सम्पादकीयः बढ्न सक्छ बदर मत

समाधान संवाददाता २०७९ मंसिर १ गते ११:५४

गएको स्थानीय तह निर्वाचनमा ठूलो परिणाममा मत बदर भएको देखियो । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारीसँगै निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार नमूना मतदान भइरहेका छन् । मुलुकका विभिन्न पालिकामा भएका नमूना मतदानमा ५ प्रतिशतदेखि २३ प्रतिशतसम्म मत बदर भएको देखिन्छ । नमुना मतदानमा विशेषगरी स्थानीय जनप्रतिनिधि, समाजका अगुवा, स्वास्थ्य स्वयंसेविका, मतदानमा खट्ने सुरक्षाकर्मी तथा कर्मचारीले मतदान गरेका थिए ।

कतिपय स्थानमा भने यात्रु र सर्वसाधारण स्थानीय मतदातालाई समेत समावेश गरिएको थियो । यसरी नमूना मतदान गर्दा सर्वसाधारणको सहभागिता कम रहेको तथा कर्मचारी, सुरक्षाकर्मी, समाजका अगुवा, जनप्रतिनिधि एवं सचेत तहका मतदाताको सहभागिता बढिरहेको बुथमा ५ प्रतिशतसम्म मद बदर भएको पाइएको छ ।

सर्वसाधारण मतदाताको बाहुल्यता रहेको बुथमा भने २३ प्रतिशतसम्म मत बदर भएको पाइएको छ । अहिले चुनावी प्रचार उत्तरार्धमा पुगेको छ । दलहरुले दल र उम्मेदवारलाई मत मागे पनि मत हाल्ने तरिका सिकाउन उति ध्यान दिएको देखिँदैन । अहिलेको चुनाव विगतमा मतदान गरेका मतदातालाई पनि यसपटक नौलो छ । अघिल्लो चुनावमा तीन वटा मतपत्र थिए । यस पटक चारवटा मतपत्र हुने छन् ।

Advertisement

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चयनका लागि छुट्टाछुट्टै दुईवटा मतपत्र भएजस्तै दल चयनका लागि पनि प्रतिनिधिसभा तथा प्रदेशसभाका छुट्टाछुट्टै दुईवटा मतपत्र छन् । विगतमा दलका लागि एउटा मात्रै मतपत्र थियो । यस पटक चारवटा मतपत्रमा मतदान गर्नुपर्छ भन्ने सुनेको कारण सर्वसाधारण मतदाताले एउटै मतपत्रमा चार ठाउँ मतदान गरेको नमूना मतदानको क्रममा फेला परेका छन् ।

बितेको स्थानीय तह निर्वाचनमा एउटै मतपत्रमा सातवटा चिह्नमा मतदान गरिएको थियो । कतिपय मतदाताले स्थानीय चुनावको जस्तै ठानेर पनि एउटै मतपत्रमा धेरैवटा चिह्नमा मतदान गरेका हुन सक्छन् ।

Advertisement

मतदान गरिसकेपछि मतपत्र बाकसमा खसाल्ने क्रममा कुनै चिह्न लाग्न वा च्यातिन गएका कारण त्यस्तो मतपत्रलाई आयोगले बदर मत गणना गरेको छ । नमुना मतदानमा ल्याप्चे भेटिएको छ । आफूले चाहेको चुनाव चिह्नमा स्वस्तिक छाप लगाउनुपर्नेमा कतिपय मतदाताले नमूना मतदानको क्रममा औंठा लगाएको पाइएको छ । मतदानमा ल्याप्चे पुरानो समस्या हो । निर्वाचन आयोगले यसपालि मतदाता शिक्षाका लागि केही प्रयास गरेको छ ।

सञ्चार माध्यममा यससम्बन्धी सामग्री प्रकाशन/प्रशारण भएका छन् । महिला स्वास्थ्य स्वयंसेविकाहरुले पनि मतदाता शिक्षा दिएका छन् । मत धेरै संख्यामा बदर हुँदा जनअपेक्षा अनुसारको परिणाम आउँदैन । आवधिक निर्वाचनबाट जनप्रतिनिधि चुन्ने प्रणालीका लागि ठूलो संख्याको बदर मत चिन्ताको विषय हो । यसलाई घटाउन निर्वाचन आयोग, दलहरु र नागरिकहरुको संयुक्त प्रयास जरुरी छ ।

तपाईको प्रतिक्रिया