ठिही झेल्दै घरदैलाे

सुन्दरकुमार थकाली २०७९ कार्तिक २३ गते १०:३१
तस्विर: कर्म डोल्कर गुरुङ

जोमसोम ।
समग्र भौगोलिक अवस्था र वस्तुगत मौसमलाई मध्यनजर गर्ने हो भने कात्तिकदेखि फागुन मसान्तसम्म हिमाली जिल्ला मुस्ताङ र मनाङका लागि निर्वाचन गर्ने उपयुक्त समय होइन ।

तर, देशभरिको भौगोलिक अवस्था र मौसमलाई आत्मसाथ गरी २०७४ सालमा मंसिर २१ गते र २०७९ को मंसिर ४ गते निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने योजना बनायो । यो समय मुस्ताङमा हिमपात हुने अत्यधिक सम्भावना देखिन्छ भने यहाँ अत्यधिक चिसो बढिसकेको छ ।

निर्वाचनको बेला मुस्ताङको राजनीति अलि ढिलो तातिन्छ, तर नतिजा भने मुस्ताङको छिटो घोषणा हुन्छ । अन्य जिल्लामा निर्वाचन आयोगले कात्तिक १८ गते चुनावी गतिविधि सञ्चालन गर्न अनुमति दिए पनि मुस्ताङमा तामझामका कार्यक्रम भएका छैनन् ।

Advertisement

निर्वाचन मिति नजिकै आउँदासमेत यहाँ कुनै औपाचारिक कार्यक्रम, सभा सम्मेलन र र्‍यालीका कार्यक्रम भएका छैनन् । भौगोलिक रूपले विकट र कार्तिक महिनाको प्रतिकुल मौसमका कारण यहाँ कुनै राजनीतिक दलका शीर्ष नेताहरू आएर सम्बोधन गर्ने कार्यक्रम समेत यहाँ हुँदैन ।

प्रतिनिधि र प्रदेशसभाका लागि यसपटकको निर्वाचनमा मुस्ताङमा ४ राजनीतिक पार्टीका ९ जना उम्मेदवार चुनावी मैदानमा छन् । प्रतिनिधिसभातर्फ ४ जना र प्रदेश १ र २ मा ५ जना उम्मेदवार बिच प्रतिस्पर्धा हुँदै छ । प्रतिनिधिसभातर्फ नेकपा (एमाले)का तर्फबाट निवर्तमान प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचन, काँग्रेससहितको सत्ता गठबन्धनबाट योगेश गौचन थकाली, रास्वपाका तर्फबाट सुदेश गुरुङ र राप्रपा नेपालबाट प्रवीण शेरचन छन् ।

Advertisement

काँग्रेस गठबन्धनका उम्मेदवार योगेश गौचन थकाली पूर्व वाणिज्य मन्त्री रोमी गौचन थकालीका छोरा हुन् । राप्रपा नेपालका उम्मेदवार शेरचनले आफ्नो उम्मेदवार निष्क्रिय तुल्याउदै रास्वपालाई साथ दिएका छन् ।

प्रदेश १ तर्फ एमालेबाट निवर्तमान प्रदेशसभा सदस्य ईन्द्रधारा बिष्ट र कांग्रेस गठबन्धनबाट नम्डु गुरुङबिच कडा प्रतिस्पर्धा हुने पक्का छ । प्रदेश–२ मा एमालेबाट पार्टी जिल्ला इन्चार्ज चन्द्रमोहन गौचन, कांग्रेस गठबन्धनबाट विकल शेरचन र राप्रपा नेपालबाट एक्ली महिला उम्मेदवार कर्म डोल्कर गुरुङबिच त्रिकोणात्मक प्रतिस्पर्धा हुनेछ । प्रतिनिधि र प्रदेशसभा निर्वाचन २०७४ मा मुस्ताङमा एमालेले ३ वटै सिट जितेको थियो ।

निर्वाचन मिति सम्मुखमा आई पुग्दा आइतबारदेखि मुस्ताङका राजनीतिक दल र तिनका उम्मेदवारहरू घरदैलो कार्यक्रममा व्यस्त हुन थालेका छन् । कांग्रेस गठबन्धनका साझा उम्मेदवार योगेश गौचन थकालीले उपल्लो मुस्ताङको लोमान्थाङबाट घरदैलो अभियान सुरु गरेका छन् ।

नेकपा एमालेले पहिलो चरणको पालिका स्तरीय निर्वाचन कार्यक्रम सकेर आइतबारदेखि घरदैलो कार्यक्रममा सरिक भएका छन् । उपल्लो मुस्ताङमा नेकपा एमालेका प्रदेश १ का उम्मेदवार ईन्द्रधारा बिष्टले लोमान्थाङ–५ छोसेर र लोमान्थाङ–२ छोसेरको घरदैलो बाहेक लोमान्थाङको ३ वडा र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।

एमालेका प्रतिनिधि सभा उम्मेदवार प्रेमप्रसाद तुलाचन र प्रदेश २ का एमाले उम्मेदवार चन्द्रमोहन गौचनले थासाङ गाउँपालिकाबाट घरदैलो कार्यक्रम सुरु गरेका छन् । उनीहरूले थासाङको नाउरीकोट, कोबाङ खन्ती, लार्जुङ, सौर र लेतेमा घरदैलो गरेका छन् ।

कांग्रेस गठबन्धनबाट प्रदेश २ का उम्मेदवार विकल शेरचनले घरपझोङ–१ को छैरो/चिमाङबाट घरदैलो अभियान थालेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा उम्मेदवार र प्रदेश–२ बाट राप्रपा नेपालकी उम्मेदवार कर्म डोल्कर गुरुङले मुस्ताङको वारागुङ मुक्ति क्षेत्रबाट संयुक्त रूपमा घरदैलो अभियान थालेका छन् ।

मुस्ताङमा हिउँद याम सुरु भएसँगै कात्तिकको सुरुआत देखिनै चिसो बढ्न थाल्छ । तल्लो मुस्ताङमा पनि बिहान र बेलुकीपख उक्तिकै चिसो हुन थालेको छ । मुस्ताङमा प्रतिनिधि र प्रदेशसभाका उम्मेदवारहरूले चिसो थेग्दै ,मतदातासँग मत माग्न थालेका हुन् । पार्टीको एजेन्डा, चुनावी घोषणापत्र र जनतासँग विभिन्न योजना लिएर उम्मेदवारसँग मत माग्न घरदैलो गरेका छन् ।

तल्लो मुस्ताङमा आलु र फापर बाली थन्क्याएर खेतबारी खनजोत गर्ने, उवा र जौ र अन्य हिउँदे बाली लगाउन किसानलाई भ्याई÷नभ्याई छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका आधा जसो मतदाता जाडो छल्न बेसी झरिसकेको अवस्था छ ।

खेतीपातीको चटारो, पर्यटनकर्मीलाई पाहुना उम्काउन चटारो र उपल्लो मुस्ताङी जिल्लामा नहुँदा राजनीति दलका उम्मेदवारलाई घरदैलो कार्यक्रम गरी मत माग्न समस्या छ । उसो त कतिपय मुस्ताङीहरुको भोट लिस्ट जिल्लामा भए पनि उनीहरू पोखरा–काठमाडौंमा छरिएर बसेकाले उम्मेदवारलाई मतदाता भेट्टाउन मुस्किल परेको छ ।

गठबन्धनका उम्मेदवार योगेश गौचन थकालीले उपल्लो मुस्ताङमा मतदाता भेट्टाउन मुस्किल परेको जानकारी दिए । लोमान्थाङ बजारका पर्यटन व्यवसायी जिल्लामै रहेपनि ग्रामीण भेकका मतदाता बेसी झरिसकेको बताए ।

एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनले थासाङ, घरपझोङ र वारागुङ मुक्ति क्षेत्रमा खेतीपाती थन्क्याउने र नयाँ बाली लगाउन चटारोले मतदाता भेट्टाउन समस्या परेको उल्लेख गरे ।

‘मतदातालाई फोन गरेका छौँ, उनीहरूले समय दिएका छन्,’ उनले भने, ‘मतदाताले भनेको समयमा हामी पुगेर मत माग्नै पर्ने बाध्यता छ, कतिपय मतदाता जिल्लामै छैनन् । मुस्ताङका ५ स्थानीय तहमा १० हजार ९५७ जना मतदाता छन् । प्रदेश १ मा १६ र प्रदेश २ मा २३ वटा मतदान केन्द्र तोकिएको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया