आन्तरिक पर्यटकले भरियो मुस्ताङ

सुन्दरकुमार थकाली २०७९ कार्तिक १३ गते १४:३५
फोटो क्याप्सन: तिहारपर्वसंगै मुस्ताङमा आन्तरिक पर्यटकको लर्को तस्विर: सुन्दरकुमार थकाली

जोमसोम ।
तिहार र छठ पर्वको मेलोमा मुस्ताङमा आन्तरिक पर्यटकले भरिभराउ भएको छ । तिहार पर्वसंगै छठ पर्वको बिदामा मुस्ताङमा आन्तरिक पर्यटकको घुईचो बढेको हो । पछिल्लो समय नेपाली आन्तरिक पर्यटकको रोजाई मुस्ताङ बनेको छ ।

राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक सजह हुन थालेपछि नेपाली आन्तरिक पर्यटक मुस्ताङ आउन थालेका हुन् । मुस्ताङको जियोलोजिकल पृथक भूगोल, प्राकृतिक सौन्दर्यता, हिमाली क्षेत्रको मनोरम दृष्य अवलोकनका साथै प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ दर्शन गर्ने उद्देश्यले आन्तरिक पर्यटक भ्रमण गर्न आउने क्रम बढेको छ ।

यसका साथै भारतीय नाकाबन्दीपछि चर्चामा रहेको उत्तरी कोरलानाका र लोमान्थाङका आसपासका प्राकृतिक सौन्दर्यता नियाल्न ठुलो संख्यामा युवायुवतीको लर्को लाग्न थालेको हो ।

Advertisement

तिहारको भाईटिकापछि शुक्रबार र शनिवार बेनी–जोमसोम ७६ किमी सडकमा सयौंको सख्यामा सवारी साधनको लस्कर देखिन्थ्यो । निर्माणधिन बेनी–जोमसोम सडकको म्याग्दी खण्डको कच्ची सडक छिचोल्दै दुईदिनमा करिव ८ हजार एकसय सवारी साधन भित्रिएको म्याग्दी र मुस्ताङको सीमानामा रहेको घाँसा प्रहरी चौकीले जनाएको छ ।

शुक्रबार बस, जीप, मोटरसाईकलमा यात्रा गर्दै ३४ सय आन्तरिक पर्यटक भित्रिएकोमा शनिबारको दिन ४७ सय आन्तरिक पर्यटक मुस्ताङ भित्रिएको घाँसा प्रहरी चौकीको प्रहरी सहायक निरीक्षक (असई) मनबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार शनिबार मात्रै ८३० वटा सवारी साधन मुस्ताङ भित्रिएका हुन् । जसमध्ये बस २३,जीप ३१६, पर्यटक जीप,बस १५, मोटरसाईकल ४७३ र ट्रक ३ वटा रहेको असई कार्कीले उल्लेख गरे ।

Advertisement

म्याग्दी हुँदै मुस्ताङ भ्रमणमा आएका पर्यटकले म्याग्दीको अन्नपूर्ण–३ को सडकमार्गमा अवस्थित रुप्से झरनाको अवलोकन गरेका छन् । झरनालाई प्रोफाईलमा राखेर तस्विर खिच्ने र टिकटक बनाउनेको उत्तिकै भीड देखिन्थ्यो । म्याग्दी खण्डको कच्ची सडक केही असहज भएपनि मुस्ताङको घाँसा प्रवेश गरेपछि मुस्ताङ आएका पर्यटक उत्साहित देखिन्थे ।

बेनी–जोमसोम सडक अन्र्तगत तेश्रो र चौथो खण्डको ७५ प्रतिशत कालोपत्रे भईसकेकाले आन्तरिक पर्यटकको यात्रा सहज भएको हो । मुस्ताङ आएका पोखराका पर्यटक अनिल तिमिल्सिनाले मुस्ताङ लागेपछि सडक निकै राम्रो र समृद्ध भएको उल्लेख गरे ।

तिहारसँगै आन्तरिक पर्यटक ठुलो संख्यामा मुस्ताङ आउन थालेपछि मुस्ताङको राजमार्गमा रहेका साना ठुला होटलहरु पर्यटकले भरिएको हो ।म्याग्दीको तातोपानीदेखि घाँसा, लेते, मार्फा, जोमसोम, कागबेनी, मुक्तिनाथ र लोमान्थाङका होटलहरु पर्यटकले भरिएको छ । चाडपर्वको मेलोमा लामो समय सरकारी तथा अन्य कार्यालयमा बिदा मिल्ने भएकाले आन्तरिक पर्यटक मुस्ताङ आउन थालेको मुक्तिनाथका पर्यटन व्यवसायी सुरज गुरुङले जानकारी दिए ।

गण्डकी प्रदेशकै लाईभ लाईन मानिने मुस्ताङ केही वर्षयता आन्तरिक तथा बाह्य पर्यटकको केन्द्र बनेको छ । दशै,तिहार र छठ पर्वको बिदामा सयौंको सख्यामा आन्तरिक पर्यटक मुक्तिनाथको दर्शन गर्न आएको मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले जानकारी दिए । उनले शुक्रबार,शनिबार र आईतबार बिहान दर्शनार्थीको बाक्लो उपस्थित रहेको उल्लेख गरे ।

मुस्ताङ आएका पर्यटक मध्ये ५० प्रतिशत पर्यटक उपल्लो मुस्ताङ पुगेका छन् । मोटरसाईकल चढेर मुस्ताङ आएका युवायुवतीहरु चिनसँग सीमाना जोडिएको कोरलानाका, छोसेर गुफा र लोमान्थाङ दरबारको अवलोकन गरी फर्किने गरेको लोमान्थाङ स्थित होटल हिमालयनका प्रोपाईटर गोम्बो गुरुङले जानकारी दिए ।

मुक्तिनाथ र कोरलानाकाको दर्शन गरी र्फिर्कएका आन्तरिक पर्यटकले घरपझोङ–५ ढुम्बा अवस्थित ढुम्बातालको अवलोकन गरी फर्किने गरेका छन् । अहिले ढुम्बातालमा दिनहुँ ५ सय बढी पर्यटक जाने गरेका छन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया