उपल्लो डोल्पाबाट ६ को उद्धार

सुन्दरकुमार थकाली २०७९ असोज २७ गते ११:००

जोमसोम ।
प्रतिकूल मौसमका कारण उपल्लो डोल्पामा फसेका २ विदेशीसहित ६ जनाको बुधबार हेलिकोप्टरबाट उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा २ विदेशी र ४ नेपालीको कैलाश एअरको हेलीबाट उपल्लो डोल्पाको नेउलापासबाट उद्धार गरिएको हो ।

उपल्लो डोल्पाको याकखर्क र नेउपलापासको मध्यभागमा हावाहुरी र हिमपातका कारण बीच बाटोमै फसेका मलेसियन नागरिक जेराल्ड डानियल र सिंगापुरे नागरिक सुन्दर सिल्भराजसहित ६ जनाको उद्धार गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । सांग्री भोटे, देव भोटे, पदमबहादुर श्रेष्ठ र जीवन डांगीको पनि सकुशल उद्धार भएको छ ।

अध्यागमन विभागबाट उपल्लो डोल्पा घुम्ने स्वीकृति लिएर गएका उनीहरु सेप्टेम्बर २० देखि २९ तारिखसम्मका लागि गएका थिए । तर उपल्लो मुस्ताङ भ्रमण गर्ने क्रममा मौसम खराबीका कारण निर्धारित समयसीमाभित्रै उनीहरु निषेधित तथा नियन्त्रित क्षेत्रबाट बाहिर आउन सकेका थिएनन् । उनीहरु तोकिएको निर्धारित भ्रमण तालिका भन्दा १३ दिन बढी डोल्पामै फसेका थिए ।

Advertisement

उपल्लो मुस्ताङ र उपल्लो डोल्पा जाने विदेशी पर्यटकले प्रतिदिन ५० अमेरिकी डलर तिर्नुपर्छ । डोल्पाबाट उद्धार गरिएका मेलेसियन र सिंगापुरे २ पर्यटकले १३ दिनको थप शुल्क बुझाएको एक्याप जोमसोमले जनाएको छ ।

उद्धार गरिएका २ विदेशीको अवस्था सामान्य छ । उनीहरुलाई लामो समयदेखि चिसो स्थानमा रहँदा हाईअल्टिच्युड लागेको पाइएको छ । काठमाडौंबाट उडेको कैलाश एअरको हेलीले डोल्पामा उद्धार गरेपछि जोमसोमको एक्याप चेक पोस्टमा उनीहरुको विस्तृत विवरण लिएको थियो ।

Advertisement

दसैंअगावै धौलागिरी आधार शिविरतर्फ विदेशी पर्यटकको भारी बोकेर गएका ९ जना सहयोगीको पनि उद्धार गरिएको छ । मंगलबार ४ खच्चड लिएर गएका नेपाली सहयोगीको उद्धर गरिएको थियो भने बुधबार थप ५ जनाको उद्धार भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रतिकूल मौसमका कारण धौलागिरी क्षेत्रमा उनीहरुले लगेका ४५ घोडा/खच्चड बेपत्ता छन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया