मुक्तिनाथमा तीर्थालुको घुइँचो

समाधान संवाददाता २०७९ कार्तिक २२ गते ११:१७

जोमसोम ।
बौद्ध र हिन्दु धर्मालम्बीहरुको साझा धार्मिक तीर्थस्थल मुस्ताङको मुक्तिनाथ मन्दिरमा स्वदेशी र विदेशी तीर्थालुको घुइँचो बढेको छ । समुद्री सतहदेखि ३८ मिटरको अग्लो उचाइमा अवस्थित पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिरमा अहिले दिनहुँ सयौं पर्यटकले मुक्तिनाथ मन्दिरको पूजाआजा र दर्शन गर्ने गरेको पाइएको छ ।

दसैं–तिहार र छठ पर्व सकिए लगत्तै मुक्तिनाथ मन्दिरमा तीर्थालुको संख्या ह्वात्तै बढेको हो । यस वर्ष दसैं–तिहार र छठ पर्वको सेरोफेरोमा प्रतिकुल मौसमका कारण उल्लेख्य पर्यटक मुक्तिनाथ आउन सकेका थिएनन् । तर पर्वहरु सकिएलगत्तै मुक्तिनाथमा तीर्थालुको संख्या अकल्पनीय रुपमा वृद्धि भइरहेको मुक्तिनाथ विकास समितिका आर्थिक संकलन गर्ने कर्मचारी रविन सुवेदीले जानकारी दिए ।

बर्सेनी ६० हजार विदेशी तीर्थालु र करिब ५ लाखभन्दा बढी आन्तरिक तीर्थालुले मुक्तिनाथको दर्शन गर्ने गरेका छन्


मुस्ताङमा हिउँदयामको चिसो ह्वात्तै बढेको छ । अत्यधिक चिसोको बाबजुद पनि तीर्थालु मुक्तिनाथ दर्शन गर्ने बढिरहेको मुक्तिनाथ विकास समितिका कर्मचारी सुवेदीले उल्लेख गरे । मुक्तिनाथ मन्दिरको दर्शन र त्यहाँ रहेको १०८ धारामा स्नान गरेपछि धार्मिक मोक्ष प्राप्त हुनुका साथै मानिसले जान/अन्जानमा गरेका सबै पापहरु पखालिने धार्मिक जनविश्वास छ ।

Advertisement

मुक्तिनाथ मन्दिरमा भगवान विष्णुको पूजाआजा गर्ने गरिन्छ । यद्यपि मुक्तिनाथक्षेत्र गुरु पद्मसम्भवको कथासँग पनि जोडिएको छ । बर्सेनी ६० हजार विदेशी तीर्थालु र करिब ५ लाखभन्दा बढी आन्तरिक तीर्थालुले मुक्तिनाथको दर्शन गर्ने गरेका छन् ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ पुराङ रानीपौवा बजारदेखि करिब १ किमी टाढा अग्लो उचाईमा मुक्तिनाथ मन्दिर अवस्थित छ । मुक्तिनाथ मन्दिर करिब ५ सय रोपनी क्षेत्रफलमा फैलिएको छ । मुक्तिनाथ मन्दिर परिसरमा ज्वालामाई गुम्बा पनि छ ।

मुक्तिनाथ मन्दिर परिसरमा एनआरएनका पूर्व उपाध्यक्ष सोनाम लामाले निर्माण गरेको ३१ फिट अग्लो बुद्धको प्रस्तर मुक्ति अवस्थित छ । त्यहाँ उनै लामाले ८ करोड लागतमा अर्को भगवान विष्णुको विशाल प्रस्तर मूर्ति निर्माण गर्ने भएका छन् ।
आन्द्र प्रदेश भारतबाट मुक्तिनाथ दर्शनका लागि मुस्ताङ आएका भारतीय पर्यटक लक्ष्मण रावले मुक्तिनाथ मन्दिरको दर्शन गर्ने सपना यहाँ आएर पूरा भएको बताए ।

Advertisement

नेपालकै महत्वपूर्ण धार्मिकस्थल मुक्तिनाथ क्षेत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत दर्शन गरेको र त्यसपछि मुक्तिनाथ मन्दिरको बारेमा धेरै कुरा थाहा पाएको उनले बताए । मुक्तिनाथ मन्दिर विशाल पहाडको फेदमा रहेको र यो मन्दिर निकै सुन्दर रहेको उल्लेख गरे । उनले मुक्तिनाथसम्म आएर दर्शन गर्दा आफूहरुलाई कुनै समस्या नभएको बताए ।

भारतीय पर्यटक लक्ष्मण राव भन्छन्, ‘मुक्तिनाथ मन्दिर हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको आस्थाको धरोहर हो ।’ मन्दिर मन्दिरको रेखदेख त्यहाँ रहेको आनीझुमाले गर्ने गर्छन् । मन्दिरमा एक जना पुजारी बस्छन् भने मुक्तिनाथ विकास समितिले खटाएको कर्मचारीले स्वेच्छिक चन्दा संकलन र मुक्तिनाथ परिसरको सरसफाई गर्ने गर्छन् ।

मुक्तिनाथ मन्दिरमा १०८ धाराका साथै दुई वटा स्नानकुण्ड छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मुक्तिनाथको थप स्तरोन्नति गर्न बृहत मुक्तिनाथ गुरुयोजना अघि बढाएको छ । जसअन्तर्गत अहिले त्यहाँ आनी÷झुमाको निवास र मुक्तिनाथ मन्दिर परिसरको स्तरवृद्धि गरी फराकिलो बनाइएको छ । मुक्तिनाथ मन्दिरमा थप आवश्यक पूर्वाधार निर्माणमा ढिलाइ हुँदा मुक्तिनाथ दर्शन गर्न जाने तीर्थालुलाई समस्या पर्ने गरेको छ ।

तनहुँका तीर्थालु खेमराज विश्वकर्माले मुक्तिनाथको दर्शन र मुस्ताङ घुम्न आफुसहित ९ जनाको टोली मुस्ताङ आएको बताए । मुक्तिनाथ मन्दिरको दर्शन गर्नाले मनले चिताएको पुरा हुने सुनेर मुस्ताङको आएको जनाए । कार्तिक महिनाको चिसोले ज्यानै चल्न छोड्ला जस्तो भएपनि यहाँ आएर १०८ धारामा नुहाएर मुक्तिनाथको दर्शन गरेको उनले उल्लेख गरे ।

नवलपरासीबाट आएकी तीर्थालु हीरा क्षेत्रीले मुक्तिनाथ मन्दिरमा दर्शन गर्न पाउँदा स्वर्ग पुगेको अनुभूति सुनाइन् । ‘यहाँको वर्णन शब्दमा वर्णन गर्न सक्दिन, जुन दुःख गरेर यहाँ आइयो त्यो सबै मुक्तिनाथको दर्शनपछि बिर्सन बाध्य बनाइदियो,’ उनले भनिन् ।’ धर्म नै आस्था विश्वास भएकाले मुक्ति पाउन र मोक्ष प्राप्त गर्न मुक्तिनाथ दर्शन गर्न आएको उनले बताइन् ।

मुक्तिनाथ मन्दिर बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म खुला रहन्छ । मुक्तिनाथ मन्दिरसम्म जान पछिल्लो समय रेलिङ सिंढी बाटो निर्माण भइरहेको छ । मन्दिरसम्म ठाडो उकालो हिँड्न पर्ने भएकाले वृद्धवृद्धा र अपांगता भएका तीर्थालुलाई मुक्तिनाथसम्म पुग्न निकै समस्या हुने गरेको छ । मुक्तिनाथ विकासको बृहत परियोजना ४ वर्ष सुरु भएपनि सरकारले यसको बृहत विकासमा तिब्रता दिन सकेको छैन ।

मुस्ताङको मुक्तिनाथ मन्दिर हिमाली जिल्ला मुस्ताङ र गण्डकी प्रदेशकै धार्मिक पर्यटकको केन्द्रबिन्दुको रुपमा लिने गरिन्छ । मुक्तिनाथको रानीपौवा डेढ दर्जन बढी पर्यटक लक्षित होटल सञ्चालनमा छन् । मुक्तिनाथ दर्शन गर्न आएका धार्मिक पर्यटकले उत्तरी कोरलानाका, लोमान्थाङ, छोसेर गुफा, ढुम्बाताल र पर्यटकीय गाउँ मार्फा लगायतको अवलोकन गर्ने गरेका छन् ।

भौगोलिक, सामाजिक, सांस्कृतिक र जैविक विविधताले महत्वपूर्ण मानिएको हिमाली जिल्ला मुस्ताङमा सडक यातायातको पहुँच सहज हुँदै जान थालेको छ । सडक सहज भएसँगै मुक्तिनाथ दर्शन गर्ने तीर्थालुको संख्या बर्सेनि बढ्दै जान थालेको छ ।

तपाईको प्रतिक्रिया