मौसम सुध्रिएपछि मुस्ताङमा पर्यटकको चाप

सुन्दरकुमार थकाली २०७९ असोज २८ गते १०:४६

जोमसोम ।
बर्खायाम समाप्तिसँगै हिउँद यामको सुरुआत हुँदै छ । यो समय मुस्ताङ भ्रमण गर्ने उपयुक्त र अनुकूल समय हो । असोज/कात्तिक महिनामा उल्लेख्य आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ आउँछन् । यो समय मुस्ताङको तापक्रम सन्तुलित रहन्छ ।

बर्सेनि दसैं तथा तिहार, छठ पर्व लगायतको सेरोफेरोमा सयौं आन्तरिक पर्यटकको चाप मुस्ताङलाई थेग्नै मुश्किल पर्ने गथ्र्यो । विदेशीले पनि यही याम रोज्थे । कोरोना कहरका कारण ३ वर्षसम्म प्रभावित बनेको मुस्ताङको पर्यटन कोभिडपछि लयमा फर्किदै थियो ।

मुस्ताङमा अहिले लटरम्म स्याउ फलेका छन् । मुक्तिनाथ, कोरला, ढुम्बाताल, कागबेनी, यारुझो भ्युटावर, स्नोलियोपार्ट मुख्य गन्तव्य हुन्

Advertisement

पर्यटन व्यवसायीमा आशाको सञ्चार हुँदै थियो । आन्तरिक तथा बाह्य पर्यटकको चहल विस्तारै बढ्दै थियो । तर, यस वर्षको दसैं अघिको अविरल वर्षाले पर्यटन व्यवसायीको आशा र अपेक्षालाई निराशामा परिणत गरिदियो ।
अविरलको वर्षाले राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकका ठाउँ ठाउँमा बाढी, पहिरो र नदी कटानले अवरुद्ध बन्यो । सडक मार्ग हुँदै आउने योजना बनाएका पर्यटक पूर्ण रुपमा प्रभावित बने ।

दसैंअघिको मौसमी प्रतिकूलताका कारण पोखरा –जोमसो हवाई मार्ग साताभरी ठप्पै बन्यो । पर्यटक मुस्ताङ आउन नसक्दा र जिल्लामा भएका कर्मचारी र सुरक्षाकर्मी पनि दसैं मनाउन बिदामा घर जाँदा मुस्ताङ सुनसान भयो ।

Advertisement

वर्षा मंगलबारदेखि रोकियो । मौसममा क्रमिक रुपले सुधार हुँदै गर्दा पोखरा–जोमसोम हवाइ सेवा र बेनी–जोमसोम सडक सञ्चालनमा आएका छन् । फेरि मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । जोमसोम नागरिक उड्यन कार्यालयका प्रमुख हिरोण शाहले मंगलबारदेखि पोखरा–जोमसोम हवाइ सेवा नियमित भएको जानकारी दिए । उनले मौसम प्रतिकूलताका कारण एक हप्ताभन्दा बढी मुस्ताङको हवाई सेवा प्रभावित जनाए ।

मुस्ताङमा बिहीबार तारा र समिट एअरले ११ उडान भरेका छन् । मंगलबार समिटले ५ वटा उडान भरेको थियो भने बुधबार समिट र तारा एअरले समान ५ वटा उडान भरेको जोमसोम नागरिक उड्यन कार्यालयले जनाएको छ ।

सडक मार्ग सहज हुँदा मुस्ताङमा दैनिक ५ सयभन्दा बढी भारतीय र तेस्रो मुलुकका पर्यटक आउने गरेको जोमसोम स्थित एक्याप चेकपोस्टले उल्लेख गरेको छ । दसैं पर्वको समयमा विदेशमा बस्ने नेपाली घर फर्किन्छन् । पर्वमा सरकारी तथा गैरसरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र वैदेशिक रोजगारमा गएका नेपाली घर फर्किन्छन् ।

लामो बिदामा नेपाली घुमफिर गर्ने महत्वपूर्ण गन्तव्य हो मुस्ताङ । तर, वर्षाले सडक तथा हवाई मार्ग हुँदै आउन नसकेका नेपाली पर्यटक पनि अहिले धमाधम मुस्ताङ आउन थालेका छन् । चितवनबाट १६ विदेशी र ८ नेपालीसहित मोटरसाइकल चढेर मुस्ताङ भ्रमण गर्न आएका पर्यटक रमेश श्रेष्ठले दसैको बिदामा ढिलै भए पनि मुस्ताङ भ्रमण गर्ने अवसर प्राप्त भएको बताए । उनले दसैंलगत्तै मुस्ताङ आउने योजना भए पनि वर्षाले पर सार्नुपरेको सुनाए ।

कोरोना कहरअघि दसैं तथा तिहार पर्वमा पर्यटकले मुस्ताङ थेगिनसक्नु हुन्थ्यो । यहाँका साना ठूला होटल भरिभराउ हुन्थे । धर्मशाला र पाटी पौवा पर्यटकले भरिन्थे । जोमसोमकी होटल व्यवसायी मोहनकुमारी शेरचनले वर्षाले मुस्ताङको पर्यटनलाई ठूलो क्षति पुर्‍याएको उल्लेख गरिन् ।

बर्सेनि हिमाली जिल्ला मुस्ताङका स्याउ बगानमा यो समय लटरम्म स्याउ फलेका हुन्छन् । यहाँका स्याउबारी र खेतमा फापर फुलेका हुन्छन् । यहाँको भौगालिक तथा प्राकृतिक दृष्य अवलोकनका साथै मुक्तिनाथ दर्शन, कोरलानाका, ढुम्बाताल, कागबेनी, यारुझो भ्युटावर, स्नोलियोपार्ट र जोमसोम बजार पर्यटकका मुख्य गन्तव्य हुन् ।

कोभिडअघि बर्सेनि ६० हजार विदेशीले मुस्ताङ भ्रमण गर्ने गरेका थिए । गत वर्ष ३८ हजार विदेशी मुस्ताङ आएका थिए । मुस्ताङमा बर्सेनि ५ लाखभन्दा बढी बिदेशी पर्यटक आउने गरेको रेकर्ड छ । मुस्ताङ घुम्ने उपयुक्त समय वैशाखदेखि जेठसम्म र असोजदेखि मंसिरसम्म मानिन्छ । हिउँद याममा अत्यधिक चिसो र हिमापातका कारण यहाँका पर्यटक कमैमात्र पुग्छन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया