मुस्ताङमा निर्वाचन सामग्रीसहित मतदानस्थलमा कर्मचारी

सुन्दरकुमार थकाली २०७९ मंसिर २ गते ११:२६
मुस्ताङका मतदान केन्द्रमा खटिने कर्मचारी मतपत्रसहित मतदान सामग्री लिएर कार्यस्थल प्रस्थान गर्दै । तस्बिर: सुन्दरकुमार थकाली ।

जोमसोम ।
मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङका ३९ मतदान केन्द्र र एक अस्थायी मतदान केन्द्रमा खटिने कर्मचारीहरुलाई सम्बन्धित मतदान केन्द्रमा खटाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहीबार मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित कर्मचारीहरुलाई मतदान सामाग्रीसहित सम्वन्धित कार्यस्थलमा खटाइएको हो ।

मुस्ताङमा स्थानीय तह, संघ र प्रदेश कार्यालयमा कार्यरत कर्मचारीहरुलाई मतदान अधिकृत र सहायक मतदान अधिकृतको जिम्मेवारी दिइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले लाहाछाप लगाई शिलबन्दी गरिएका प्रतिनिधि र प्रदेशसभा प्रत्यक्ष र समानुपातिक मतपत्रसहित मतदान सामग्री रुजु गरी सम्बन्धित मतदान केन्द्रमा खटिने मतदान अधिकृतहरुको जिम्मा लगाइएको छ ।

मुस्ताङका ५ स्थानीय तहका ४० मतदान केन्द्रमा खटिने ४०१ जना कर्मचारी सम्बन्धित मतदान केन्द्रमा प्रस्थान गरेका छन्

Advertisement

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र र मतदान सामग्री बुझेर सम्बन्धित मतदान अधिकृत र सहायक मतदान अधिकृत लगायत कर्मचारी कार्यस्थलतर्फ खटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत मुकुन्द आचार्यले जानकारी दिए ।

यसअघि मुस्ताङका एक अस्थायी मतदान केन्द्रसहित ४० मतदान केन्द्रका मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई निर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्ला निर्वाचन कार्यालय आश्वयक तालिम प्रदान गरेको थियो ।

Advertisement

योसँगै मुस्ताङका ५ स्थानीय तहका ४० मतदान केन्द्रमा खटिने ४०१ जना कर्मचारी सम्बन्धित मतदान केन्द्रमा प्रस्थान गरेका छन् । उनीहरुलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली स्कर्टिङ गर्दै मतदान केन्द्रसम्म पुर्‍याउने व्यवस्था मिलाइएको थियो ।

निर्वाचन आयोगले मंसिर १ गतेसम्म सम्वन्धित जिल्लाको मतदान केन्द्र र मतदान स्थलसम्म पुग्न निर्देशन भए बमोजिम मुस्ताङमा आयोगले तोकेको अन्तिमदिन सम्बन्धित मतदान केन्द्रमा कर्मचारीलाई खटाइएको हो । खटाइएका कर्मचारी क्षेत्रगत रुपमा बस, जिप र केहीले सम्बन्धित कार्यालयको सवारी प्रयोग गरेर मतदान केन्द्रमा प्रस्थान गरेका हुन् ।

कार्यस्थल खटिएका कर्मचारीहरुले शुक्रबारदेखि मंसिर ४ गते निर्वाचनका लागि आवश्यक तयारी गर्ने जनाइएको छ । कार्यस्थल खटिएका कर्मचारीले मतदान स्थलको पूर्वाधार निर्माण र निर्वाचन अघि सम्बन्धित मतदान केन्द्रका राजनीतिक दलका प्रतिनिधि, मुखिया र सरोकारवाला निकायहरुसँग निर्वाचन सम्बन्धित सर्वदलीय र सर्वपक्षीय बैठक राख्ने छन् ।

उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्डको ४ वटा मतदान केन्द्रमा खटिने कर्मचारीहरु मतपत्र र मतदान सामग्री बुझेर मतदान केन्द्रमा प्रस्थान गर्न लागेको मतदान अधिकृत सुबोध शाहले जानकारी दिए । उनले संघीय र प्रदेशको निर्वाचन कार्यक्रमको जिम्मेवारी लिन पाउँदा उत्साहित भएको बताए ।

मंसिर ४ गतेको निर्वाचन स्वच्छ,निश्पक्ष,पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला निर्वाचन सुरक्षा समितिले मौन अवधिदेखि मतगणना परिणाम सम्पन्न नभएसम्म मदिरा बिक्री वितरण र हातहतियार लिएर हिड्न नपाईने निर्णय गरेको छ । सीमानाको सुरक्षा र राति ८ बजेदेखि बिहान ६ बजेसम्म मानिसको हिडडुल सवारी चलाउन नपाईने उल्लेख गरिएको छ ।

मतदान अधिकृत: सुबोध शाह
मुस्ताङमा एक अस्थायी सहित ४० मतदान केन्द्रमा ८० जना मतदान अधिकृत र सहायक मतदान अधिकृत,सहायक कर्मचारी १७६ जना र सहयोगी कर्मचारी ४० जना खटिँदै छन् । यस्तै सम्बन्धित मतदान केन्द्रले नियुक्ती गर्ने १०५ जना स्वयंसेवक कर्मचारी पनि निर्वाचनामा परिचालन हुँदैछन् ।

निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न ४ वटै सुरक्षा निकायलाई प्रयोग गर्दै एकीकृत सुरक्षा रणनीति तर्जुमा गरिएको छ । जसअन्तर्गत मुस्ताङमा जोमसोम विमानस्थल र कारागारमा सेनाको कम्युनिटी बेस (सिओबी) ३ वटा र प्लाटुन अप्रेसन (पिओबी) बेस ४ वटा बेस रहने छ ।

निर्वाचनको सुरक्षा अवस्था हेरेर सेना परिचालन हुनेछन् । यस्तै निर्वाचनका लागि नेपाल २११ जना प्रहरी र २८० जना म्यादी प्रहरी खटिने छन् भने १५० जना भन्दा बढी सशस्त्र प्रहरी परिचालन हुनेछन् ।

एक प्रतिनिधि र दुई प्रदेश सभा निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला मुस्ताङका ३९ मतदान केन्द्र मध्ये १५ वटा मतदान केन्द्र संवेदनशील रहेका छन् । बाँकी २४ मतदान केन्द्र सामान्य छन् । विगतको निर्वाचनको समिक्षा, भौगोलिक अवस्था र मौसम प्रतिकुलतालाई मध्यनजर गरी मतदान केन्द्रको अवस्था निर्धारण गरिएको हो ।

मुस्ताङको ५ स्थानीय तह मध्ये थासाङ गाउँपालिकाका ८ वटै मतदान केन्द्र संवेदनशील रहेका छन् । यस्तै, लोमान्थाङ,वारागुङ मुक्तिक्षेत्र र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा समान २÷२ वटा मतदान केन्द्र संवेदनशील छन् । घरपझोङ गापामा भने जनहित मावि मतदान केन्द्र मात्र संवेदनशील मतदान केन्द्रमा परेको छ ।

मुस्ताङमा सबै भन्दा कम मतदाता रहेको मतदान केन्द्र वारागुङ मुक्तिक्षेत्र–३ समर र सबैभन्दा बढी थासाङ–२ कोवाङ मतदान केन्द्र हुन् । समरमा ३४ मतदाता छन् भने कोवाङमा ६४९ जना मतदाता छन् ।

प्रदेश १ मुस्ताङमा ३५४१ र प्रदेश २ मुस्ताङमा ७४१६ जना मतदाता छन् । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि मुस्ताङमा ४ राजनीतिक पार्टीका ९ जना उम्मेदवारले चुनावी प्रतिस्पर्धा गर्दैछन् । प्रतिनिधितर्फ ४ र प्रदेश १ र २ मा ५ जना उम्मेदवार छन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया