसद ईन्द्रधारा विष्ट पनि फेरि सांसद बन्ने होडमा छन् । उनले मंसिर ४ को प्रदेश निर्वाचनमा दोहोरिन उम्मेदवारी दर्ता गरेका छन् ।

प्रदेश सभामा तनहुँ १ क र खबाट यसअघि निर्वाचित भएका सांसदहरु पुनः उम्मेदवारी दर्ता गरेका छन् । अघिल्लो चुनावमा तनहुँ १ (क) बाट रामबहादुर गुरुङ र (ख) बाट हरिबहादुर चुमान प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । उनीहरुले अहिले पनि सोही क्षेत्रबाट उम्मेदवारी दर्ता गरेका छन् । स्याङ्जा २ (क) का मोहन रेग्मीले पुनः उम्मेदवारी दर्ता गरेका हुन् । अघिल्लो निर्वाचनमा चुनिएका नवलपुर १ (ख) का रोशन गाहा थापा र २ (क) का विष्णुप्रसाद लामिछाने दुवै फेरि प्रदेश सांसद बन्न चाहेका छन् । उनीहरुले उम्मेदवारी दर्ता गरेका छन् ।

प्रतिनिधिसभामा ११ पुरानै अनुहार
प्रदेशसभा जस्तै गण्डकी प्रदेशबाट संघीय क्षेत्रमा पनि दोहोरिन चाहने धेरै छन् । लमजुङबाट यसअघि सांसद बनेका माओवादी महासचिव देव गुरुङले फेरि प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गरेका छन् । ०७४ सालमा बाम गठबन्धनबाट लोकप्रिय मत ल्याएर सांसद निर्वाचित उनी यसपटक जित निकाल्ने दाउमा छन् । उनका प्रतिस्पर्धी एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ छन् । एमालेका गुरुङ गण्डकी प्रदेशका संस्थापक मुख्ममन्त्री हुन् ।

कास्की २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा संसद बनेकी एमालेकी विद्या भट्टराईलाई एमालेले फेरि टिकट दिएको छ । उनले कास्की २ बाट उम्मेदवारी दर्ता गरेकी छन् । भट्टराईको प्रतिस्पर्धा नेकपा नेकपा (एकीकृत समाजवादी)का श्रीनाथ बरालसँग हुँदै छ । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका बराल नेकपा एस कास्की इन्चार्ज हुन् ।

०७४ को चुनावमा कांग्रेसका प्रभावशाली नेता गोपालमान श्रेष्ठलाई हराएकी पद्मा अर्याल अलिहे पनि चुनावी मैदानमा छिन् । त्यो बेला स्याङ्जा २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएर मन्त्रीसमेत बनेकी अर्यालको अहिले धनराज गुरुङसँग प्रतिस्पर्धा हुँदै छ ।

त्यस्तै, स्याङ्जा १ मा नारायण मरासिनी, नवलपुर १ मा डा. शशांक कोइराला र नवलपुर २ मा तिलबहादुर महत क्षेत्री, बागलुङ १ बाट डा. सूर्य पाठक, मुस्ताङबाट प्रेम तुलाचन, बागलुङ २ बाट देवेन्द्र पौडेल, मनाङमा पोल्देन छोपेन गुरुङ, पर्वतमा पदम गिरीले प्रतिनिधिसभामा फेरि उम्मेदवारी दर्ता गराएका छन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया