मुस्ताङका १५ मतदान केन्द्र संवेदनशील

सुन्दरकुमार थकाली २०७९ मंसिर १ गते ११:३६

जोमसोम ।
मुस्ताङका ३९ मतदान केन्द्रमध्ये १५ वटालाई संवेदनशील मानिएको छ । जिल्ला सुरक्षा समिति मुस्ताङले तयार गरेको तथ्यांकमा जिल्लाका १५ मतदान केन्द्र संवेदनशील रहेको उल्लेख छ ।

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मुस्ताङका ५ स्थानीय तहमा ३९ मतदान केन्द्र र १ अस्थायी मतदान केन्द्र तोकिएका छन् । मुस्ताङको प्रदेश ‘१’ निर्वाचन क्षेत्रमा १६ र प्रदेश ‘२’मा २३ मतदान केन्द्र छन् ।

विगतमा भएका निर्वाचनको घटना विश्लेषण र भौगोलिक विकटता र मौसम प्रतिकूलताका आधारमा संवेदनशील मतदान केन्द्र पहिचान गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक रविन्द्रनाथ पौडेलले जानकारी दिए ।

Advertisement

जिल्ला सुरक्षा समितिले तयार पारेको मतदान केन्द्रको रिपोर्ट अनुसार मुस्ताङका थासाङ गाउँपालिकाका ८ वटै मतदान केन्द्र संवेदनशील मानिएको छ । थासाङका लेते, कोवाङ, टुकुचे, घाँसा, छयो, ताक्लुङ, झिप्रा देउराली र सौरु मतदान केन्द्रलाई संवेदनशील केन्द्रको रुपमा लिइएको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा समान २ मतदान केन्द्र संवेदनशीलमा परेका छन् ।

मुस्ताङको घरपझोङ गाउँपालिकाको ६ मतदान केन्द्रमध्ये जनहित मावि जोमसोम संवेदनशील र अरु ५ मतदान केन्द्र सामान्यमा राखिएका छन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको जनशान्ति मावि कागबेनी र हिमाली आधारभूत विद्यालय शान्ता संवेदनशील मतदान केन्द्र हुन् ।

Advertisement

चीनसँग सीमाना जोडिएको लोमान्थाङ गाउँपालिकाको राष्ट्रिय आधारभूत विद्यालय लोमान्थाङ र लोमान्थाङ २ सम्जुङको सम्जुङ आधारभूत विद्यालयमा रहेको मतदान केन्द्र संवेदनशील मानिएका छन् ।

मुस्ताङका ५ स्थानीय तहमा १० हजार ९ सय ५७ मतदाता छन् । जसमध्ये प्रदेश ‘१’ मा ३ हजार ५ सय ४१ मतदाता र प्रदेश २ मा ७ हजार ४ सय १६ मतदाता छन् । मुस्ताङमा जिल्लाकै ३९ मतदान केन्द्रमध्ये सबैभन्दा बढी मतदाता रहेको मतदान केन्द्र थासाङ २ को जनआदर्शअमरसिंह मावि मतदान केन्द्र छ । जहाँ ६ सय ४९ मतदाता छन् ।

सबैभन्दा कम मतदाता रहेको मतदान केन्द्र वारागुङ मुक्तिक्षेत्र ३ को समर मतदान केन्द्र हो । जहाँ ३४ जना मतदाता छन् भने सोही पालिकाको वडा ५ को शान्तास्थित हिमाली आधारभूत मतदान केन्द्रमा ३५ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय मुस्ताङका सूचना अधिकारी समीर थापाले जानकारी दिए ।

मुस्ताङका ४ राजनीतिक पार्टी ९ जना उम्मेदवार चुनावी मैदानमा छन् । प्रतिनिधितर्फ ४ र प्रदेश १ र २ मा ५ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन् । मुस्ताङमा नेकपा (एमाले), कांग्रेससहितको सत्ता गठबन्धन, राप्रपा नेपाल र रास्वपाका उम्मेदवारले चुनावमा भाग लिएका छन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया