पञ्चासे विकासका लागि पहल गर्छुः आचार्य

समाधान संवाददाता २०७९ मंसिर ८ गते १०:४२

पोखरा ।
पञ्चासे क्षेत्रको विकासका लागि आफू प्रतिबद्ध रहेको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताएका छन् । बालाचतुर्दशीको अवसरमा कास्की, स्याङ्जा र पर्वतको संगमस्थल पञ्चासेमा आयोजित मेलामा उनले यस्तो बताएका हुन् ।

मेयर आचार्यले पञ्चासे क्षेत्र विकास समितिलाई माछापुच्छ्रे विकास संघले प्रदान गरेको नगद २५ हजार राशिको संरक्षण पुरस्कारसमेत हस्तान्तरण गरे । पञ्चासे क्षेत्र धार्मिक पर्यटन र जैविक विविधताको प्रचुर सम्भावना बोकेको क्षेत्र भएको बताउँदै प्रमुख आचार्यले यसको संरक्षण, विकास र प्रवद्र्धनमा पोखरा महानगरपालिका प्रतिबद्ध रहेको उल्लेख गरे ।

यसका अलवा सो क्षेत्र तीन जिल्लाको संगमस्थल भएका कारण तीनै जिल्लाका स्थानीय सरकारहरूको एकीकृत प्रयासमा आफूहरू यसको विकासका लागि तत्पर रहेको उनको भनाइ छ ।

Advertisement

‘पञ्चासे क्षेत्र धार्मिक पर्यटनका हिसाबले महत्त्वपूर्ण त छ नै, यसबाहेक यहाँ पाइने सयौँ प्रकारका जडीबुटीहरू, पोखराको लाइफ लाइनका रूपमा रहेको फेवातालको प्रमुख स्रोतका रूपमा समेत यो रहेको छ,’ प्रमुख आचार्यले भने, ‘यसको विकासका लागि पोखरा महानगरपालिकाको एकल प्रयासले मात्र सम्भव हुँदैन, यसमा पञ्चासेसँग जोडिएका पर्वत र स्याङ्जाले समेत उत्तिकै जिम्मेवार भएर लाग्नु पर्छ ।’

पञ्चासे क्षेत्रलाई आर्युर्वेदको विश्वविद्यालयका रूपमा विकास गर्न सकिने उनले सुनाए । पञ्चासे क्षेत्रका विषयमा सरोकार राख्ने सबै संघ, संस्थाको छाता संस्था बनाएरअघि जानुपर्नेमा समेत उनले जोड दिए ।

Advertisement

प्रमुख आचार्यले बालाचतुर्दशीकै अवसरमा पोखरा २३ भन्ज्याङमा पञ्चासे आदर्श क्लबद्वारा आयोजित पञ्चासे संरक्षण सरसफाइ तथा ११ औँ पञ्चासे सिधाने बालाचर्तुदशी मेला २०७९ पनि उद्घाटन गरे ।

महानगरको खेलकुद विकासमा आवश्यक पूर्वाधार निर्माण गर्दै युवालाई खेलतर्फ आकर्षणसहित सक्षम खेलाडी उत्पादनमा उनले जोड दिए । खेलकुदको माध्यमबाट राष्ट्रिय एकताको भावना जागृत गर्दै विद्यालय स्तरबाटै खेलकुदको विकास आवश्यक रहेको उनको भनाइ छ ।

पञ्चासे जाने क्रममा दमदमे, सिधाने, कुद्वीडाँडा, भन्ज्याङ, पन्चदासे लगायतका स्थानमा स्थानीयसँग भेटघाट तथा अन्तरक्रियासमेत गरिएको छ । सो क्रममा स्थानीयले बाटोघाटो, पानी, बत्ती लगायतका आधारभूत आवश्यकताको सहज पहुँच वृद्धिको माग गरेका छन् । महानगरभित्र पर्ने ग्रामीण क्षेत्रको विकासका लागि आफू प्रयत्नशील रहेको प्रमुख आचार्यले सुनाए ।

तपाईको प्रतिक्रिया