तनहुँमा चितुवा आतंकः ६ वर्षमा ३२ आक्रमण

रिखिराम जिसी २०७९ कार्तिक १७ गते १०:२५

रिखिराम जिसी, पोखरा ।
तनहुँ व्यास नगरपालिका–१२ छिर्कनेमा गत मंगलबार साँझ ८ वर्षीय अभिनव कुँवरलाई घरमा छोडेर उनकी हजुरआमा गाई दुहुन गोठमा गइन् । साँझ साढे ६ बजेको समय थियो, बालक एक्लै रहेकाले हजुरआमाको पछि लाग्दै गोठतिर गए ।

Advertisement

गोठ वरिपरि खरबारी थियो । ‘म दूध दुहुँदै थिएँ, अभिनव गोठको ढोकामा थियो, एक्कासि नातिलाई चितुवाले आक्रमण गर्‍यो,’ हजुरआमाको भनाई उद्धृत गर्दै १२ नम्बर वडाका वडाध्यक्ष बमबहादुर आलेले भने ।

गाउँमा हल्लीखल्ली भयो । हल्लीखल्लीपछि चितुवाले आक्रमण गरी बालकलाई गोठबाट १ सय मिटर पर लगेर छोडेको वडाध्यक्ष आले बताउँछन् । ‘मानिस कराएपछि, हल्लीखल्ली भएपछि चितुवाले बालकलाई छाडेर भाग्यो, बालक रक्ताम्मे थिए, मृत्यु भइसकेको थियो,’ वडाध्यक्ष आलेले भने । अभिनव हजुरबुबा, हजुरआमासँग बस्दै आएका थिए । उनका बाबुआमा विदेशमा छन् ।

घाम अस्ताउँदै थियो, बन्दीपुर गाउँपालिका १ बानियाटारकी लक्ष्मी परियार गत भदौ ९ गते आफ्नो ३ वर्षीय छोरालाई नजिकै राखेर घरायसी काम गर्दै थिइन् । बालक सुलभ परियार पिँढीमा खेलिरहेका थिए । खेल्दै गरेको सुलभलाई एक्कासि चितुवाले आक्रमण गर्‍यो । हेर्दा हेर्दै चितुवाले सुलभलाई लिएरै गयो ।

आफ्नै आँखा अगाडिबाट छोरालाई चितुवाले लग्दा लक्ष्मीको होसोहवास उड्यो । अत्तालिएर चिच्याउन, कराउन थालिन् । तै चितुवाले छोरालाई छाडेन । सय/डेढ सय मिटर पर पुग्दा उनले चितुवाबाट आफ्नो छोरोलाई बचाउन सफल भइन् । सुलभको घाँटीमा प्वाल परेको थियो । उपचारपछि अहिले उनलाई निको भएको छ ।

Advertisement

२०७४ यता तनहुँमा चितुवाले ३२ जनालाई आक्रमण गरेको छ । १४ जनाले चितुवाकै आक्रमणबाट ज्यान गुमाउनुपरेको छ । १८ जना घाइते भएका छन् । जसमा अधिकांश बालबालिका छन् । चितुवाको आक्रमण सबैभन्दा धेरै भानु नगरपालिका र बन्दीपुर गाउँपालिकामा भएको छ ।

गाउँबस्ती वरपर झाडी, बुट्यान बढ्दा चितुवाको आक्रमणको घटना बढेको डिभिजन वन कार्यालय तनहुँका सहायक डिभिजन अधिकृत राजकुमार श्रेष्ठ बताउँछन् । ‘गाउँबस्तीतिर खासै मान्छेहरु छैनन् । सबै कृषि योग्य जमिन झाडी, बुट्यान, वन जस्तो भएर बसेका छन् । जंगली चितुवा गाउँबस्ती नजिक आउँछन्,’ उनले भने, ‘जसले गर्दा मान्छेमा आक्रमण हुने घटना बढेका हुन् ।’

जंगलमा आहाराको कमी हुँदा पनि चितुवाहरु बस्तीतिर आउने गरेको अधिकृत श्रेष्ठले बताउँछन् । ‘जंगली जनावरहरु साझँपखतिर जंगलमा आहाराको कमी भो अथवा त्यसको उमेर बुढो भएर हो बढी बस्ती छेउतिर आएको देखिएको छ । जसले मानिसका लागि जोखिम बढाउँछ,’ उनले भने ।

सबै घटना जंगलको नजिकका बस्तीहरुमा भएको अधिकृत श्रेष्ठले जानकारी दिए । ‘कारण के होला भनेर अध्ययन भएको छैन । सबै जंगलको नजिकको बस्तीमा घटना भएका छन्,’ उनले भने ।

चितुवाको आतंक नियन्त्रणका लागि तनहुँका स्थानीय तहले जनचेतनाका कार्यक्रम गरिरहेका छन् । वन डिभिजन कार्यालयबाट पनि फिल्डमै गएर सजक गराइरहेको अधिकृत श्रेष्ठले दाबी गरे । ‘जंगल छेउमा बच्चाबच्चीलाई साझँपख, बिहानपख एक्लै नछिड्नु, अभिभावकसँग राख्नु जनचेतना जगाइरहेका छन्,’ अधिकृत श्रेष्ठले भने ।

चितुवालाई जालमा पार्न बन्दीपुरमा ५ वटा जति खोर निर्माण भएका छन् । तर हालसम्म चितुवा जालमा परेको छैन । ‘नियन्त्रणका लागि बन्दीपुरमा खोर बनाएका छौं । त्यहाँचाहिँ कुखुरा राख्ने बाख्रा राख्ने, कुकुर राखियो, तर त्यसो गर्दा पनि जालमा परेका छैनन्,’ श्रेष्ठले भने ।

बस्ती वरिपरि जगंल, झाडीहरु फाड्ने काम गरेको श्रेष्ठले सुनाए । ‘एकतिर घटना हुन्छ त्यता तयारी गर्‍यो । अर्काे ठाउँमा गएर घटना भइराखेको हुन्छ । त्यसले गर्दा नियन्त्रण गर्न सकिएको छैन,’ उनले भने ।

एउटै चितुवा अथवा ठाउँपिच्छे फरकफरक चितुवाको आक्रमण भइरहेको छ भन्नेबारे अन्योल छ । जसले गर्दा चितुवा के कति छन् भन्ने कुरा पनि यकिन गर्र्न नसकिएको अधिकृत श्रेष्ठले सुनाए ।

‘एउटै चितुवा ठाउँ फेरेर गरेको हो अथवा ठावैपिच्छे फरकफरक हो भन्ने कुरा त्यो चाहिँ पत्ता लगाउन सकिएको छैन । हामीसँग त्यस्तो टेक्नोलोजी छैन,’ उनले भने, ‘चितुवा के कति छन् भन्ने कुरा पनि यकिन गर्र्न सकिएको छैन ।’

‘कानुनी प्रक्रिया पुर्‍याएर मार्नुपर्छ’
नरभक्षी चितुवालाई कानुनी प्रक्रिया पुर्‍याएर मार्नुपर्ने व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेले बताए । ‘चितुवा थुन्न सकिएन, मान्छे नै मार्दै हिँड्ने भएपछि त कानुनी प्रक्रिया पुर्‍याएर नरभक्षी चितुवा मार्नुपर्छ,’ उनले भने ।

चितुवा आतंक नियन्त्रणका लागि जिल्ला प्रशासनमा चिठी पठाएको अध्यक्ष न्यौपानेले उल्लेख गरे । ‘यो घटनापछि हामीले प्रशासनलाई लेखेर पठाएका छौं यो धेरै हमला भयो, विकल्प छ भने थुन्नुस्, छैन भने मार्दिनुस्,’ उनले भने, ‘डिभिजन वनले खोर बनाएर त्यसलाई थुन्ने प्रयास वन कार्यालयले गरिरहेको छ ।’

‘नरभक्षी चितुवा मार्ने प्रक्रियामा अगाडि बढ्छ’
तनहुँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) विश्वप्रकाश अर्यालले नरभक्षी चितुवालाई मार्ने प्रक्रियामा अगाडि बढाउने बताए । ‘चितुवा नियन्त्रण गर्न लामो समय प्रयास गरियो, नियन्त्रण गर्न सकिएन, राष्ट्रिय निकुञ्जबाट प्राविधिक टिम बोलाएर खोजतलास गरियो, नियन्त्रण लिने प्रयास गरियो,’ उनले भने, ‘चितुवा मार्ने नै उपयुक्त विकल्प हुन्छ भनेर सबैतिरबाट माग आएकाले त्यसतर्फ हामी प्रयासरत छौं ।’

स्थानीय समुदाय तथा सामुदायिक वनहरुबाट पनि खोजतलास गर्दा बासस्थान पहिचान हुन नसकेको अर्यालले सुनाए । ‘यसको विकल्प भएको यसलाई मार्दिनुपर्छ भन्ने मागहरु गाउँपालिका, नगरपलिकाहरुबाट आएको छ,’ उनले भने, ‘नरभक्षी पशुलाई स्थानीय प्रशासन ऐन प्रयोग गरेर मार्नुपर्ने अवस्था सिर्जना भएको छ ।’

जंगलमा आहाराको अभाव हुँदा चितुवाहरु गाउँ बस्ती छिरेको हुन सक्ने प्रजिअ अर्यालको अनुमान छ । ‘चितुवाको संख्या बढी छ कि भन्ने पनि अनुमान छ, वन जंगलभित्र उनीहरुले पाउने आहाराहरुको अभाव भएर गाउँ बस्तीतिर बसेको हो कि भन्ने अनुमान छ,’ उनले भने ।

बासस्थान र आहारा बिनासले गाउँबस्ती छिरेः बराल
जंगलमा चितुवाको बासस्थान बिनास हुँदा गाउँबस्तीतिर छिर्ने गरेको चितुवामाथि विद्यावारिधि गरिरहेका केदार बराल बताउँछन् । ‘बासस्थान बिनास भएका छन्, उसले खाने आहारा प्रजातिका बासस्थान बिग्रिएको छ । जस्तो हरिणहरुलाई घाँसेमैदान चाहिन्छ, सामुदायिक वनमा भएका एउटा पनि घाँसेमैदान बाँकी छैन सबै जंगल भएका छन्,’ उनले भने, ‘जसले गर्दा चितुवा बस्ती छिर्ने थालेको छ ।’

खेतीपाती नगर्दा चितुवा मान्छे नजिक हुन थालेको डिभिजन वन कार्यालय कास्कीका प्रमुखसमेत रहेका बराल बताउँछन् । ‘पहिला मान्छेले खेतीपाती गर्थे । जंगल र बस्तीको बिचमा बारी थियो । अहिले ती बारी सबै जंगल भएका छन् । चितुवाको बासस्थान विस्तारै मान्छेको नजिक सरिरहेको छ,’ उनले भने ।

मान्छेले उसका आहार मारेर खाइदिँदा चितुवा बिच्केर हिँडेको बरालले उल्लेख गरे । चितुवाको प्राकृतिक आहाराको संरक्षण गर्नुपर्नेमा उनले जोड दिए । चितुवालाई चाहिने भनेको खाना, पानी र रेस्ट गर्ने ठाउँ जंगल । ‘ती ३ वटा कुरामा पानीको धेरै अभाव भाको छ ।

जंगलमा पानीका स्रोतहरु सुक्दै गएका छन् भएका पानी पनि मान्छेले ट्यांकी बनाएर जंगलबाटै पाइपबाट गाउँबस्तीतर्फ पुराएको अवस्था छ,’ उनले भने, ‘जंगलभित्र पानीका पोखरीहरु संरक्षण गर्ने, आहारा प्रजातिको संरक्षण गर्ने गर्नुपर्छ ।’

मान्छेले गर्ने गल्ती तथा कमजोरीले चितुवाको आक्रमण बढेको प्रमुख बरालले बताए । ‘मानिसका पनि आफ्नै कमजोरीहरु छन् । चितुवा बिहान र साझँमा मात्रै एक्टिभ हुने जनावर हो ।

बिहान र साँझको बेला एक्लै छोड्ने, घर नजिक झाडी बनाउँदा चितुवाको आक्रमणको घटना बढेको देखिन्छ,’ उनले भने । साँझ, बिहान बच्चाहरु एक्लै नछोड्ने, झाडीहरु फाड्ने, बत्तीहरु बाल्ने गरे पनि चितुवा आक्रमण कम हुने बरालले उल्लेख गरे ।

पछिल्लो ६ वर्षमा तनहुँमा चितुवाले गरेको आक्रमणबाट मृत्यु र घाइते भएकाको संख्या

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया