गठबन्धनका बागी अझै कायमै

सञ्जय रानाभाट २०७९ असोज २७ गते १०:३०

पोखरा ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि कास्कीबाट उम्मेदवारी दर्ता गरेका १६ जनाको उम्मेदवारी फिर्ता भएको छ । जिल्लामा प्रदेशसभा र प्रतिनिधिसभामा ५५/५५ जनाको उम्मेदवारी परेको थियो ।
तीमध्ये १६ जनाको उम्मेदवारी फिर्ता भएको निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानले बताए ।

प्रदेशसभा तर्फका ९ र प्रतिनिधि सभातर्फ ७ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । राप्रपा नेपालका सबै उम्मेदवार पछि हटेका छन् । प्रतिनिधिसभातर्फ ३ वटै क्षेत्रमा उम्मेदवारी दिएको राप्रपा नेपालले एमाले उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको जनाएको छ ।

गण्डकीमा एमालेका बागीले आधिकारिक उम्मेदवारलाई समर्थन गरेका छन् भने गठबन्धनका धेरैजसो बागी टसकोमस भएनन्

Advertisement

राप्रपा नेपालले कास्की १ बाट महेन्द्र खत्री, क्षेत्र नम्बर २ बाट अजय विश्वकर्मा, क्षेत्र नम्बर ३ बाट राजाराम दाहाललाई उम्मेदवार बनाएको थियो । राप्रपा नेपालले प्रदेशसभाका उम्मेदवारको नाम पनि फिर्ता लिएको छ ।
कास्कीमा एमाले उम्मेदवार दामोदर पौडेल बैरागीविरुद्ध बागी दिएका जगन्नाथ बास्तोलाले समेत उम्मेदवारी फिर्ता लिएका छन् ।

एमालेले कास्की ३ बाट दामोदरलाई उम्मेदवार बनाएको छ । टिकट वितरणमा असन्तुष्टि जनाउँदै एमाले नेता बास्तोलाले मनोनयन दर्ता गरेका थिए । उनले बुधबार निर्वाचन कार्यालय पुगेर उम्मेदवारी फिर्ता गरेका हुन् । बास्तोलाले पौडेललाई जिताउने प्रतिबद्धता गरे ।

Advertisement

कास्की २ मा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार श्रीनाथ बराल विरुद्धको बागी फिर्ता भएन । सत्ता गठबन्धनको उम्मेदवारी विपरीत कांग्रेसका नेता महादेव गुरुङले उम्मेदवारी दिएका थिए । उनले जुनसुकै परिस्थितिमा पनि उम्मेदवार फिर्ता नलिने अडान लिएका छन् ।

क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका माओवादी केन्द्रका रामजीप्रसाद बरालविरुद्ध परेको बागी उम्मेदवार पनि कायमै रह्यो । बराल विरुद्ध उम्मेदवारी दिएकी अनिता भुर्तेलले उम्मेदवारी फिर्ता गरिनन् । गण्डकी प्रदेश सभा १ क मा भरतराज तिवारी र दीलमाया मुक्तान पहारीले उम्मेदवारी फिर्ता गरेका छन् । उनीहरु स्वतन्त्रबाट उम्मेदवार थिए ।

स्वतन्त्र उम्मेदवारी दिएका घननाथ सापकोटा र आनन्द सापकोटाले पनि अघि जान चाहेनन् । कास्की २ बाट महेन्द्र खत्रीको पनि उम्मेदवारी फिर्ता भएको छ । क्षेत्र नम्बर २ को ‘क’ बाट जसपाका ईश्वरकुमार गुरुङ, राप्रपा नेपालका दीपक विश्वकर्मा र स्वतन्त्र उम्मेदवारी दिएका सुन्दर बरालले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यमा उठेका यमकृष्ण पौडेल र जगनाथ बास्ताला पछि पछि हटेका छन् । ३ को प्रदेश कबाट जसपा नेपालका जगतबहादुर गुरुङ र स्वतन्त्रका लीलाधर ढकाल र चन्द्रबहादुर गुरुङले पनि उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालयले जनाएको छ । ३ को खबाट राप्रपा नेपालकी उम्मेदवार चिना दवाडी पनि चुनावी मैदानबाट पछि हटेकी छन् ।

स्याङ्जा २ मा नेकपा एमाले सचिव पद्माकुमारी अर्यालविरुद्ध बागी उम्मेदवार बनेका कपिलदेव न्यौपाने पछि हटेका छन् । स्याङ्जा २ को प्रतिनिधि सभामा एमाले परित्याग गरी न्यौपानेले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
म्याग्दीको प्रदेश कमा स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता गराएका नेपाली कांग्रेसका नेता नेत्रबहादुर महतले गठबन्धनका उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् ।

नेपाली कांग्रेस म्याग्दीका पूर्व सहसभापतिसमेत रहेका बेनपा १ रत्नेचौरका महत पुराना कांग्रेस नेता छन् । उनले अवसर नपाएको गुनासो गर्दै अघिल्लो चुनावमा पनि स्वतन्त्र मनोनयन दर्ता गरी पछि फिर्ता लिएका थिए ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया