क्होला सोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्छु: श्याम

समाधान संवाददाता २०७९ कार्तिक ३० गते १६:१५

पोखरा ।
आसन्न निर्वाचनमा गण्डकी प्रदेशसभा सदस्यका लागि कास्की क्षेत्र नम्बर ‘ख’ का एमाले उम्मेदवार बेदबहादुर गुरुङ ‘श्याम’ले तमुहरुको ऐतिहासिक स्थल क्होला सोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने बताएका छन् ।

बुधबार घरदैलो कार्यक्रममा बोल्दै गुरुङहरुको आदिम थलोको रुपमा परिचित क्होला सोंथरको संरक्षण र प्रवर्धन गर्ने प्रतिबद्धता व्यक्त गरे । निर्वाचित भएपछी ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक हिसाबले महत्वपूर्ण रहेको क्होला सोंथरलाई विश्व सम्पदा सूची राख्न पहल गर्ने बताए ।

‘क्होला सोंथर हाम्रो पैतृक थलो हो । यसलाई हामीले नै जोगाउनु पर्छ । मलाई जिताउनु भयो भने संसदमा होस् या सरकारमा सम्पूर्ण गुरुङहरुको प्रतिनिधित्व गर्दै यसलाई जोगाउन विशेष पहल गर्ने छु ।’ उनले भने, ‘ऐतिहासिक, धार्मिक र सांस्कृतिक रुपले मात्र हैन, पर्यटकिय दृस्टीकोणबाट पनि निकै महत्वपुर्ण छ । यसलाई हामीले जोगाएर संसारसामु चिनाउन सक्यौं भने यस क्षेत्रमा पर्यटकको ओइरो लाग्छ ।’

Advertisement

उनले १२औं शताब्दीसम्मको इतिहास क्होला सोंथरमा फेला परेको भन्दै क्होलाको बारेमा भएको अलिखित इतिहासहरुको खोजी गर्ने र यसलाई लिपिबद्ध गर्ने प्रतिवद्धता जनाए । उनले आफू मादीगाउँपालिकाको प्रमुखको रुपमा काम गर्दा क्होला सोंथरको प्रवर्धनमा काम गरेको सुनाए । मादी गाउँपालिका वडा नं २ ताङतिङ हुँदै तमुहरुको सभ्यता संस्कृति जोडिएको त्यस स्थलसम्म पुग्ने १० किलोमिटर मोटरबाटो खनेको जनाए ।

उनले संघिय सांसद खगराज अधिकारीको विशेष पहलमा करिब ७० लाखको बजेटमा पहिलो चरणको ट्रयाक खोलेको र अब बाँकी कामपनि सम्पन्न गर्न एमालेलाई नै जिताउनु पर्ने कुरा बताए । उनले क्होला सोंथरसंगै यस क्षेत्रका धार्मिक, सास्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदाहरु, मठमन्दिर, कोइबु धिं, गुम्बा, मस्जिद, गिर्जाघर, कोट, तिर्थस्थल आदिको संरक्षण र प्रवर्धन गर्ने कुरा जनाए । उनले पोखरा १३ मा कुँडहरमा एकीकृत मुस्लिम धार्मिक क्षेत्र परियोजना सम्पन्न गर्ने वाचा समेत गरे ।

Advertisement

अर्को प्रसंगमा उनले आफ्नो निर्वाचन क्षेत्रको सामाजिक विकास,आर्थिक विकास, पूर्वाधार निर्माण, नीति निर्माणमा महत्वपूर्ण काम गर्ने बताए । निर्वाचित भएपछी सबै उमेर समूह, जाति, भूगोल अनि वर्गलाई समेटने योजना आफूसंग भएको सुनाए ।

त्यस्तै उनले देशलाई बिकासको बाटोमा हिडाउन एमालेको बहुमतको सरकार आवश्यक रहेको बताए। उनले आफूले मादीको अध्यक्ष हुँदा नमुना गाउँपालिकाको रुपमा स्थापित गरेको दाबी गरे र अझै थुप्रै काम गर्न बाँकी रहेको बताए । ‘कसले काम गरेको छ रु कसले गरेको छैन रु त्यो जनताले पहिचान गरेर मत हाल्नु पर्छ।’ उनले भने ।

बुधबार उनले पोखरा १३ र १४का विभिन्न स्थानहरुका मतदाता माझ पुगेका छन् । नेकपा एमाले कास्की १ ले निर्वाचन केन्द्रित रहेर उम्मेदवार भेटघाट कार्यक्रमलाई तीव्रता दिइरहेको छ । नेकपा एमालेले कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा तर्फ जिल्ला अध्यक्ष मन बहादुर गुरुङ, प्रदेश ‘क’ तर्फ खगराज अधिकारी र ‘ख’ तर्फ वेदबहादुर गुरुङ श्यामलाई उठाएका छन् ।

तपाईको प्रतिक्रिया