आफ्नै सामथ्र्य सिद्ध गर्न सफल

समाधान संवाददाता २०७९ मंसिर ९ गते १०:२९

जमुना वर्षा शर्मा, पोखरा ।
नेकपा एमालेका नेतृ विद्या भट्टराई दोस्रोपल्ट कास्की २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छन् । भट्टराईका श्रीमान् तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परेर निधनपश्चात कास्कीको उपनिर्वाचनमा पार्टीले उनलाई उम्मेदवार बनाएको थियो ।

त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापकबाट राजीनामा दिएर निर्वाचनको मैदानमा आएकी भट्टराईले नेपाली कांग्रेसका खेमराज पौडेललाई ८ हजार ४ सय ३ मतले पराजित गरेकी थिइन् । उनको राजनीतिक पृष्ठभूमि नबुझेका कतिपयले आँसुको राजनीति गरेर सफल भएको भन्ने आरोप पनि लगाएका थिए । अहिले विद्याले आफ्नो समथ्र्य सिद्ध गर्दै सानदार जित निकालेकी छन् ।

शोकलाई शक्तिमा बदलेर आफ्नो राजनीतिक यात्रामा उनी पुनः उदाइन् । अहिले पनि उनका अगाडि झनै ठूलो चुनौती थियो । एकातिर राजनीतिमा महिलाको गर्विलो उपस्थितिका लागि अझै पनि समाज उदार हुन सकेको छैन भने अर्कोतर्फ सक्ता गठबन्धनको बलियो घेरा भित्रको एक्लो लडाइँ लड्नु थियो । योसँगै दलप्रति मतदाताको निरासा देखिँदा र वैकल्पिक शक्तिको रुपमा उदाउँदै गरेका नयाँ दल र नयाँ अनुहारको प्रतिको एउटा आर्कषणलाई पनि छिचोलेर मन जितेर मत तान्नु थियो ।

Advertisement

उनी भित्रको आत्मविश्वास र क्षमताले तमाम अवरोधलाई हटाएर उनी उदाउन सफल भइन् । भट्टराई १६ हजार ९ सय ९८ मतसहित निर्वाचित भएकी हुन् । उनका निकतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेललाई ४ हजार ५ सय ३ मतान्तरले पराजित गरिन् ।

राजनीतिमा उग्रता र गालीगलौजभन्दा टाढा रहेर सभ्य र शान्त तवरले राजनीति गर्न रुचाउने उनको शालिनताले नै विपक्षीको समेत मन र मत जितेको पाइन्छ । सामाजिक विभेद र आर्थिक असमानताका कारण महिला राजनीतिमा प्रतिस्पर्धी बन्ने सवालमा देखिएका चुनौतीलाई चिर्दै दोस्रो पल्टको उनको जितले राजनीतिमा आउन चाहने आम महिलालाई प्रेरणादायी बनेको छ ।

Advertisement

बौद्धिक, तार्किक र समाजलाई सुक्ष्म तरिकाले बुझ्न सक्ने क्षमताका कारण नेपाली राजनीतिमा पछिल्लो समय सशक्त महिला नेतृको रुपमा भट्टराईले आफूलाई उभ्याउन सफल बनेकी हुन् । समाजका विभिन्न आयामलाई बुझन सक्ने क्षमता भएका कारण उनी सामाजिक रुपान्तरणका लागि विवकपूर्ण चेतसहितको नेतृत्व निर्माणमा विश्वास गर्छिन् ।

काठमाडौ ७ चावहिलमा जन्मेकी भट्टराईले किशोरावस्थाबाटै परिवर्तनको पक्षमा आफूलाई उभ्याएकी हुन् । भट्टराई विगतका अधुरा योजनालाई पूरा गर्न र आगामी विकासका लागि समाजवाद उन्मुख समाज निर्माणमा नयाँ संकल्प र दृष्टिकोणप्रति प्रतिबद्ध भट्टराई जनप्रतिनिधिका रूपमा जनजीवनको सवाल उठान गर्ने महिला नेतृको रुपमा समेत चिनिन्छिन् ।

राष्ट्रिय स्वाधीनता, कस्केली जनताले देखेको विकासका मोडेललाई पूरा गर्ने प्रतिबद्धता उनको छ । भट्टराईले अबको ५ वर्षमा यसअघि सांसद हुँदा अघि सारेका विकासका योजना जुन कोरोना संक्रमण र राजनीतिक अस्थिरता लगायतका कारणले समयमै पूरा हुन सकेका थिएनन्, त्यसलाई प्राथमिकता दिने सोचमा छिन् उनी ।

आफ्नो निर्वाचन क्षेत्रका प्रमुख समस्या सडक पूर्वाधार, भूक्षय, बजारीकरण, युवालाई स्वरोजगार र महिलालाई उद्यमशीलता र गुणस्तरीय सार्वजनिक स्वास्थ्य र शिक्षाको पहुँच विस्तार, लगायत जनताको जीवनसँग जोडेर पोखराको प्राकृतिक सम्पन्नतालाई रक्षा गर्न प्रतिवद्ध रहेको जनाउने भट्टराईले एकीकृत सहरी विकासको मान्यता अनुरुप महानगरीय विकास मोडेललाई अबलम्बन गर्ने सोच राखेकी छन् ।

भट्टराईले समन्यायिक विकासको आधारमा लैंगिक सहभागिता र समावेशी मान्यतालाई स्थापित गर्नका लागि विभेदरहित समाज निर्माणको पक्षमा संसद र संसदीय समितिमा प्रस्तुत गरेका विचार र खेलेको भूमिका निकै महत्वपूर्ण मानिन्छन् । विद्यालय जीवनमा ७ कक्षा पढ्ने समयबाट विद्यालयको सरसफाइ र गुणस्तरीय पढाइको सवाललाई अनेरास्ववियुको नेतृत्वमा सञ्चालित कार्यक्रममा सहभागी हुँदै राजनीतिक यात्रा सुरु गरेकी भट्टराई वक्ृत्वकला, हाजिरीजवाफ र सांस्कृतिक कार्यक्रममा सहभागी हुँदै अनेरास्ववियुको केन्द्रीय कमिटीको सचिव बनिन् । उनी महिला, बुद्धिजीवी हुँदै पार्टीको केन्द्रीय विभागमा रहेरसमेत सशक्त भूमिका निर्वाह गरेकी छन् ।

उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र मानवशास्त्रमा स्नातकोत्तर र समाजशास्त्रमा एमफिल अध्ययन गरेकी छन् । लैंगिक अधिकार, सुरक्षित मातृत्व, यौन तथा प्रजनन अधिकार, सामाजिक विकास, समाज रुपान्तरण, अपांगता भएका व्यक्तिहरुको लोकतान्त्रिक व्यवस्थामा मुल प्रवाहीकरण जस्ता बिषयमा अनुसन्धान गर्दै स्रोत व्यक्तिको रुपमा समेत सक्रीय भट्टराई नेकपा एमालेकी केन्द्रीय सदस्यसमेत हुन् ।
कस्केली जनताको आशा र भरोसालाई टुट्न नदिई समन्यायिक विकासका लागि अबको ५ वर्ष आफू जनताको सेवक भएर काम गर्ने उनको प्रतीज्ञा छ ।

तपाईको प्रतिक्रिया