नवौं राष्ट्रिय खेलकुद: स्क्वास भोलिदेखि

समाधान संवाददाता २०७९ असोज २८ गते १४:०९

पोखरा ।
नवौं राष्ट्रिय खेलकुद अन्र्तगत स्क्वास प्रतियोगिता भोलि (शनिबार) देखि सुरु हुने भएको छ । पोखरा रंगशालास्थित एसआरए स्क्वास कोर्टमा भोलिदेखि स्क्वास प्रतियोगिता सुरु हुने नेपाल स्क्वास रर्याकेट्स एशोसिएसनका सदस्य तथा स्क्वास संयोजक लोकेन्द्रमान सिंह भण्डारीले जानकारी दिए । उनका अनुसार वागमतिकी विपना ब्लोन र सोही प्रदेशकै स्वस्थानी श्रेष्ठबीच पूर्वाह्न ९ बजे उद्घाटन खेल हुनेछ ।

प्रतियोगितामा २ विभागीय र ५ प्रदेश गरी कुल ७ टोलीको सहभागिता रहेको भण्डारीले जानकारी दिए । उनका अनुसार महिलातर्फ वागमति प्रदेश, गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लवको सहभागिता छ ।

पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लव, प्रदेश नम्बर १, मधेस प्रदेश, वागमति प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको सहभागिता छ ।

Advertisement

महिलातर्फ खुला (ओपन) प्रतियोगिता र पुरुषतर्फ खुला तथा टिम इभेण्टमा प्रतिस्पर्धा हुने उनले बताए । ‘महिलातर्फ कम सहभागिता भएकाले ओपन इभेन्टमात्रै हुन्छ, उनले भने, ‘पुरुषतर्फ भने ओपन र टिम दुवै इभेन्टमै प्रतिस्पर्धा हुनेछ ।’

भण्डारीका अनुसार आगामी ३ गतेसम्म सञ्चालन हुने स्क्वास प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । ‘स्क्वासको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकराज घिसिङले गर्ने जनाइएको छ ।

Advertisement

स्क्वास प्रतियोगिता संयोजक भण्डारीका अनुसार यसअघि सम्पन्न आठौं संस्करणको राष्ट्रिय खेलकुदमा पुरुषतर्फ गण्डकीका अमृत थापामगर र महिलातर्फ सोही प्रदशकै कृष्णा थापामगरले स्वर्ण पदक जितेकी थिइन् । स्वर्ण पदकधारीद्वय थापामगर दिदीभाइ हुन् ।

तपाईको प्रतिक्रिया