हेलिकोप्टरबाट मनाङ र मुस्ताङमा मतपत्र ढुवानी

सुन्दरकुमार थकाली २०७९ कार्तिक १८ गते १०:५८

जोमसोम ।
मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङ र मनाङमा बिहीबार मतपत्र ढुवानी गरिएको छ । निर्वाचन आयोगले बिहीबार नेपाली सेनाको हेलिकोप्टरमा ढुवानी गरेर मतपत्र, मतदाता परिचयपत्र लगायत निर्वाचन सामग्री मुस्ताङ र मनाङमा पठाएको हो ।

मुस्ताङ र मनाङ जिल्लाका लागि प्रत्यक्ष र समानुपातिकतर्फको मतपत्र र अन्य निर्वाचन सामाग्री नेपाली सेनाको कडा सुरक्षा निगरानीमा ढुवानी गरिएको हो । काठमाडौंबाट मतपत्र, मतदाता परिचयपत्र लगायत निर्वाचन सामग्री पुर्‍याउन आयोगको प्रशासन शाखाका उपसचिव मुकुन्द पोखरेल र शाखा अधिकृत बाबुराम कोइराला मुस्ताङ र मनाङ आइपुगेका थिए ।

उनीहरुले मुस्ताङका मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुली र जिल्ला निर्वाचन कार्यालय मुस्ताङका प्रमुख मदन अर्याललाई मतपत्र, मतदाता परिचयपत्र र अन्य निर्वाचन सामग्री हस्तान्तरण गरे । मनाङमा जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्मा र मुख्य निर्वाचन अधिकृतको कार्यालयको टोलीलाई मतपत्र, मतदाता परिचयपत्र र निर्वाचन सामग्री बुझाएका छन् ।

Advertisement

आयोगबाट खटिएका कर्मचारीले पहिला मनाङ र त्यसपछि मुस्ताङमा मतपत्रसहित निर्वाचन सामग्री पठाएको हो । मुस्ताङका लागि पठाइएको मतपत्र र निर्वाचन सामाग्री आयोगका कर्मचारीबाट मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुली र जिल्ला निर्वाचन अधिकारी मदन अर्यालले रुजु गरी बुझेका हुन् ।

बिहान ९ बजे मनाङ र ११ बजे मुस्ताङमा मतपत्र, मतदाता परिचयपत्र र निर्वाचन सामाग्री ढुवानी गरेको थियो । मतपत्र, मतदाता परिचयपत्र लगायतका सामाग्री छाड्न मुस्ताङ आएका आयोगका आर्थिक प्रशासन शाखाका उपसचिव मुकुन्द पोखरेलले मुस्ताङ र मनाङका लागि आवश्यक पर्ने मतपत्र लगायत निर्वाचन सामग्री ढुवानी भईसकेको जानकारी दिए । उनले बिहिबारनै कर्णाली अञ्चलको बाजुरामा मतपत्र ढुवानी गर्ने कार्यक्रम रहेको बताए ।

Advertisement

मुस्ताङका मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले मुस्ताङका लागि चाहिने मतपत्र,मतदाता परिचयपत्र लगायत सामग्री प्राप्त भएको जानकारी दिए । उनले जोमसोम विमानस्थलबाट नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको कडा सुरक्षा दिँदै मुख्य निर्वाचन कार्यालयमा सुरक्षित भण्डारण गरिएको उल्लेख गरे ।

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि मुस्ताङमा ३९ मतदान केन्द्र तोकिएको छ । मुस्ताङका ५ स्थानीय तहको २५ वडाहरुमा कुल १० हजार ९५७ जना मतदाता छन् । जसमध्ये प्रदेश १ मुस्ताङमा ३ हजार ५४१ मतदाता छन् । प्रदेश २ मुस्ताङमा ७ हजार ४१६ जना मतदाता छन् ।

मुस्ताङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय र ३९ मतदान केन्द्रमा २८५ जना म्यादी प्रहरी र सोही संख्यामा प्रहरी खटाइने भएको छ । निर्वाचन सुरक्षाका लागि नेपाली सेना र सशस्त्र प्रहरीले दोस्रो र तेस्रो घेरामा रहेर सुरक्षा निगरानी गर्ने बताइएको छ । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि नेपाली सेना र सशस्त्र प्रहरीले जोमसोम आसपासका क्षेत्रमा सुरक्षा गस्ती सुरु गरिसकेका छन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया