चिन्तलाई ब्रेज मेश्रों अवार्ड

समाधान संवाददाता २०७९ मंसिर ८ गते १२:१०

पोखरा ।
घान्द्रुक समाज हङकङले अन्नपूर्ण संरक्षणकर्मी चिन्तबहादुर गुरुङलाई छैठौंं ब्रेज मेश्रों अवार्ड प्रदान गरेको छ । घान्द्रुक (कोंड) क्होइबों धिं निर्माण सहयोगार्थ रकम हस्तातरणको अवसरमा अन्नपूर्ण संरक्षणकर्मी गुरुङलाई नगद २६ हजार ५ सयसहित छैठौं ब्रेज मेश्रों अवार्डबाट सम्मान गरेको हो ।

७२ वर्षीय गुरुङले अन्नपूर्ण संरक्षण क्षेत्रमा ४२ वर्ष गरेको सेवाको मूल्यांकन गर्दै छैठौं ब्रेज मेश्रों अवार्डबाट सम्मान गरेको घान्द्रुक समाज हङकङका निवर्तमान अध्यक्ष चन्द्र गुरुङले बताए । यसअघि राजबहादुर गुरुङ, कृष्णप्रसाद पौडेल, भक्तबहादुर गुरुङ, धनमाया गुरुङ र ललित गुरुङलाई सम्मान अर्पण गरिसकिएको छ ।

कार्यक्रममा अन्नपूर्ण गाउँपालिका १० का वडाध्यक्ष गौतम गुरुङले सरकारले विकासको लागि छुट्याएको बजेट दुरुपयोग नगर्ने बताए । ‘सामाजिक विकासबाट सरकारबाट विनियोजित रकम दुरुपयोग भएको सुन्न सकिन्छ’ उनले भने, ‘ घान्द्रुकको विकासका लागि सरकार तथा विभिन्न संस्थाहरुले गरेको आर्थिक सहयोग दुरुपयोग गर्ने छैनौं ।

Advertisement

विकासका लागि आएको बजेटको सदुपयोग गर्न उपभोक्ता समिति गठनको तयारीमा छौं ।’ सामाजिक विकासको लागि विभिन्न क्षेत्रमा आवद्ध रहेका समुदायले आर्थिक र भौतिक रुपमा सहयोग गरेको भन्दै धन्यवाद प्रकट गरेका थिए ।

सोही अवसरमा घान्द्रकमा निर्माण हुन लागेको (कोंड) क्होइबों धिं निर्माण घान्द्रुक समाज हङकङले आर्थिक सहयोग गरेको छ । समाजले घान्द्रुक ( कोंड) क्होइबों धिं निर्माणका आर्थिक संयोजक रुप गुरुङलाई १० लाख ६० हजार हस्तान्तरण गरेको हो ।

Advertisement

संयोजक गुरुङले सामाजिक सेवामा आर्थिक, नैतिक र भौतिक रुपमा गरिने सहयोगले समाजको माया बढेर जाने बताए । ‘विभिन्न देश, विदेशमा घान्द्रकका समुदाय बसोबास गर्दै आएका छन्,’ उनले भने, ‘सामाजिक उत्तरदायित्व वहन गर्न समाजमा सहयोग अनिवार्य छ ।’

घान्द्रकमा स्थापना गर्न लागेको घान्द्रुक (कोंड) क्होइबों धिं निर्माणमा गर्न ढिलाइ भएको भन्दै गुरुङ फागुनमा शिलन्यास गरेर निरन्तर कामअघि बढाउने उनले बताए । ‘चाँडै नै बनाउने तयारी हो तर नेपालमात्र नभएर विश्व नै कोभिड महामारीले काम गर्न सकिएन, अब फागुनबाट निर्माणको तयारी गछौं,’ उनले भने ।

घान्द्रुक समाज हङकङका निवर्तमान अध्यक्ष चन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष प्रेम गुरुङले सहयोग आर्थिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा घान्द्रुक समाज हङकङका निवर्तमान अध्यक्ष चन्द्र गुरुङ, बौद्ध अर्घौँ सदन रामघाटका अध्यक्ष भुवन गुरुङ, तमु प्हेलु संघका अध्यक्ष हितकाजी गुरुङ, क्होइवों धि निर्माण समितिका अध्यक्ष प्रेम गुरुङ र लामा अमृत फाउण्डेशन घान्द्रकका संस्थापक अमृत गुरुङले बोलेका थिए ।

तपाईको प्रतिक्रिया