मुस्ताङमा नमूना मतदान, ४० प्रतिशत मत बदर

सुन्दरकुमार थकाली २०७९ कार्तिक २० गते १७:३५
उपल्लो मुस्ताङको लोघेकर–३ घीलिङमा नमूना मतदान अभ्यास तस्विर: सरस्वती थापा

जोमसोम ।
आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन २०७९ का लागि मुस्ताङमा नमूना मतदान अभ्यास (डेमो) प्रारम्भ गरिएको छ । जिल्ला निर्वाचन कार्यालय मुस्ताङले आईतबारदेखि लोघेकर दामोदरकुण्ड गाउँपालिका–३ घीलिङबाट नमूना मतदान अभ्यास सुरु गरिएको हो ।

लोघेकरको घीलिङमा गरिएको पहिलो नमूना मतदानमा ४० प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी समिर थापाले जानकारी दिए । कुल ३८ जनाले नमूना मतदानमा भाग लिएकोमा १५ मत बदर भएको छ भने २३ मत सदर भएको कार्यालयका सूचना अधिकारी थापाको भनाई छ ।

निर्वाचन आयोगले बदर मत संख्या घटाउन एक स्थानीय तह एक नमूना मतदान अभ्यास अनिवार्य गराएको हो । निर्वाचन कार्यालयले मुस्ताङको घीलिङमा करिव ७०÷८० जना मतदाताले नमूना मतदान गर्ने अनुमान गरेपनि स्थानीय तहमा मतदाता नहुँदा न्यून संख्याको उपस्थितीमा नमूना मतदान सम्पन्न भएको सूचना अधिकारी थापाले उल्लेख गरे ।

Advertisement

आईतबारदेखि मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाबाट नमूना मतदान सुरु भएको जिल्ला निर्वाचन अधिकारी मदन अर्यालले जानकारी दिए । उनका अनुसार उपल्लो मुस्ताङको ५ वटै स्थानीय तहमा नमूना मतदान गर्ने कार्यक्रम अन्तर्गत सोमबार लोमान्थाङमा नमूना मतदान हुनेछ भने त्यसपछि क्रमशः वारागुङ मुक्तिक्षेत्र , थासाङ र अन्तिममा घरपझोङ गाउँपालिकामा नमूना मतदान अभ्यास गराईने छ ।

आयोगले बदर मतसंख्या घटाउन मतदाता शिक्षा अभियान संञ्चालन गरेको छ । मतदाता शिक्षालाई प्रभावकारी तुल्याउन जिल्ला निर्वाचन कार्यालयले स्थानीय तहका कर्मचारीलाई प्रशिक्षण समेत दिएको छ । बदर मत घटाउन कार्यालयले पालिका स्तरमा मतदाता शिक्षा समन्वय समिति गठन गरिसकेको छ । तर, पालिका स्तरमा ढिलो गरी मतदाता शिक्षा दिन थालिएको हो ।

Advertisement

मतदाता शिक्षा पूर्ण कार्यान्वयनमा नआईसकेकाले बदर नमूना मतदानमा बदर मतको संख्या बढेको जिल्ला निर्वाचन अधिकारी अर्यालको भनाई छ । बदर मतको भोलुम ठुलो देखिएको छ ,उनले भने,‘ तर मतदाता शिक्षापछि बदर मतको संख्या न्यूनिकरण हुने निर्वाचन अधिकारी अर्यालले दावी गरे ।उनले मंसिर १ गतेदेखि जिल्लाका ५ वटै पालिका र वडाहरुमा स्वास्थ्य स्वयंसेविकाहरुले मतदाताको घरदैलोमा पुगेर मतदाता शिक्षा प्रदान गर्ने बताए ।

पाँच स्थानीय तह रहेको हिमाली जिल्ला मुस्ताङमा कुल १० हजार ९५७ जना मतदाता छन्। जसअन्तर्ग मुस्ताङ प्रदेश १ मा ३५४१ र मुस्ताङ प्रदेश २ मा ७ हजार ४१६ मतदाता छन् । यस्तै, मुस्ताङको ५ स्थानीय तहमा कुल ३९ मतदान केन्द्र कायम गरिएको छ । प्रदेश १ मा १६ र प्रदेश २ मुस्ताङमा २३ वटा मतदान केन्द्र छन् ।

मंसिर ४ गते हुँने निर्वाचनका लागि कारागारका कैदीबन्दीले मतदान गर्न पाउँने व्यवस्था निर्वाचन आयोगले गरेको छ । मतदाता नामावलीमा नाम उल्लेख भएका कैदीबन्दीलाई आयोगले मतदान गर्न पाउँने व्यवस्था मिलाएको हो । कारागारका कैदी बन्दी तथा मतदान कार्यमा नखटिएका निजामती कर्मचारीलाई अस्थायी मतदान केन्द्रबाट मतदान गर्न व्यवस्था भएको जिल्ला निर्वाचन अधिकारी मदन अर्यालले बताए ।

मुस्ताङमा निजामती कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीका लागि जिल्ला कारागार शाखा जोमसोम अस्थायी मतदान केन्द्र तोकिएको उनले जानकारी दिए । मुस्ताङ कारागारका ११ जना कैदीबन्दी मध्ये ५ जनाले समानुपातिक प्रतिनिधि सभाका लागि मतदान गर्ने भएका छन् । यस्तै, निर्वाचनमा खटिएका कर्मचारीले भने संम्वन्धित मतदान केन्द्रबाट मतदान गर्न पाउने व्यवस्था मिलाईएको निर्वाचन अधिकारी अर्यालले उल्लेख गरे ।

तर, प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीको अन्तिम टुंगो नभईसकेकाले कति जना कर्मचारी र सुरक्षाकर्मीले अस्थायी मतदानकेन्द्रबाट मतदान गर्छन भन्ने तथ्यांक संकलन नभएको जनाईएको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया