मुस्ताङको सुरक्षा योजना तयार

सुन्दरकुमार थकाली २०७९ कार्तिक २५ गते ११:०६
जोमसोममा निर्वाचन सुरक्षाका लागि खटिएका म्यादी प्रहरी

जोमसोम ।
मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई स्वच्छ, मर्यादित, निश्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न मुस्ताङमा जिल्ला निर्वाचन एकीकृत सुरक्षा रणनीति योजना तयार भएको छ । जिल्ला सुरक्षा समिति अन्तर्गत मुस्ताङमा निर्वाचन एकीकृत सुरक्षा योजना तयार भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

निर्वाचन एकिकृत सुरक्षा योजनामा जिल्लाका ४ वटै सुरक्षा अंगलाई जिम्मेवारी तोकिएको छ । जस अन्तर्गत निर्वाचनको दिन मतदानको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो तथा बाहिरी घेरामा नेपाली सेनाले निर्वाचनका लागि सुरक्षा प्रदान गर्ने मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले जानकारी दिए ।

मुस्ताङमा निर्वाचन एकीकृत सुरक्षा योजना अन्तर्गत मतदानको बाहिरी घेराको नेपाली सेनाले सुरक्षा प्रदान गर्नेछ भने सेनाले गस्ती र स्ट्राइकिङ गर्नेछ । सुरक्षा योजना अनुसार नेपाल प्रहरीले लिइरहेको कारागार र महत्वपूर्ण प्रतिष्ठानको सुरक्षाका साथै जोमसोम विमानस्थल र कारागारमा नेपाली सेना परिचालन गरिने भएको छ ।

Advertisement

जोमसोम विमानस्थल र कारागारका लागि नेपाली सेनाको कम्युनिटी अप्रेशन बेस (सिओबी) ३ वटा र प्लाटुन अप्रेसन बेस (पिओबी) बेस ३ वटा रहने छन् । उपल्लो मुस्ताङमा पनि लोमान्थाङ स्थित थुर्लङ फाँटमा रहेको सेनाको क्याम्पले मतदान स्थलको बाहिरी घेरामा सुरक्षा प्रदान गर्ने छ ।

नेपाल प्रहरीले मतदान स्थलको पहिलो घेरामा सुरक्षा प्रदान गर्नेछ । नेपाली प्रहरीसँगै म्यादी प्रहरी परिचालन हुने छन् । मुस्ताङका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले मतदानका दिन र त्यसअघि मतदान सामाग्री, कर्मचारी, मतदाता, उम्मेदवार सुरक्षा र जिल्ला निर्वाचन कार्यालय लगायतको सुरक्षा प्रदान गर्ने जानकारी दिए ।

Advertisement

मंसिर ४ गते हुने निर्वाचनका लागि मुस्ताङमा २ सय ११ नेपाल प्रहरी र २ सय ८० जना म्यादी प्रहरी खटाइने तयारी भएको प्रहरी नायब उपरीक्षक पौडेलले बताए ।
मुस्ताङमा प्रहरी र म्यादी प्रहरीलाई जिल्लाका ३९ वटै मतदान केन्द्र र एक अस्थायी मतदान केन्द्रमा परिचालन गरिनेछ ।

प्रहरीको ५ वटै पालिकामा २/२ वटा मोबाइल टिम र जिल्ला प्रहरी कार्यालयमा प्रहरीको २ वटा रिजर्भ टोली तयारी अवस्थामा राखिनेछ । निर्वाचन सुरक्षाका लागि सशस्त्र प्रहरीले मतदान स्थलको दोस्रो घेरामा रहेर निर्वाचन स्थलको सुरक्षा दिनेछ । निर्वाचन सुरक्षाका लागि १ सय ५० सशस्त्र प्रहरी तैनाथ हुने सशस्त्र प्रहरी नायव उपरीक्षक यज्ञमान सावतले जानकारी दिए ।

सशस्त्र प्रहरीले पनि निर्वाचनका शान्ति, सुरक्षा कायम गर्ने न्यूनतम आवश्यकतालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी परिचालन गरिने तयारी भएको सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक सावतको भनाइ छ ।

प्रहरी नायब उपरीक्षकको कमान्डमा जिल्ला निर्वाचन सुरक्षा पोस्ट, प्रहरी निरीक्षकको कमान्डमा स्टाइकिङ टोली, प्रहरी निरीक्षककै कमान्डमा क्विक रेस्पोन्स टिम, दुई वटा मोबाइल टिम, पैदल गस्ती टिम, मुख्य निर्वाचन अधिकृतको कार्यालयमा खटिने टिम र जिल्ला निर्वाचन कार्यालयमा सशस्त्र प्रहरी परिचालन गरिने भएको छ ।

निर्वाचन एकीकृत सुरक्षा योजना अनुसार राष्ट्रिय अनुसन्धानले जिल्ला स्थित सबै मतदान केन्द्र समेट्ने गरी खबर संकलन र विश्लेषण गर्ने जिम्मेवारी तोकिएको छ । मंसिर ४ मा हुने निर्वाचनका लागि ३९ वटै मतदान केन्द्रमा ७७ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतको व्यवस्था गरी कार्यविभाजन गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार ३९ मतदान केन्द्रमा २ सय ९६ जना कर्मचारी र १ सय ५ जना स्वयंसेवक गरी ४ सय १ जनशक्ति खटिने मुख्य निर्वाचन अधिकृत पराजुलीले बताए ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया