गण्डकीमा त्रिशंकु सरकारको सम्भावना

सञ्जय रानाभाट २०७९ मंसिर ९ गते १०:२१

सञ्जय रानाभाट, पोखरा ।
४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतगणना जारी छ । बिहीबार बेलुकासम्म गण्डकी प्रदेशमा प्रतिनिधिसभातर्फ १४ र प्रदेशसभातर्फ ३१ निर्वाचन क्षेत्रको छिनोफानो भइसकेको छ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा ३६ जना प्रत्यक्ष र २४ जना समानुपातिक निर्वाचनबाट चुनिन्छन् ।
तर, मतगणनाको अन्तिमतर्फ आइपुग्दा गण्डकीमा कुनै पनि दलले एकल सरकार बनाउने सम्भावना टरेको देखिन्छ । बहुमतको सरकार बनाउन गण्डकीमा ३१ सांसद आवश्यक पर्छ ।

प्रदेशमा प्रत्यक्षतर्फ कांग्रेस र समानुपातिकामा एमालेअघि छन् । माओवादीको संलग्नताबिना दुवैले सरकार बनाउन नसक्ने अंकगणित देखिँदै छ

गण्डकीमा प्रत्यक्षतर्फ कांग्रेस पहिलो र समानुपातिकमा दोस्रो हुँदा पनि स्पष्ट बहुमत ल्याएर सरकार बनाउन सक्ने सम्भावना देखिँदैन । नेकपा एमाले पनि प्रत्यक्षमा दोस्रो र समानुपातिकमा पहिलो भइरहँदा बहुमत ल्याए एकल सरकार बनाउन सक्ने अंकगणित छैन ।

Advertisement

प्रत्यक्षतर्फ नेपाली कांग्रेसले १५, नेकपा एमालेले १०, माओवादी केन्द्रले ४, नेपाल समाजवादी पार्टीले १ र मनाङ २ बाट स्वतन्त्र सांसद गरी ३१ जनाको नतिजा आइसकेको छ । यो समाचार तयार पर्दासम्म गण्डकीमा समानुपातिकतर्फ नेकपा एमाले पहिलो र नेपाली कांग्रेस दोस्रो स्थानमा छ । समानुपातिकतर्फ पनि माओवादी केन्द्र तेस्रो स्थानमा छ । संघमा बन्ने राजनीतिक समीकरणले प्रदेशको राजनीतिक यात्राको टुंगो पक्कै लाग्नेछ ।

संघ र प्रदेशमा अब कस्तो सरकार बन्ला ? यो प्रश्नमा बहस जारी छ । मतगणना जारी भएका ४ निर्वाचन क्षेत्र छन् । स्याङ्जा २ मा अझै गणना सुरु हुन सकेको छैन । कास्की १ (१) र कास्की ३ (२)मा मतगणना जारी छ । कास्की १ (१)मा खगराज अधिकारी र कास्की ३ (२) एमालेकै राजीव पहारीले अग्रता लिइरहेका छन् ।

Advertisement

गठबन्धनका दलले निर्वाचनपछि पनि यही गठबन्धन चल्ने घोषणा गरे पनि कांग्रेसेको मत माओवादी र एकीकृत समाजवादीका उम्मेदवारले नपाउँदा गठबन्धन टुट्न सक्ने आकलनसमेत भइरहेको छ । केन्द्रमा शीर्ष गठबन्धन सरकारको खाका नबनाउँदा गण्डकीमा पनि कस्तो सरकार बन्छ, यकीन छैन ।

कुनै पनि पार्टीको स्पष्ट बहुमत नआउँदा केन्द्रीय राजनीतिले गण्डकी प्रदेश सरकारमा पक्कै भूमिका खेल्नेछ । यहाँ एमालेबाट पूर्व गृहमन्त्री खगराज अधिकारी र नेपाली कांग्रेसबाट सुरेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने चर्चा छ । यद्यापि एमालेका अधिकारी विजयी भइसकेका छैनन् । उनी माओवादीका दीपक कोइरालासँग झिनो मतले अगाडि छन् । कांग्रेसका पाण्डे गोरखा २ (२ं) बाट प्रदेश विजयी भइसकेका छन् । यहाँ सरकार बनाउन एमाले, कांग्रेस दुवैले माओवादीको साथ लिनुपर्ने वाध्यता देखिन्छ ।

सम्भावना १
संघ सरकारमा हालकै गठबन्धन कायम भए सुरेन्द्र पाण्डे नेतृत्वको सरकार बन्ने पक्का छ । कांग्रेसलाई सरकार बनाउन माओवादीकै साथ आवश्यक पर्ने देखिन्छ । केन्द्रमा एमाले–माओवादीको गठबन्धन बने पनि एमालेलाई माओवादी लगायत स्वतन्त्र र राप्रपाको साथ देखिन्छ । त्यसको निर्णायक माओवादी नै देखिन्छ ।

तर, हालको सत्ता गठबन्धनमा सरकारको नेतृत्व गर्ने पालो माओवादीको भएकाले प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बन्ने बताउँछन् । ‘अब पहिलो सरकारको नेतृत्व गर्ने पालो माओवादीको हो । केन्द्र सरकार माओवादीको नेतृत्वमा बने प्रदेशमा हामी कांग्रेस नेतृत्वमा सरकारमा बनाउँछौं,’ माओवादीका एक नेताले भने ।

तर, यो निर्वाचनमा माओवादीले कम सिट ल्याएकाले केन्द्रमा पनि कांग्रेस नेतृत्वको सरकार बन्ने कांग्रेस नेताहरु नै बताउँछन् । ‘सरकारमा सहभागी हुँदा सिट संख्याले पनि ठूलो अर्थ राख्छ । यो गतिको मत परिणाम हेर्ने हो भने कांग्रेसको प्रदेशमा २० देखि २५ सिट आउँछ । माओवादीलाई राम्रो मन्त्रालय दिएर सरकार कांग्रेसकै बन्छ,’ एक कांग्रेस नेताले भने ।

सम्भावना २
निर्वाचन परिणामले एमाले माओवादी मिलेर सरकार बनाउने सम्भावनासमेत देखाउँछ । त्यो सम्भावना गण्डकीमा पनि देखिन्छ । गठबन्धनमा कांग्रेसको भोट माओवादी र एकीकृत समाजवादीले नपाएपछि असन्तुष्टि छ । ओली र देउवाले प्रचण्डलाई सहकार्य गरेर जाने आग्रह गरिसकेका छन् । केन्द्रमा संसद्को अंक गणितलाई प्रभावित बनाउन विभिन्न निकायले भूमिका खेल्ने पनि माओवादीलाई बाहिरै राखी साना दल मिलाएर पनि सरकार बन्ने हुन सक्छ ।

एमाले गण्डकीका एक पदाधिकारीले अब नयाँ समीकरण बन्ने र एमालेकै नेतृत्वमा सरकार बन्ने दाबी गरे । ‘गठबन्धनमा माओवादी लगायतलाई कांग्रेसको मत गएन । यसले खटपट सुरु भएको छ । अब एमालेसँग मिलेर नयाँ समीकरणसँगै प्रदेश सरकारको एमालेको बन्छ,’ ती नेताले भने ।

राजनीतिक विश्लेषक कपिलमणि दाहाल निर्वाचन परिणाम नआएसम्म सरकार निर्माणमा कस्तो खालको समीकरण बन्छ भनेर अनुमान गर्नु हतार हुने बताउँछन् । ‘अन्तिमसम्म निर्वाचनको परिणाम कस्तो हुन्छ ? कति भोट कुन दलले पाउँछन् । कति भोट गठबन्धनमा ट्रान्सफर हुन्छ ? यसले असर गर्छ । एउटा पक्षले अर्कोलाई बेइमान गर्‍यो भने अहिलेको गठबन्धनकै निरन्तरता हुन्छ भन्ने ग्यारेन्टी हुन्न ।’

दाहालले परिस्थिति अनुसार जस्तोसुकै गठबन्धन बन्न सक्ने सम्भावना औंल्याए । गठबन्धनको खाका र सम्भावना राजनीतिक दलले प्राप्त गर्ने सिटले पनि निर्धारण गर्ने उनी बताउँछन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया