पुरुष फुटबलमा गण्डकीको जित

समाधान संवाददाता २०७९ असोज ३० गते ११:२२

पोखरा ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबल तर्फ गण्डकी प्रदेशले पहिलो जित हासिल गरेको छ । पोखरा रंगशाला स्थित फुटबल मैदानमा भएको खेलमा प्रदेश नं.१ लाई २–० गोल अन्तरले हराउँदै गण्डकीले विजयी सुरुवात गरेको हो ।

समूह एतर्फ भएको खेलमा गण्डकीले दुवै गोल पहिलो हाफमा गरेको हो । गण्डकीको जितमा कमल थापा र जया गुरुङले गोल गरे । निकै आक्रमक खेल पस्किएको गण्डकीले खेल सुरु भएको तेस्रो मिनेटमै गोल गरेको हो ।

जया गुरुङले उत्कृष्ट गोल गर्दै गण्डकीलाई अग्रता १–० को अग्रता दिलाए । २७ औं मिनेटमा कमलले गरेको शक्तिशाली प्रहारले सिधैँ जाली चुम्यो । पहिलो हाफ २–० ले पछि परेको प्रदेश नं.१ ले सुधारिएको खेल देखाए पनि स्ट्राइक लाइनमा कमजोर हुँदा खेलमा फर्किन सकेन ।

Advertisement

महिला फुटबलमा ३ खेल
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शनिबार वालिङमा भएको महिला फुटबल प्रतियोगितामा ३ खेल भएका छन् । शनिबार भएको पहिलो खेलमा एपिएफ फुटबल क्लब विजयी भएको छ । एपिएफ क्लबले कर्णाली प्रदेशलाई १६–० फराकिलो गोल अन्तरले पराजित गर्र्दै जित दर्ता गरेकोे हो ।

खेलको ५ औं मिनेटमा एपिएफकी सावित्रा भण्डारीले पहिलो गोल गर्दै आफ्नो टिमलाई अगाडि बढाएकी थिइन् । लगत्तै खेलको ९ औँ मिनेटमा एपिएफकी अनिता केसीले दोस्रो गोल गरिन् । खेलको १३ औँ मिनेटमा सावित्रा भण्डारीले व्यक्तिगत दोस्रो गोल गरिन् भने १८ औँ मिनेटमा हिराकुमारी भुजेलले दिएको असिष्टलाई अवसरमा बदल्दै तेस्रो गोल गरेर ह्याट्रिक पूरा गरिन् ।

Advertisement

यस्तै खेलको १९ औँ मिनेटमा सरु लिम्बुले पाँचौ गोल गरिन् भने २१ औँ मिनेटमा प्रिती राईले छैँटौँ गोल गरिन् । २७ औँ मिनेटमा पुनः अनिता केसीले सातौँ गोल गरिन् । खेलको ३६ औँ मिनेटमा सरु लिम्बुले व्यक्तिगत दोस्रो र समूहका लागि आठौँ गोल गरिन् । खेलको ४५ औँ मिनेटमा सावित्रा भण्डारीले नवौँ गोल गरिन् भने पहिलो हाफ अन्तर्गत थप गरिएको ३ मिनेट समय भित्र सविता राना मगरले १० औँ गोल गरिन् ।

४८ औँ मिनेटमा सरु लिम्बुले व्यक्तिगत तेस्रो तथा समूहका लागि ११ औँ गोल गरेर ह्याट्रिक पूरा गरिन् । खेलको ५२ औँ मिनेटमा सावित्रा भण्डारीले १२ औँ गोल गरिन् भने ६१ औँ मिनेटमा मनमाया लिम्बुले पेनाल्टीमार्फत १३ औँ गोल गरिन् ।

७१ औँ मिनेटमा गीता रानाले १४ औँ गोल र ८३ औँ र ८६ औँ मिनेटमा रविना गोलेले १५ औँ र १६ औँ गोल गरिन् । शनिबार भएको दोस्रो खेलमा प्रदेश नम्बर १ विजयी भएको छ । प्रदेश नम्बर १ ले गण्डकी प्रदेशलाई २–१ गोल अन्तरले पराजित गर्र्दै जित हात पारेकोे हो । खेलको ३६ औँ मिनेटमा प्रदेश १ की अन्जना थुलुङ राईले पहिलो गोल गदैँ आफ्नो टिमलाई अगाडि बढाएकी थिइन् ।

खेलको दोस्रो हाफको ६३ औँ मिनेटमा प्रदेश १ की नै अनिता गुरुङले आफ्नो टिममा १ गोल थपी दुई अंक बनाउन सफल भएकी थिइन् । खेलको उत्तराद्र्धको ८१ औँ मिनेटमा गण्डकी प्रदेशकी शान्ति नेपालीले १ गोल गरेर आफ्नो समूहको खाता खोल्न सफल बनिन् । खेलको १९ औँ मिनेटमा गण्डकीकी सरिस्मा थापाले पहेलो कार्ड पाएकी पाइन् ।

शनिबार भएको तेस्रो खेलमा वाग्मती प्रदेशले लुम्बिनी प्रदेशलाई ७–० गोल अन्तरले पराजित गर्दै जित निकालेको छ । २५ औं मिनेटमा बाग्मतीकी सुजिता लामाले पहिलो गोल गर्दै विजयको यात्रा अगाडि बढाएकी हुन् । लगत्तै लुम्बिनीकी आकृति वलीले आत्मघाती गोल गर्दा पुन वाग्मतीलाई दोस्रो गोल हातपरेको थियो ।

खेलको २९ औँ मिनेटमा पूजा लामाले १ गोल थपिन् । खेलको ३७ औँ मिनेटमा मनिसा थापामगरले समूहका लागि चौथो गोल गरिन् भने ३८ औँ मिनेटमा पूजा लामाले पाँचौ गोल थपिन् । ७६ औँ मिनेटमा कुमारी तामाङले छैँटौ गोल गरिन् भने ८१ औं मिनेटमा सुजता लामाले सातौँ गरिन् ।

तपाईको प्रतिक्रिया