मुस्ताङमा ‘चन थकाली’ बीच प्रतिस्पर्धा

सुन्दरकुमार थकाली २०७९ कार्तिक ३ गते ११:२२

जोमसोम ।
१ प्रतिनिधि र २ प्रदेशसभा रहेको मुस्ताङमा यस पटक पनि नेपाली कांग्रेससहितको गठबन्धन र नेकपा(एमाले)बीच नै मुख्य प्रतिस्पर्धा हुँदै छ । आसन्न निर्वाचनमा एमाले र कांग्रेसका चन थकालीबीच नै मुख्य प्रतिस्पर्धा हुने भएको छ ।

प्रतिनिधिसभातर्फ गठबन्धनबाट योगेश गौचन थकाली र एमालेबाट प्रेमप्रसाद तुलाचन मैदानमा छन् । प्रदेश २ मा गठबन्धनबाट विकल शेरचन र एमालेबाट चन्द्रमोहन गौचनबीच मुख्य प्रतिस्पर्धा हुँदै छ । प्रदेश १ मा एमालेबाट ईन्द्रधारा बिष्ट र कांग्रेस गठबन्धनबाट नम्डु गुरुङ आमनेसामने हुँदै छन् ।

२०७४ को प्रतिनिधि र प्रदेशसभा सदस्य जितेको एमाले यस पटक पनि परिणाम दोहोर्‍याउने योजनाका साथ अघि बढेको छ । सत्ता गठबन्धन पनि ३ वटै सिट आफ्नो पक्षमा पार्ने तयारीमा छ ।

Advertisement

२०७० सम्म मुस्ताङमा नेपाली कांग्रेस निकै शक्तिशाली मानिन्थ्यो । संघीयताअघि नेपाली कांग्रेसका रोमी गौचन थकालीले २०५६ साल र २०७० सालको प्रतिनिधि सभा निर्वाचन जितेका थिए ।

कांग्रेसको जिल्ला तहमा आन्तरिक विवाद रहँदा नेपाली कांग्रेस केही कमजोर देखिन पुग्यो । पार्टीका प्रवुद्ध कार्यकर्ता तथा नेता एमालेमा प्रवेश गरेसँगै नेपाली कांग्रेसले २०७४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पराजय भोग्न बाध्य भयो भने यसको फाइदा एमालेले लियो ।

Advertisement

२०७४ मा कांग्रेस छोडेर एमालेमा प्रवेश गरेका प्रेमप्रसाद तुलाचनलाई २०७४ को प्रतिनिधिसभा निर्वाचनमा टिकट दिएको थियो । प्रदेशतर्फ ईन्द्रधारा बिष्ट र महेन्द्रबहादुर थकाली दुबैले टिकट पाएका थिए । टिकट पाएका सबैले त्यस बेला जिते पनि । यस पटक एमालले पूर्व प्रदेश सदस्य महेन्द्रबहादुर थकालीलाई प्रतिनिधि सभाको समानुपातिक सूचीमा राखेर पुराना २ अनुहारलाई प्रतिनिधि र प्रदेशमा दोहोर्‍यायो । पार्टी जिल्ला इन्चार्ज चन्द्रमोहन गौचन प्रदेश २ मा उम्मेदवार बनेका छन् ।

कांग्रेसबाट २०७० सालमा प्रतिनिधि सभा निर्वाचन जितेर मन्त्री बनेका रोमी गौचन थकाली २०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमाले उम्मेदवार तुलाचनसँग ४ सय ८५ मतले पराजित भएका थिए । यसपटक भने कांग्रेसबाट रोमीका छोरा उम्मेदवार छन् । एमालेबाट उम्मेदवार बनेका तुलाचन र सत्ता गठबन्धनबाट उम्मेदवार बनेका योगेश गौचन नाताले साला भेना हुन् ।

दुबै उम्मेदवारको घर मुस्ताङको थासाङ गाउँपालिका ३ लेतेमा पर्छ । यो चुनावमा मुस्ताङमा ४ राजनीतिक पार्टीका ९ उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् । राप्रपा नेपाल र रास्वपाले पनि चुनावी मैदानमा भाग लिएका छन् ।

प्रदेश १ तर्फ एमालेका ईन्द्रधारा बिष्ट, सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका नम्डु गुरुङबीच प्रतिस्पर्धा हुनेछ । प्रदेश २ मा एमालेका चन्द्रमोहन गौचन, सत्ता गठबन्धन कांग्रेसबाट विकल शेरचन र राप्रपा नेपालबाट एक्ली महिला उम्मेदवार कर्मा डोल्कर गुरुङबीच त्रिकोणात्मक प्रतिस्पर्धा हुनेछ ।

मुस्ताङ जिल्ला प्रदेश १ निर्वाचनमा कांग्रेसका मिक्युर गुरुङले ६ सय ५७ मत पाउँदा एमालेका ईन्द्रधारा बिष्टले १ हजार १ सय ६७ मत प्राप्त गरी विजयी भएका थिए । प्रदेश २ तर्फ कांग्रेसका छिरिङधावा गुरुङले २ हजार २ सय ५९ मत पाउँदा एमालेका महेन्द्रबहादुर थकालीले २ हजार ५ सय ८४ मत ल्याएर विजयी भएका थिए ।

गत स्थानीय निर्वाचन अन्तर्गत मुस्ताङका ५ वटै स्थानीय तहमा १० हजार ४ सय ८५ मतदाता थिए । एमालेले ४ अध्यक्ष र ३ उपाध्यक्ष जितेको थियो । कांग्रेसले एक अध्यक्षसहित दुई उपाध्यक्ष जितेको थियो । एमालेले ५ वटै पालिकामा गरी ४ हजार १ सय २६ मत प्राप्त गरेको थियो भने सत्ता गठबन्धन कांग्रेसले ३ हजार ९१ मत पाएको थियो ।

अध्यक्षतर्फको मतभारमा एमाले कांग्रेस गठबन्धन भन्दा १ हजार ३५ मतले बढी थियो । यस्तै ५ वटै तहको उपाध्यक्ष मतभारमा पनि एमाले ४ सय ८४ मतले बढी थियो ।
प्रादेशिक मतभार अन्तर्गत उपाध्यक्षको मतभारमा कांग्रेस गठबन्धन प्रदेश २ मा एमालेभन्दा ३५ मतले अघि देखिन्छ ।

तर प्रदेश २ कै अध्यक्ष मतभारमा कांग्रेस गठबन्धनभन्दा एमालेको ३ सय ७७ मत बढी देखिन्छ । प्रदेश १ तर्फ कांग्रेस गठबन्धनभन्दा एमालेको अध्यक्ष र उपाध्यक्ष दुबै पदको मतभार बढी छ । एमाले कांग्रेसभन्दा अध्यक्षमा ६ सय ५८ मत र उपाध्यक्ष पदको मतभारमा ५ सय १९ मतले बढी छ ।

मुस्ताङको निर्वाचनमा व्यक्ति, भूगोल र समुदायको समेत बलियो प्रभाव रहने गरेको छ । मुस्ताङमा राप्रपाले एमालेलाई सघाउने गरी उम्मेदवारी फिर्ता लिईसकेको छ भने २ स्वतन्त्रले पनि उम्मेदवारी फिर्ता लिएका थिए ।

यस पटक जिल्लामा १० हजार ९ सय ५७ मतदाता छन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया