नवौं राष्ट्रिय खेलकुद

विवाद र अभावबीच खेल उत्सव

रिखिराम जिसी २०७९ असोज २८ गते १०:२३

रिखिराम जिसी
पोखरा ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन शुक्रबार हुँदै छ । प्रतियोगिताको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुनले शुक्रबार गर्ने तालिका छ । प्रतियोगिताका सुरुआतअघि नै केही खेल सुरु भइसकेका छन् ।

३९ वर्षपछि गण्डकी प्रदेशमा भएको प्रतियोगिता सुरुआतमै विवादरहित बन्न सकेन । प्रतियोगिता अन्तर्गत बिहीबारलाई तय भएका ३ खेल समयमै सुरु हुन सकेनन् । जसका कारण थिएः विवाद, आवश्यक खेलकुद सामग्री नपाउनु, मैदान तयार नहुनु ।

३९ वर्षपछि भइरहेको खेल महोत्सव कतै मैदान नबन्दा प्रभावित भयो भने कतै खेलाडीसँग मागेर विजेतालाई पदक दिएर फोटो खिचाइयो ।

Advertisement

नवौं खेलकुद अन्तर्गत फुल कन्ट्याक्ट कराँतेका खेलहरु बिहीबार बिहानबाट सुरु हुने तालिका थियो । बिहीबार बिहान ११ बजे खेल सुरु हुने तालिका रहे पनि साँझ ६ बजेपछि मात्रै खेल उद्घाटन भयो । नेपाल फुल कन्ट्याक्ट कराँते महासंघले प्रतियोगिता आयोजनाको जिम्मा पाउनुपर्ने माग गर्दै प्रतियोगिता बहिष्कार गरेको छ ।

महासंघलाई बाइपास गरी अन्य कमिटी बनाई प्रतियोगिता सञ्चालन गर्न लागेको महासंघको आरोप छ । ‘राखेपले फुल कन्ट्याक्ट कराँते महासंघलाई नदिएर बाहिर व्यक्तिगत रुपमा दिएको छ । संघलाई वेवास्ता गरियो,’ महासंघका अध्यक्ष शालिकराम कुँवरले भने, ‘हामीले फिल्ड छोडेका छौँ, हाम्रा असन्तुष्टि राखिसकेका छौँ, राखेपले समन्वय गरेन ।’

Advertisement

फुटबल पनि विवादका कारण ढिलो गरी खेल सुरु भयो । टिम एनआरएनएले नेपाली राष्ट्रिय टिमका खेलाडी राखेको विषयमा विवाद भयो । विपक्षी टिमले यो विषयमा विरोध जनाएपछि केही समय खेल रोकिएको थियो । विवादकै बीच खेल भयो । खेलमा एनआरएनएले बागमती प्रदेशलाई पराजित ग¥यो । अझै विवाद सुल्झिएको छैन ।

बिहीबार बिहानैबाट सुरु हुने भनिएको हक्की मैदान तयार नहुँदा ६ घन्टापछि बल्ल सुरु भयो । खेलाडी समयमै मैदानमा पुगे पनि ६ घन्टा ढिलाइ भयो । खेल सुरु भएपछि पनि खेलाडीले पुग्ने गरी पोशाक पाएनन् । खेलका लागि आवश्यक सामग्री र खेलाडीले पोशाकसमेत पाउन सकेनन् । खेलाडी पुग्दा मैदानमा सामान्य मार्किङसमेत भएको थिएन ।

नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खड्काले व्यवस्थापन समितिको कमजोरीका कारण मैदान तयारीमा ढिलाइ भएको प्रष्ट टिप्पणी गरे । उनले मैदान पूर्ण मर्मत नहुँदा खेलाडी घाइते हुने जोखिम धेरै रहेको जनाए ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले मैदानको काम सकिएको भए पनि थप राम्रो बनाउँन लाग्दा खेल केही समय ढिलो सुरु भएको जिकिर गरे ।

‘हिजै(बुधबार) काटिसकेर एक लेभलको काम भइसकेको हो तर हक्कीका प्राविधिकले यसलाई थप गर्नुपर्छ भनेपछि थप राम्रो गराऔं भन्ने हिसाबले ढिला भएको हो,’ उनले भने । रंगशालास्थित ब्याडमिन्टन हलमा जारी फेन्सिङ प्रतियोगिताका बुधबार साँझ भएका खेलका विजेतालाई दिउँसो विजेता भएका खेलाडीसँग मागेर खेलकुदमन्त्री महेश्वरजंग गहतराजले पदक लगाइदिए । विजेतालाई दिन पदक नपुगेपछि दिउँसोका विजेतासँग फिर्ता मागेर पदक दिइएको थियो ।

खेलाडीसँग फोटो सेसनपछि फिर्ता गर्ने शर्तमा पदक मागिएको थियो । आफूहरुलाई दिइएको मेडल अपुग भएको र थप मेडलका लागि पर्खिराखेका बेला अचानक मन्त्री आएपछि खेलाडीसँगै माग्नु गरेको नेपाल फेन्सिङ महासंघका महासचिव सुजनलाल श्रेष्ठले स्वीकारे ।

यसअघि पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा भइरहेको ह्यान्डबल प्रतियोगितामा पनि सुदूरपश्चिम प्रदेशका ह्यान्डबल टोलीको जर्सी विपक्षीसँग मिलेपछि ‘बिब’ लगाएर खेल्नु परेको थियो । त्यसमाथि जर्सीमा अंक उल्लेख नहुँदा मार्करले नम्बर लेखेर खेलाडी मैदानमा उत्रिएका थिए ।

निर्देशिका अनुसार भएका विवाद निर्देशिका अनुसार नै सम्बोधन गरिएको राष्ट्रिय खेलकुद परिषद सदस्य सचिव घिसिङको स्पष्टिोक्ति छ । ‘विवाद आए त्यो विवादलाई समाधान गर्नका लागि निर्देशिकामा नीतिगत व्यवस्था छ । त्यस अनुसार सम्बन्धितसँग छलफल हुन्छ । निर्देशिका अनुसार आएका विवादलाई निर्देशिका अनुसार सम्बोधन हुन्छ,’ उनले भने, ‘निर्देशिकाभन्दा फरक ढंगले कतिपय मानिसले उठाउने इस्यु जसलाई इस्युका रुपमा लिनुपर्ने नै छैन भने कुनै व्यक्ति वा समूहले राख्ने कुराले के ठूलो प्रभाव पर्छ ?’

४ स्वर्णसहित बागमती शीर्ष स्थानमा
प्रतियोगितामा ४ स्वर्णसहित बागमती प्रदेश शीर्ष स्थानमा छ । बागमतीले १ रजतसमेत जितेको छ । आर्मीले ३ स्वर्ण, ३ रजत र ६ कास्य र एपिएफ क्लब १ स्वर्ण, ३ रजत र ६ काश्य जित्न सफल भएका छन् ।
सुदूरपश्चिम प्रदेश १ स्वर्ण, ३ काश्य, नेपाल पुलिस १ स्वर्ण, प्रदेश १ ३ काश्य र गण्डकी प्रदेश १ काश्य जित्न सफल भएका छन् । प्रतियोगितामा ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदै छन् । जसमा ६ हजार १ सय ५६ खेलाडी सहभागी छन् ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया