राष्ट्रपति भण्डारी शुक्रबार मुस्ताङ आउने

सुन्दरकुमार थकाली २०७९ कार्तिक १५ गते १०:४६

जोमसोम ।
राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार मुस्ताङ आउने कार्यतालिका सार्वजनिक भएको छ । हिन्दु तथा बौद्धमार्गीहरुको साझा तीर्थस्थल मुस्ताङको मुक्तिनाथमा धार्मिक पूर्वाधारहरुको उद्घाटन र शिलान्यास गर्न राष्ट्रपति भण्डारी मुस्ताङ आउने भएकी हुन् ।

गैरआवासीय नेपाली संघ (एनआरएन)का पूर्व उपाध्यक्ष सोनामको लगानीमा करिव ३ वर्षअघि निर्माण सम्पन्न भएको ३५ फिट अग्लो गौतम बुद्धको प्रस्तर मूर्तिको अनावरण राष्ट्रपतिले गर्ने कार्यतालिका छ ।

सोही स्थानमा निर्माण हुने भगवान विष्णुको प्रस्तर मूर्तिको शिलान्यास तथा मुक्तिनाथ रानीपौवामा निर्मित ‘लो मुस्ताङ हिमालयन रिसोर्टको उद्घाटनका लागि राष्ट्रपति भण्डारी मुस्ताङको मुक्तिक्षेत्रमा आउने कार्यक्रम रहेको लो मुस्ताङ हिमालयन रिसोर्टका अध्यक्ष एवं एनआरएनका पूर्व उपाध्यक्ष सोनाम लामाले प्रेषित गरेको निमन्त्रणा कार्डमा उल्लेख छ ।

Advertisement

राष्टपतिको मुक्तिनाथ भ्रमण र कार्यक्रमका बारेमा रिसोर्टका अध्यक्ष लामाले सरकारी कार्यालय तथा अन्य सरोकारवाला निकायलाई निमन्त्रणा कार्ड पठाइसकेका छन् । राष्ट्रपति भण्डारीले मुक्तिनाथमा बुद्ध मूर्तिको अनावरण र विष्णुको मूर्तिको शिलान्यास गर्न शुक्रबार बिहान ८ः१५ बजेको समय निर्धारण गरिएको छ ।

बिहान ९ः१५ बजेको समयमा लो मुस्ताङ हिमालयन रिसोर्टको उद्घाटन गर्ने कार्यतालिका छ । केही वर्ष अघिदेखि गैरआवासीय नेपाली संघका पूर्व उपाध्यक्ष लामाले आफ्नै लगानीमा मुक्तिनाथ मन्दिर परिसरको दक्षिणतर्फको क्षेत्रमा ३५ फिट अग्लो बुद्धको प्रतिमा निर्माण गरेका थिए ।

Advertisement

कोरोना माहामारीपछिको समय अहिले उनले सोही स्थान नजिकै ३५ फिट अग्लो विष्णुको प्रतिमा निर्माण गर्न लागेका हुन् । मुस्ताङको धार्मिक तथा पर्यटकीय पूर्वाधार निर्माण गरी मुक्ति क्षेत्रलाई हिन्दु र बौद्धको साझा संगमस्थलको रुपमा विकास गर्ने उद्देश्यले एनआरएनका पूर्व उपाध्यक्ष लामाले विष्णुको प्रतिमा निर्माण गर्ने योजना बनाएका हुन् ।

भ्रमण सार्न आयोगमा उजुरी
राष्ट्रपति विद्यादेवी भण्डारीको मुस्ताङ भ्रमणको विषयलाई लिएर निर्वाचन आयोगमा उजुरी दर्ता गराइएको छ । आज्ञाकारी सचेत मतदाता मुस्ताङका तर्फबाट मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रहरी कार्यालय मुस्ताङलाई बोधार्थ लिखित जानकारी गराउँदै निर्वाचन आयोगमा उक्त उजुरी दर्ता भएको हो ।

सचेत मतदाताको नामबाट दर्ता गराइएको उजुरीमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा राष्ट्रपति भण्डारीको भ्रमणले प्रत्यक्ष प्रभाव पार्न सक्ने भन्दै राष्ट्रपति भण्डारी भ्रमणपछि सार्न माग गरिएको छ ।

जिल्ला मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले राष्ट्रपतिको मुस्ताङ भ्रमणको विषयलाई लिएर उजुरी परेको पुष्टि गरे । उनले राष्ट्रपति भण्डारीको भ्रमणले निर्वाचनलाई प्रभाव पार्नसक्ने भन्दै परेको उजुरी पत्र आयोगमा पठाईएको जानकारी दिए ।

उनले निर्वाचन आचारसंहिताले कुनै पनि उद्घाटन, शिलान्यास सरुवा, बढुवा र नियुक्ति गर्न नपाईने उल्लेख भएपनि राष्ट्रपतिको हकमा आचार सहिंता आकर्षित हुने नहुने निर्वाचन आयोगले निर्णय लिने जानकारी दिए ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया