जहाँ अहिलेसम्म उम्मेदवार पुगेनन्

जोमसोमदेखि झन्डै ४० किमी पश्चिमतर्फ रहेको साङ्ता गाउँमा ३४ मतदाता छन्

सुन्दरकुमार थकाली २०७९ कार्तिक २९ गते १०:०३
साङ्ताको मतदान केन्द्रको निरीक्षण गर्दै मुस्ताङका सिडिओ सहितको टोली तस्बिरः प्रचण्ड डंगोल

जोमसोम ।
मुस्ताङको सबैभन्दा विकट र दुर्गम बस्ती हो साङ्ता । यो गाउँ मुस्ताङको वारागुङ मुक्तिक्षेत्र ५ मा पर्छ ।साङ्ता गाउँसहित फल्याक र धाकार्जुङ गाउँ वारागुङ मुक्तिक्षेत्र ५ मै पर्छन् । तर एउँटै वडामा जोडिएका साङ्ता गाउँसँग फल्याक र धाकार्जुङ करिब ३० किमी टाढा छन् ।

४० को दशकअघि पत्ता लागेको यो गाउँमा १३ घरधुरीको बसोबास छ । २ ठूला पहाडको बीचको केही समथर पाखोमा साङ्ता गाउँ अवस्थित छ । यहाँ ५०/६० जनाको बसोबास छ भने आगामी चुनावका लागि ३४ मतदाता छन् । सीमित क्षेत्रफलमा कृषि कर्म र पशुपालनमा आश्रित रहेका साङ्तेलीलाई चुनाव आएको/नआएको पत्तै हुँदैन ।

किनकी यो गाउँ मुस्ताङकै गुमनाम बस्ती हो । जोमसोमदेखि झन्डै ४० किमी पश्चिमतर्फ रहेको यो गाउँ डोल्पा र मुस्ताङको सीमावर्ती क्षेत्रमा पर्छ । पशुपालन व्यवसाय गरी जीविकोपार्जन गर्ने स्थानीयको जीवन कष्टकर छ ।

Advertisement

मुस्ताङ डोल्पा सीमानामा पर्ने यो गाउँ हुँदै फाट्टफुट्ट उपल्लो डोल्पाली र केही विदेशी पर्यटक हिड्छन् । उपल्लो डोल्पाका मानिस जोमसोमबाट खाद्यान्न र अरु सामान घोडा, खच्चडमा बोकाएर यही गाउँ हुँदै यात्रा गर्छन् ।

यहाँका गाउँलेले स्थानीय सरकारको समेत उपस्थिति अनुभूत गर्न पाएका छैनन् । संघीयतापछि सरकारले मुस्ताङ डोल्पा सडकमार्ग विस्तार गर्दै गएकाले जेनतेन साङ्ता गाउँसम्म कच्ची सडक पुगेको छ । कच्ची सडकले छोड पनि साङ्ता गाउँको समस्या ज्यूँका त्यूँनै छ ।

Advertisement

गाउँमा ५ कक्षासम्मको स्कुल भए पनि अहिले त्यहाँ विद्यार्थी नहुँदा ३ कक्षासम्म मात्र पढाइ हुन्छ । केही बालबालिकालाई विदेशी संघ, सस्थाले पढाइदिने गरेका छन् भने केही गुम्बा स्कुलमा पढ्दै छन् । कतिपयलाई स्कुल पढाएर बालबालिकालाई शिक्षित बनाउनुपर्छ भन्ने समेत ज्ञान छैन ।

उपल्लो मुस्ताङको उत्तरी कोरला नाकाका सीमावर्ती गाउँमा सडक, विद्युत, सञ्चार, शिक्षा, स्वास्थ्य लगायतको पहुँच विस्तार भइसक्दा साङ्ता गाउँमा न त विद्युत पुगेको छ, न सञ्चारको भरपर्दो व्यवस्था छ ।

गाउँका १३ घरधुरीमध्ये २/३ घरले सिडिएमए टेलिफोन राखेका छन् । विद्युत, इन्टरनेटको सुविधा नहुँदा सूचना, दैनिक समाचार थाहासमेत उनीहरु थाहा पाउँदैनन् । कसैको घरमा पनि टेलिभिजन छैन । गाउँमा स्वास्थ्य चौकी पनि नहुँदा उपचारका लागि टाढै पुग्नुपर्छ ।

फल्याक गाउँबाट कच्ची सडकमार्ग हुँदै साङ्ता पुग्न सकिन्छ । तर, यो सडकमा कार्तिक अगावै हिउँ जम्छ, बाटो बन्द हुन्छ । मालसामान ढुवानी गर्दा जोमसोमबाट ट्याक्टरमा लगिन्छ । संघीयतापछि मुलुकमा गणतन्त्र आयो, लोकतन्त्र आयो, संघीयता आयो तर साङ्ता गाउँको मुहार उस्तै छ ।

साङ्ता गाउँ चुनाव आउँदामात्र पार्टी, नेता र उम्मेदवारले सम्झने गरेका छन् । यहाँका स्थानीय खुलेर आफ्ना माग राख्न सक्तैनन् । यसैले दलका नेताहरुले उनीहरुको भोट पैसासँग साटफेर गर्ने गरेको चर्चा छ ।

चुनावपछि भोट माग्न आउने नेता र उम्मेदवार कहिल्यै गाउँ नफर्किने गरेको स्थानीय ङिमा गुरुङले सुनाए । ‘चुनाव आउँदा बिजुली, टेलिफोन, इन्टरनेट, शौचालय र स्वास्थ्य चौकी स्थापना गर्छु भन्ने उम्मेदवारहरु आउँछन् । चुनावपछि बेपत्ता हुन्छन्,’ उनले भने ।

यस पटक पनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आउन एक हप्तामात्र बाँकी छ । तर, अहिलेसम्म साङ्ता गाउँमा कुनै उम्मेदवार भोट माग्न नआएको स्थानीय ङिमा गुरुङले उल्लेख गरे । ‘अहिलेसम्मा भोट माग्न कोही आएका छैनन्, आउँछन् होला,’ उनले भने, ‘भोट हाल्ने एक दिनअघि मात्र दुई/चार जना आउँछन्, भोट हाल्न फकाउँछन् ।’

साङ्ता गाउँका स्थानीय बर्खायाममासडक छेउको बस्ती र हिउँद यामको जाडोमा नजिकै पारीको घोक भन्ने स्थानमा पुग्छन् । गर्मी बढेपछि बैशाखमा फेरि साबिककै स्थानमा आईपुग्छन् । तर, पछिल्लो समय पशुपालन व्यवसाय नगर्नेहरु हिउँद लागेपछि जोमसोम, फल्याक आउन थालेका छन् ।

साङ्तासँगै एउँटै वडामा परेको फल्याकका स्थानीय अर्जुन गुरुङले पहिला पहिला साङ्ताको पारी बस्ने गरेका स्थानीय १/२ वर्षदेखि जोमसोम र फल्याकमा आइबस्ने गरेको बताउँछन् । ‘म पनि त्यही गाउँको हुँ तर त्यहाँ केही सम्भावना देखिनँ, त्यसैले फल्याक गाउँमा आएर बसोबास गरेको छु,’ उनले सुनाए ।

अहिले गाउँका अधिकांश बासिन्दा जामसोम आसपास झरिसकेका छन् । एक हप्ताअघि मतदान केन्द्र निरीक्षण गर्न पुगेको सिडिओसहितको टोलीले साङ्ता जाने सडकको हिउँ पन्सायो । तर फेरि २/३ स्थानमा हिउँ जमेर सडक अवरुद्ध बनेको छ । ‘उचाईको सडक भएकाले दिनदिनै हिउँ थुप्रिन्छ, त्यहाँ पुगेर मतदान गराउँन पनि समस्या छ,’ उनले भने, ‘चिसो बढेको र चुनावको मितिमा हिमपात भईदियो भने चुनाव गराउनै मुस्किल पर्छ होला ।’

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया