पाल्पालीले खेले भैलो

समाधान संवाददाता २०७९ कार्तिक ६ गते ११:०७

पोखरा ।
तिहारको अवसरमा पाल्पाली समाज पोखराले शनिबार रमाइलो देउसी, भैलो कार्यक्रम गरेको छ । पाल्पाली मौलिक खानाका परिकारसहित भएको कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष दुर्गा रायमाझी, करण तामाङ, बसन्ती थापामगर, सूर्यप्रसाद पाण्डे, शान्ति डोटेल सञ्जु थापामगर लगायतका ख्याती कलाकारले प्रस्तुति राखेको अध्यक्ष रेशम थापाले जानकारी दिए ।

उनले संस्थाको कोष वृद्धिका लागि न्यूरोडमा रहेको पाल्पा हाउस प्रालिको भवनमा तिहारको शुभकामना आदानप्रदानसहित कार्यक्रम गरेको बताए । समाजका पूर्व अध्यक्ष तथा पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले समग्र पर्यटन प्रवद्र्धनका लागि सक्रियताका साथ काम गरेको बताए ।

‘कला संस्कृतिको जगेर्ना र पर्यटकीय गतिविधि बढाउन समाज सक्रियतापूर्वक लागेको छ,’ उनले भने, ‘पाल्पा हाउस मार्फत पाल्पाको ढाका, करुवा लगायतका मौलिक उत्पादनको बजारी करण गर्ने योजना बनाएका छौं ।’

Advertisement

उनले समाजले स्थापनाको रजत जयन्तीको अवसरमा पाल्पाको पर्यटन प्रर्वद्धन, कला, संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले पोखरामा पाल्पाली सांगीतिक साँझ तथा सम्मान कार्यक्रम २०७५ गरेको स्मरण गराए ।

उनले लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनका लागि पोखराको लेकसाइडमा डिजिटल बोर्ड राखेको जानकारी दिँदै उनले समाजले जन्मथलो पाल्पा र कर्मथलो पोखरालाई जोडेर पर्यटन प्रर्वद्धनका कार्यक्रम गरेको उल्लेख गरे ।

Advertisement

कार्यक्रममा पाल्पाली समाज पोखराका प्रथम उपाध्यक्ष बालचन्द्र परियार, समाजका सचिव तथा कार्यक्रम संयोजक सञ्जय आत्रेयले पर्यटन प्रवद्र्धनका बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया