तनहुँमा भयावह बन्दै डेंगु

राष्ट्रिय समाचार समिति (रासस) २०७९ असोज २५ गते १२:२५

तनहुँ ।
तनहुँमा डेँङगुको सङ्क्रमण बढ्दै गएको छ । डेंगुका बिरामीको सङ्ख्या बढ्दै जाँदा सदरमुकामस्थित दमौली अस्पतालमा बिरामी राख्न शय्याको अभाव हुन थालेको छ । शनिबारमात्रै ११ जनामा डेँङगु पोजेटिभ देखिएको दमौली अस्पतालले जनाएको छ । अन्य दिनको तुलनामा यो बढी हो । हालसम्म एक सयको हाराहारीमा मानिस डेँङ्गु सङ्क्रमणबाट प्रभावित भएका छन् । उन्नाइस बिरामीको रगत प्रयोगशालामा परीक्षण गर्दा उनीहरुमा डेँङगु पोजेटिभ भेटिएको हो ।

१ बालकसहित १० जना अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् भने १ जना आफ्नै घरमा गएको दमौली अस्पतालका सघन उपचार कक्षका अहेब राजेश क्षेत्रीले जानकारी दिए । डेँङगुका बिरामी भर्ना भएसँगै अस्पतालमा अन्य रोगका बिरामीलाई भर्ना गर्न शय्याको अभाव देखिएको उनले बताए ।

अस्पतालमा उपचार आएका बिरामीमध्ये केही दिनयता दैनिक पाँच/सात जनामा डेँङ्गु पोजेटिभ देखिन थालेको बताइएको छ । अस्पतालमा दैनिक २ सयको हाराहारीमा स्वास्थ्य परीक्षणका लागि आउने बिरामीमध्ये १ सयदेखि १ सय ५० जनासम्म ज्वरोका बिरामी हुने गरेका छन् ।

Advertisement

उच्च ज्वरो आएका, जीउ दुख्ने र बान्ता गर्ने बिरामीको पहिलो चरणको एनएस–१ परीक्षण गर्दा डेँङगु भेटिएको हो । उनले भने, ‘आइडिजी र आइजिएम परीक्षणका लागि पोखरा पठाउनुपर्ने हुन्छ ।’ उक्त आइडिजी र आइजिएम परीक्षण गर्दा डेँङगुका बिरामीको अवस्था र कति दिनको भयो भन्नेबारे जानकारी पाउन सकिने उनले जानकारी दिए ।

१५ बेडको अस्पतालमा ४० शय्यासम्म राखेर सेवा दिँदा पनि शय्याको अभाव हुँदा अन्य प्रकृतिका बिरामीलाई भर्ना गरी राख्न कठिनाइ भएको छ । डेँङगुबाट बच्नको लागि टोल–टोलमा गएर अझै मानिसमा सचेतना फैलाउनुपर्ने अवस्था देखिएको सो अस्पतालले जनाएको छ ।

Advertisement

ज्वरो आएमा जथाभावी एन्टिबायटिक औषधी सेवन नगर्ने, सिटामल प्रयोग गर्ने, झोलिलो पदार्थ सेवन गर्ने र प्रशस्त मात्रमा पानी पिउने र आराम गर्न बिरामीलाई सुझाव सल्लाह दिइएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट अभिनन्दन तिवारीले जानकारी दिए । आफ्नो घरवरिपरी सफा राख्ने, लामखुट्टे न्यूनीकरण गर्ने, सुत्दा झुलको प्रयोग गर्ने, पानी जम्न नदिने लगायतका कुरामा ध्यान दिन उनले सुझाए ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया