कास्कीमा ६ कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने

प्रमिला कुँवर २०७९ कार्तिक ३० गते १६:०९

पोखरा ।
कास्की कारागारमा रहेका कैदीबन्दीले मंसिर ४ गते हुने निर्वाचनमा कारागारबाटै मतदान गर्न पाउने भएका छन् । नेपालमै पहिलो पटक कैदीबन्दीले प्रतिनिधि सभा सदस्यको समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।

मतदाता नामावलीमा नाम भएका कैदीबन्दीलाई कारागारबाटै मतदान गर्न पाउने व्यवस्था गरिएको जिल्ला कारागार कास्कीका सुचना अधिकृत झंक पौडेलले बताए । विभिन्न मुद्दामा कैद भूक्तान गरिरहेका ८५२ जनामध्ये १ जना महिला र ५जना पुरुष कैदीबन्दीले अस्थायी मतदाता परिचय मार्फत मतदान गर्न पाउने उनले बताए ।

‘हामीलाई ७ जना कैदीबन्दीको मात्र मतदाता नामावलीको नाम प्राप्त भएको थियो, एक जना छुटेर गइसक्नुभयो यहाँबाट ६ जनाले मतदान गर्न पाउनेछन्,’ पौडेलले भने, ‘कैदीबन्दीको संख्या धेरै भएपनि अस्थायी मतदाता नामावली ६ जनाको मात्र प्राप्त भएको छ । मतदात परिचय पत्र बनाउने बेला कति जना कैदीबन्दीलाई थाहै भएन कति जनाले आफैं बनाउन मानेनन् ।’

Advertisement

प्रतिनिधि सभा सदस्यका लागि पहिलो पटक कैदीबन्दीले मतदान गर्न पाउने व्यवस्था भए पनि २०७० सालमा पनि कास्की कारागारका कैदीबन्दीले संविधान सभा सदस्यको निर्वाचनमा मतदान गरेको पौडेलले बताए ।
कैदीबन्दीका लागि कारागारमै अस्थायी मतदान केन्द्र तोकीएको जिल्ला निर्वाचन कार्यालय कास्कीले जानकारी दिएको छ । उनका अनुसार कैदीबन्दीका साथै चुनावमा नखटिने सुरक्षाकर्मीले मतदान गर्न पाउनेछन् । कैदीबन्दी र सुरक्षाकमीले प्रतिनिधि सभा सदस्यको समानुपातिकतर्फ मात्र मतदान गर्न पाउनेछन् । निर्वाचनमा खटिने सुरक्षाकर्मीले भने सम्बन्धित मतदान केन्द्रबाटै मतदान गर्न पाउने कार्यालयले बताएको छ ।

कास्कीमा २ लाख ६४ हजार ४५३ मतदाता छन् । पुरुष मतदाता १ लाख २४ हजार ८३ छन्, महिला मतदाता १ लाख ४० हजार ३६९ छन् र अन्य ४ जना मतदाता रहेका छन् ।

Advertisement

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया