नवौं राष्ट्रिय खेलकुद

तोडियो २३ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान

रिखिराम जिसी २०७९ असोज ३० गते १०:३०

रिखिराम जिसी
पोखरा ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सका खेल शनिबारबाट आरम्भ भएका छन् । पहिलो दिन एथलेटिक्सका ७ इभेन्ट सकिए । त्यसबीचमा सुरुवाती हिट चरणमै लुम्बिनीकी निशा चौधरीले महिला १ सय मिटर दौडमा शनिबार नयाँ कीर्तिमान बनाइन् ।

हिट चरणमा लुम्बिनीकी चौधरीले १ सय मिटर दौड १२.१५ सेकेन्डमा पार गर्दै २३ वर्ष अघिको राष्ट्रिय कीर्तिमान तोडेकी हुन् । देवीमाया पनेरुको नाममा रहेको कीर्तिमान निशाले तोडेकी हुन् ।सन् १९९९ मा भएको दक्षिण एसियाली खेलकुदमा देवीमायाले १२.१९ सेकेन्डमा १ सय मिटर दौड पूरा गरेकी थिइन् ।

तर त्यसको २ घन्टामै निशाको रेकर्ड तोड्दै त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरीले नयाँ कीर्तिमान आफ्नो नाममा दर्ता गराइन् । उनले १ सय मिटर दौड १२.१३ सेकेन्डमा पूरा गरिन् । हिट चरणमा कीर्तिमान बनाएकी निशा भने फाइनल राउन्डमा १२.२२ सेकेन्डको समय निकाल्दै सरस्वतीसँग पराजित भइन् ।

Advertisement

स्वर्ण पदक जित्नेमा ढुक्क भए पनि रेकर्डबारे नसोचेको कीर्तिमानी सरस्वतीले बताइन् । ‘आजको प्रतिस्पर्धामा स्वर्ण जित्नेमा भने उनी ढुक्क थिइनँ । रेकर्डबारे नसोचे पनि स्वर्ण जित्नेमा भने आत्मविश्वासी थिएँ,’ उनले भनिन् ।
आजै कीर्तिमान बन्छ जस्तो नलागेको सरस्वतीले सुनाइन् । ‘यसका लागि निकै मेहनेत गरेको थिएँ । मेरो लक्ष्य राष्ट्रिय रेकर्ड बनाउने थियो तर आजै कीर्तिमान बन्छ जस्तो लागेको भने थिएन,’ सरस्वतीले सुनाइन् ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथलेटिक्सका ७ इभेन्ट भएका छन् । शनिबारबाट सुरु भएको एथलेटिक्सका महिला पुरुष १५ सय मिटर दौड, १० हजार महिला दौड, महिला पुरुष १ सय मिटर दौड, महिला पुरुष सटपुटका इभेन्ट सकिएका छन् ।

Advertisement

७ इभेन्टमा त्रिभुवन आर्मी क्लबका खेलाडीको वर्चश्व छ । पहिलो दिन आर्मी सर्वाधिक ३ स्वर्णसहित ३ रजत र ३ कास्य गरी कुल ९ पदक जित्न सफल भयो । एपिएफले २ स्वर्ण, १ रजत र १ कास्य गरी ४ पदक, नेपाल पुलिस क्लबले १ स्वर्ण १ रजत र २ कास्य गरी ४ पदक नै जित्यो । बागमती प्रदेशले १ स्वर्ण र १ कास्य तथा लुम्बिनी प्रदेशले २ रजत जित्यो ।

पोखरा रंगशालामा शनिबार भएको १ हजार ५ सय मिटर दौडमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका मुकेश पाल र महिलातर्फ सशस्त्र प्रहरी बल (एपिएफ) क्लबकी फूलमति रानाले स्वर्ण पदक जिते । आर्मीका मुकेशले ३ मिनेट ५२.२१ सेकेन्डमा निर्धारित दूरी पार गरेका हुन् । एपिएफका अजित यादव र नागेश्वर अहिरले कास्य र रजत पदक प्राप्त गरे । अजितले ३ मिनेट ५३.११ सेकेन्ड र नागेश्वरले ३ मिनेट ५६.५ सेकेन्डमा दूरी पार गरे ।

महिलातर्फ एपिएफकी फूलमतीले त्रिभुवन आर्मी क्लबकी सरस्वती भट्टराईलाई पछि पार्दै स्वर्ण जितेकी हुन् । उनले ४ मिनेट ३८.१९ सेकेन्ड पूरा गरेकी हुन् । रजत पदक जितेकी सरस्वतीले ४ मिनेट ४१.८० सेकेन्ड र आर्मीकी रेखा लिम्बूले ५ मिनेट ०३.८० सेकेन्डमा दूरी पार गर्दै कास्य पदक हात पारे ।

सटपुटमा पुरुषतर्फ आर्मीका तिलक विक र महिलातर्फ आर्मीकै चन्द्रकला लामगादेले स्वर्ण जिते । तिलकले सोही क्लबका चित्रबहादुर वलीलाई पराजित गर्दै स्वर्ण जितेका हुन् । वलीले रजत पदक जित्दा वाग्मती प्रदेशका ललित रावतले कास्य पदक जिते ।

१ सय मिटर दौडको पुरुषतर्फ एपिएफका शिवराज पार्की र महिलातर्फ आर्मीका सरस्वती चौधरीले स्वर्ण पदक जिते । शिवराजले आर्मीका युवराज विकलाई हराउँदै स्वर्ण जितेका हुन् । युवराजले रजत पदक जित्दा आर्मीका डिल्ली भण्डारीले कास्य पदक जिते ।

महिलातर्फ स्वर्ण विजेता त्रिभुवन आर्मी क्लबकी सरस्वतीले लुम्बिनी प्रदेशकी निशा चौधरीलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । उनले निर्धारित दूरी १२.१३ सेकेन्डमा पूरा गरिन् । सरस्वतीले स्वर्ण पदकसहित राष्ट्रिय कीर्तिमान समेत कायम गरेकी छन् । उनले हिट चरणमा निशा चौधरीको नाममा रहेको रेकर्ड ब्रेक गर्दै नयाँ कीर्तिमान कायम गरेकी हुन् । निशाले हिट चरणमा १२.१५ सेकेन्ड समय लगाएकी थिइन् । आर्मीकी रमिता थारुले कास्य जितिन् । रमिताले निर्धारित दूरी १२.९३ सेकेन्ड पार गरिन् ।

बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले जारे महिला १० हजार मिटर दौड स्वर्ण पदक जितेकी छन् । उनले ३६ मिनेट १९.३६ सेकेण्डमा दुरी पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् । पोखरा रंगशालामा शनिबार भएको खेलमा विभागीय टोली पुलिस क्लबकी राजपुरा पछाइलाई पछि पार्दै सन्तोषीले स्वर्ण जितिइन् । राजपुरीले निर्धारित दूरी ३६ मिनेट २२.४५ सेकेन्डमा पूरा गरेकी हुन् ।

सन्तोषी १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता खेलाडी हुन् । एपिएफकी पुष्पा भण्डारीले ३७ मिनेट ४.०९ सेकेण्डमा निर्धारित दूरी पूरा गरी तेस्रो स्थानमा रहिन् ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया